उपत्यका जलमग्न : बाढी सहर पसेको होइन, सहर खोला पसेको

काठमाडौं । सोमबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न नदीमा बाढी आएको छ ।

बागमती तथा विष्णुमती जलाधार क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विष्णुमती र बल्खु खोला, मनोहरालगायतमा जल सतह खतराको तहमा पुगेको भन्दै सूचना केन्द्रले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारी वर्षाका कारण गौरीघाट, गुहेश्वरी, शान्तिनगर, कपन, सामाखुसी, अनामनगर, शंखमूल, बल्खुलगायतका क्षेत्र डुबानमा परेका छन् । नदीनजिक रहेका बस्तीमा अहिले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

भीषण वर्षापछि काठमाडौं आउने सबै राजमार्ग ठप्प भएका छन् । ठाउँठाउँमा पहिरो जाँदा सवारीसाधन नचलेको नेपाल प्रहरीले जनाएको छ । अहिले काठमाडौं नदीखोला छेउमा बनेका घरमा बाढी पसेको छ ।

सडकसम्म बाढीको पानी पुगेको छ । खोला छेउछाउका घरमा बाढी पसेपछि अहिले स्थानीय आफ्नो सामान सुरक्षित गर्न लागिपरेका छन् । यो वर्षको मनसुन सुरु भएपछि पहिलोपटक बाढी आएको हो । बाढीको पानी घरघरमा पसेको देखिए पनि सहर खोलामा पसेको धेरैको टिप्पणी छ ।

सामाजिक सञ्जालमा पनि नदीखोला अतिक्रमण गरेकाले आफ्नो कब्जा भएको जग्गा खोज्न खोला सहरतिर छिरेको भन्दै अतिक्रमणकारीलाई कटाक्ष गर्न थालिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ५८ बजे