तीन प्रदेशमा वर्षाको सम्भावना

के शेर्पाहरूले समेत के-टूमा पाकिस्तानी आरोहीको ज्यान जोगाउने प्रयत्न नगरेका हुन्?

​​​​​​​के-टूमा एक जना पाकिस्तानी पर्वतारोहण पथप्रदर्शकको मृत्युका कारण हिमाल आरोहण ठूलो कि मानवता भन्ने बहस पुनः सतहमा आएको छ। साथै, हिमालमा उद्धारका नायक कहलिएका शेर्पाहरूले समेत यस पटक किन ती पाकिस्तानीको ज्यान जोगाउन प्रयत्न गरेनन् भन्ने प्रश्न पनि उठेको छ।

सर्वोच्च शिखर सगरमाथाभन्दा २३७.८६ मिटर होचो पाकिस्तानको माउन्ट के-टू आरोहणका हिसाबले अन्य हिमालभन्दा कठिन मानिन्छ। शिखर पुग्नुअघि निकै जोखिमपूर्ण र जटिल हिमखण्डका रूपमा रहेको बोटल नेक, आरोहणका क्रममा निरन्तर खसिरहने चट्टान, तीव्र वेगमा चल्ने हावा र ठाडो उकालोका कारण यो हिमालको शिखर चुम्ने आरोहीको संख्या सगरमाथामा पुगेकाहरूको भन्दा कम छ।

सन् २०२१ को जनवरीअघिसम्म कुनै पनि आरोही हिउँदमा काराकोरम हिमशृङ्खलामा पर्ने संसारको दोस्रो अग्लो के-टू (८,६११ मिटर) हिमालको चुचुरोमा पुग्न सकेका थिएनन्। संसारभर रहेका आठ हजार मिटर उचाइका १४ वटा हिमालमध्ये के-टू हिउँदमा आरोहण नभएको अन्तिम हिमाल थियो। 

तर, सन् २०२१ मा निर्मल पुर्जा र मिङ्मा ग्याल्जे शेर्पाको नेतृत्वमा गएको १० जना नेपाली आरोहीको समूहले हिउँदमा पनि सफलतापूर्वक के-टूको आरोहण गर्‍यो। त्यसयता यस हिमालप्रति संसारभरका आरोही थप आकर्षित भइरहेका छन्। व्यावसायिक आरोहीको संख्या पनि बढिरहेको छ।

के-टूमा यस वर्ष आरोहणका क्रममा केही विश्व कीर्तिमान पनि बने। ६ महीना सात दिन लगाएर संसारका अग्ला १४ वटा हिमाल आरोहण गरेका निर्मल पुर्जाको विश्व रेकर्ड यही वर्ष के-टू आरोहणका क्रममा तोडियो। 

नेपालका तेन्जिन शेर्पा लामा र नर्वेकी क्रिस्टिन हरिलाले १४ हिमालको आरोहण ९२ दिनमा सके। क्रिस्टिनलाई आरोहण गराउन सहयात्री बनेर हिंडेका संखुवासभाको मकालु गाउँपालिकाका तेन्जिन पनि आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सबैभन्दा छोटो अवधिमा आरोहण गर्ने नेपाली बने।

सबैभन्दा कम उमेरमा के-टू आरोहण गरेर अर्को कीर्तिमान निमा रेन्जी शेर्पाले बनाए। उनले १७ वर्षको उमेरमा संसारका अग्ला आठ वटा हिमाल आरोहण गरिसकेका छन्। उनी सबैभन्दा कम उमेरमा संसारका अग्ला १४ वटा हिमाल आरोहण गर्ने आरोही बन्ने मिसनमा छन्।

१९ वर्षको उमेरमा विना अक्सिजन सगरमाथाको आरोहण गरेका टासी लाक्पा शेर्पाका छोरा निमाको चर्चा संसारभर फैलिइरहेको छ।

अघिल्लो साता यस्तै केही अविस्मरणीय र सफल कीर्तिमान कायम भएको के-टूमा एक जना पाकिस्तानी पर्वतारोहण पथप्रदर्शकको मृत्युका कारण भने नयाँ विवाद सिर्जना भएको छ। सामाजिक सञ्जालमा राखिएको भिडिओमा पाकिस्तानी पथप्रदर्शक मुहम्मद हसन के-टू हिमालको सबैभन्दा जोखिमयुक्त मानिएको ग्रेट सेराकमुनिको बोटल नेकमा ढलिरहेका देखिन्छन्। उनको शव छेवैबाट दर्जनौं आरोही शिखरतर्फ बढिरहेको भिडिओमा देखिन्छ। 

कालो र पहेंलो रङ मिश्रित डाउन ज्याकेट लगाएका हसन बाटोमुनि पल्टिरहेका छन्। उनको शवको केही भाग हिउँले छोपेको छ। विभिन्न सञ्चारमाध्यमले ‘डेथ जोन’ का रूपमा लिइने आठ हजार मिटरको उचाइमा ‘एक जना नागरिक जीवन-मरणको दोसाँधमा तीन घण्टासम्म उद्धारको पर्खाइमा छटपटाइरहेको भए पनि शिखर चुम्न हिंडेका आरोहीबाट उद्धारको पहल नभएको’ उल्लेख गरेका छन्। 

