सुनको मूल्यमा नयाँ कीर्तिमान

पाकिस्तानको संसद विघटन, अन्तरिम प्रधानमन्त्री छान्न ३ दिनको समय

एजेन्सी । पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले संसद विघटनको घोषणा गरेका छन् ।

राष्ट्रपति अल्वीले निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै बुधबार मध्यरातबाट लागू हुनेगरी संसद विघटन गरेका हुन् ।

यसैबीच, कार्यवाहक प्रधानमन्त्रीको नाम टुंगो लगाउन प्रधानमन्त्री शहबाज शरिफ र राष्ट्रियसभाका विपक्षी नेतासँग तीन दिनको समय दिइएको छ । ३ दिनभित्र नाममा सहमति हुन नसकेमा अन्तरिम प्रधानमन्त्रीका लागि नाम टुंगो लगाउने जिम्मा सभामुखलाई हुने पाकिस्तानी समाचारदाताले बताएको छ ।

तोकिएको अवधिभित्र निर्णय गर्न नसकेमा उम्मेदवारहरूको नाम पाकिस्तानको निर्वाचन आयोगमा पठाइन्छ । अन्तिम टुंगो भने आयोगले नै गर्नेछ । संसद् विघटनको ९० दिनसम्म अन्तरिम सरकारले चुनावी प्रशासन सम्हाल्नेछन् ।

संसद्मा बोल्दै शरिफले इमरान खान नेतृत्वको सरकारको १६ महिने कार्यकाल लापरबाही र असफलता रहेको बताएका थिए । उनले अघिल्लो सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सम्झौता भङ्ग गरेर देशको प्रतिष्ठामै असर पुर्‍याएको आरोप लगाए । अन्तरिम सरकार गठनका विषयमा भने उनले विपक्षी दलका नेता राजा रियाजसँग छलफल गर्ने जनाएका छन् ।

भ्रष्टाचार अभियोगमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचन आयोगले पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको भोलिपल्टै प्रधानमन्त्री शरिफले संसद् विघटनको कदम चालेका थिए ।

गत अप्रिलमा सरकारमाथि अविश्वासको प्रस्ताव पारित भएपछि इमरान खान नेतृत्वको सरकार ढलेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ५४ बजे