बाढीका कारण कैलालीका १२ सय ७० परिवार विस्थापित

टीकापुर कैलाली ।  कैलालीमा बाढीका कारण १२ सय ७० परिवार विस्थापित भएका छन् । स्थानीय तहले दिएको जनकारी अनुसार दुई दिन परेको वर्षापछि आएको बाढीले उनीहरू विस्थापित भएका हुन् । 

बाढीबाट सबै भन्दा बढी भजनी नगरपालिका प्रभावित भएको छ । भजनी नगरपालिकामा २ हजार ३६७ परिवार प्रभावित हुँदा ८९९ परिवार विस्थापित भएका छन् । उनीहरुलाई हुलाकी सडक र उच्च घरहरूमा राखिएको छ । उनीहरुलाई पानी तथा सुख्खा खाना चिउरा, चाउचाउ, बिस्कुट पानी वितरण गरिएको भजनी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले जानकारी दिनुभयो ।

टीकापुर नगरपालिकामा ३१६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा २२६ र ७ का ९० गरी ३१६ घर डुबानमा पर्दा २३० परिवार विस्थापित भएका छन् । उनीहरुलाई उच्च घर, उच्च सडक तथा आफन्तकोमा बस्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । 

जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा बाढीले असर गरेको छ । त्यहाँ ११५ घरपरिवार विस्थापित भई उच्च घरमा बसिरहेका र उनीहरुलाई तत्कालका लागि पालिकाले सुख्खा खानाको व्यवस्था गरेको गाउँपालिकाका विपद् फोकल पर्सन नेत्र प्रसाद जैशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : ०५ बजे