धनुषामा बाढीले बगाउँदा एक किशोरको मृत्यु

धनुषा । धनुषामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। मंगलबार बसही खोला तर्ने क्रममा मिथिला नगरपालिका-१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको हो।

स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी अस्पताल लैजाने क्रममा उनकाे मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

घर नजिकै रहेको बसही खोला तर्ने क्रममा अचानक आएको बाढीले बगाउँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएकाे छ।

त्यस्तै धनुषाकाे कमला खोलामा श्रीमान् श्रीमती बेपत्ता भएका छन्। गणेशमान चारनाथ नगरपालिका -७ का ३५ वर्षीय साजन परियार र उनको श्रीमती ३० वर्षीय माया परिवार बेपत्ता भएका हुन्। प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ। 

कमला खोलामा पानीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई सचेत गराइएकाे जनाएकाे छ।  

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : १६ बजे