श्रीमतीको हत्या गरी श्रीमान् फरार

इलाम । इलामको सूर्योदयमा श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरिबस्ने पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङ आफ्नै कान्छी श्रीमतीको हत्या गरी फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी प्रकाश जवेगुका अनुसार गएराती करिव ५० वर्षका पूर्णबहादुरले करिव ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडी श्रीमान श्रीमती बीच सामान्य झगडा भएको थियो । झगडापछि राती पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडीपट्टिको भागमा धारिलो हतियार बामफोकको प्रयोग गरि हत्या गरेको बताइएको छ ।

राती करिव ९ बजे सो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका ४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरि बस्दै आएका थिए । घटनापछि श्रीमान फरार रहेको प्रहरीको भनाई छ । घटना के ? कसरी ? भयो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हत्या गरिएकी कान्छी श्रीमती भनिए पछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ । कानुनी प्रक्रिया अनुसार शबको पोष्टमाटका लागि प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ३५ बजे