तीन प्रदेशमा वर्षाको सम्भावना

उपमहानगरले खनेको खाल्डाका कारण नेपालगन्जमा दिनहुँ दुर्घटना

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले स्ट्रीट लाइट(सडक बत्ती) जडानका लागि चारलेन सडक अन्तर्गत सुर्खेत रोडमा खनेका खाल्डा खुल्डीका कारण दिनहुँजसो दुर्घटना बढिरहेका छन् । दुर्घटनाकै सिलसिला अन्तर्गत मङ्गलबार बिहान नेपालगञ्जको धम्बोझीमा विद्यार्थी सवार इलेक्ट्रिक रिक्सा दुर्घटनामा परेको छ ।

आइडियल पब्लिक स्कुल नेपालगञ्जका विद्यार्थी बोकेको भे १ ह १४३ नम्बरको इलेक्ट्रिक रिक्सालाई धम्बोझीबाट कोहलपुर तर्फजाँदै गरेको भे १ च ९९० नम्बरको पिकअप भ्यानले ठक्कर दिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार धम्बोझीस्थित होटल ग्यालेक्सी दरबार अगाडीबाट आज बिहान साढे ९ बजेतिर सडक पार गरेर इलेक्ट्रिक रिक्सा धम्बोझी चोकतर्फ जाँदै थियो, तर उपमहानगरपालिकाले बिजुलीको केवल राख्न खनेको खाल्डोमा परेर रिक्सा अनियन्त्रित भयो, त्यसपछि रिक्सालाई पछाडिबाट आइरहेको पिकअप भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा परी आइडियल पब्लिक स्कुलका ४ जना बालबालिका घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ ।

उनीहरू चारै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार गरिएको छ । दुर्घटनापछि प्रहरीले इलेक्ट्रिक रिक्सा र पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सडक बत्ती जडान गर्ने भन्दै ठाउँ–ठाउँमा खनिएका गहिरा खाल्डालाई ब्यवस्थितरुपले नपुरिँदा दिनहुँजसो दुर्घटना भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : १० बजे