विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशका १३ जिल्लाका ७२ सय ७३ जनामा डेंगीको सक्रमण

धनकुटा । कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिन दिनै बढ्दैँ गएको छ । डेंगी संक्रमण प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिएको छ ।

डेंगीबाट हालसम्म सुनसरीका नौ जनाको मृत्यु भएको र सोलुखुम्बुमा जिल्लामा भने हालसम्म संक्रमण देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । कोशी प्रदेशमा बुधबारसम्ममा ७ हजार २ सय ७३ जनामा डेंगी संक्रमण देखिएको छ । कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा संक्रमण बढी मात्रामा  देखिएको छ भने सोलुखुम्बुमा हालसम्म सक्रमण देखिएको छैन ।

बुधबारसम्म सुनसरीमा ४ हजार ८ सय ७४, मोरङमा १ हजार १ सय ७१, झापामा ५ सय ६४, उदयपुरमा १ सय ९२ र धनकुटामा १ सय ३४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै भोजपुरमा ९८, संखुवासभामा ९७, तेह्रथममा ६७, इलाममा ३८, पाँचथरमा १६, ताप्लेजुङमा १२, ओखलढुंगामा ६ र खोटाङमा ४ जनामा संक्रमण देखिएको बस्नेतले बताउनुभयो । 

डेंगी संक्रमणबाट हालसम्म कोशी प्रदेशमा ९ जनाको मृत्यु भएको र ती सबै सुनसरीका रहेको निर्देशनालयले जनाएको छ । डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो । बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न कुनै कसर बाँकी नराख्न निर्देशन जारी गरेको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  २ : १३ बजे