तीन प्रदेशमा वर्षाको सम्भावना

यी सडकहरु आज अवरूद्ध छन्

काठमाडौं-सोमबार रातिदेखि निरन्तर वर्षाका कारण १२ भन्दा बढी जिल्ला जोड्ने सडक अवरूद्ध भएका छन्।

नेपाल प्रहरीले जानकारी दिएअनुसार भीमदत्त, पासाङ ल्हामु, बिपी राजमार्गलगायत सडक अवरूद्ध भएका छन्। केही एकतर्फी सञ्चालनमा रहेका छन्।

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ मकवानपुर, बकैया गाउँपालिका-११ म अवरूद्ध भएको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल–बर्दिबास जोड्ने बिपी राजमार्ग अवरूद्ध भएको छ।

बिपी राजमार्गअन्तर्गत नै रोशी गाउँपालिका-११ कालढुंगामा पनि सडक अवरूद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।यस्तै नुवाकोटको ककनी गाउँपालिका-४ निगालमो पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरूद्ध भएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका-३ बैसरीमा पहिरो खस्दा बेनी जोमसोम सडकखण्ड पनि अवरूद्ध छ।

डडेललधुराको आलिताल गाउँपालिका-८ सुनखोलामा पहिरो झर्दा बतुडर–जोगबुढा भित्री सडकखण्ड पनि अवरूद्ध भएको छ।

कैलाली गोदावरी नगरपालिका ४, बूढीतोला र चुरे गाउँपालिका-५ गोपालेमा सडक भत्किँदा भीमदत्त राजमार्ग अवरूद्ध छ।

प्युठानको माण्डबी गाउँपालिका १ गर्जेनीमा भालुबाङ सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ।

पाल्पाको तिनाउ गाउँपालिका-३ ड्याम साइटमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग एकतर्फी बन्न पुगेको प्रहरीको भनाइ छ।

बागलुङ नगरपालिका-१० गलवाको पहिरोको कारण कालीगण्डकी करिडोर अवरूद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरूद्ध थियो।

यो सडक अहिले एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ।

‘आज बिहानैदेखि पहिरोको कारण अवरूद्ध मुग्लिन–नारायणगढ सडक खण्डमा रोकिएका सवारीसाधनको अत्यधिक चापका कारण केही समय पहिरो पन्छाउन रोकी अवरूद्ध सडक एकतर्फी खुलाइएको छ। केही समयपछि पुनः बाँकी पहिरो पन्छाइ सडक दुईतर्फी सञ्चालनमा ल्याउने छौं,’ सडक डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : ५१ बजे