बाढी–पहिरोले देशभरका ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । 

आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।

तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्युठानको गर्जेनी खण्ड  अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । 

तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्र्याक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । 

धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्ण रूपमा अवरुद्ध  छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ ।

बाढी–पहिराका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन् । 

डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड छन् ।  

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ८ : ३२ बजे