रास्वपाका ४ सांसदसँग जरिवाना नलिन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले चुनाव खर्च सार्वजनिक नगरेको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना प्रतिनिधिसभा सदस्यलाई जरिवाना नगर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

आयोगले चुनाव खर्च सार्वजनिक गरेको जानकारी नगराएको भन्दै कतिपय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

आयोगले जरिवाना तोकेपछि रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगले स्पष्टीकरणको मौकासमेत नदिई जरिवाना गरेको भन्दै उच्च अदालतमा रिट दिएका थिए ।

सोमबार कामु मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि उच्च अदालतले यही मुद्दामा आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो । सोमबार दुबै पक्षसँगको छलफलपछि उच्च अदालतले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : ३६ बजे