उनको मृत्युसँगै हिमाल आरोहण ठूलो कि मानवता भन्ने विषयको बहसलाई पुनः सतहमा ल्याइदिएको छ।

को हुन् मुहम्मद?
पाकिस्तानी आरोहण कम्पनी लेला पीकमा आबद्ध मुहम्मद पाकिस्तानी हाई अल्टिच्यूड गाइड हुन्। घरमा आमा बिरामी भएकाले उनको उपचारका लागि मुहम्मद जोखिमपूर्ण मानिने हिमालको काममा गएको विवरण सामाजिक सञ्जालमा राखिएको छ।

कम्पनीको तर्फबाट डोरी टाँग्ने काममा सघाउन उनी २७ जुलाई बिहान बोटल नेक पुगेका थिए। शिखरतर्फ गइरहेको वेला उनी बोटल नेकबाट चिप्लिएर बाटोमुनिको भीरमा पुगेको बताइएको छ। 

गरीब पारिवारिक पृष्ठभूमिका मुहम्मदले हिमाल आरोहण गराए बापत प्राप्त हुने पारिश्रमिक बिरामी आमाको उपचारमा खर्च गर्न चाहेका थिए। विडम्बना, उनी आफैं शिखरभन्दा केही सय मिटर तल बिते।

मृतक आरोही मुहम्मद हसन। तस्वीर: एड्भेन्चर अल्पाइन गाइड्स

नेपालीले गरेका दुर्लभ उद्धार
गेल्जी शेर्पाले यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका क्रममा आठ हजार ४०० मिटरको उचाइमा जीवन-मरणको दोसाँधमा रहेका एक मलेशियन आरोहीको उद्धार गरेका थिए। ती आरोहीलाई बचाउन गेल्जीले आफूसँग गएका चिनियाँ आरोहीको आरोहण नै रद्द गरेका थिए।

अधिकांश आरोहीलाई कृत्रिम अक्सिजन लिएर पनि हिंड्न धौ-धौ हुने स्थानमा ज्यानको परवाह नगरी उद्धार गर्ने गेल्जी शेर्पा र ङिमा टासी शेर्पाले ती मलेशियन आरोहीलाई पिठ्युँमा बोकेर चौथो शिविरसम्म झारेका थिए। आफूले लगाइरहेको अक्सिजन दिएर उनीहरूले तेस्रो शिविरसम्म पुर्‍याई ‘लङ लाइन रेस्क्यू’ गरेर गम्भीर अवस्थामा रहेका ती आरोहीलाई आधारशिविरमा ल्याएर बचाइएको थियो।

सगरमाथामा शेर्पाहरूले गरेको ‘दुर्लभ उद्धार’ को संसारभर प्रशंसा भएको थियो।

सन् २०१७ मा २१ वर्षीय साङ्गे शेर्पाले आफ्नो ज्यान जोखिममा राखेर पाकिस्तानी सेनामा कार्यरत कर्णेल अब्दुल जब्बर भट्टीलाई बचाएका थिए। जसरी भए पनि सगरमाथा आरोहण गर्ने कर्णेल अब्दुलको जिद्दीका कारण साङ्गेका हात हिउँले खाएका थिए। 

अन्ततः आङछिरिङ लामा लगायत पथप्रदर्शकले आठ हजार ६०० मिटरको उचाइबाट उद्धार गरेर दुवैलाई बचाएका थिए।

तर, हिमालमा उद्धारका नायक कहलिएका शेर्पाहरूले समेत यस पटक किन एक पाकिस्तानीको ज्यान जोगाउने प्रयत्न गरेनन् भन्ने प्रश्न पनि उठेको छ। पाकिस्तानको गिलिट बलुचिस्तानका मुख्यसचिव मुहिद्दीन वानीले गत साता के-टूमा भएको पाकिस्तानी नागरिकको मृत्युबारे सत्यतथ्य बुझ्न पाकिस्तानी सेनाका तर्फबाट हिमालमा खटिएका सम्पर्क अधिकृत र सम्बन्धित कम्पनीका प्रतिनिधि र अन्य अधिकारी सम्मिलित एक छानबिन समिति गठन गरेका छन्।

शेर्पाहरूले बेवास्ता गरेकै हुन् त?
के-टूमा यस वर्ष एलिट एक्सपेड, सेभेन समिट ट्रेक, ८ के एक्सपिडिसन्स, इम्याजिन नेपाल लगायत कम्पनीले विभिन्न आरोहण समूहको व्यवस्थापन गरेका थिए। तिनमा नेपाली आरोहीको बाहुल्य थियो।

हिमाल आरोहण र उद्धारमा संसारभर कहलिएका शेर्पाहरू भए पनि ती पाकिस्तानी पथप्रदर्शकको उद्धार किन भएन?

नेपाली आरोहण कम्पनीका अनुसार मुहम्मदको उद्धारको विषयमा आएको कुराभन्दा हिमालको परिस्थिति फरक थियो। उनीहरूले बताए अनुसार मुहम्मदले लगाएका लुगा नराम्रो थियो। हिमालको चिसो सहन उनको कपडा पर्याप्त थिएन। 

उनको अवस्था नाजुक भइसकेको देखेर ‘रोप फिक्सिङ’ मा खटिएका शेर्पाहरूले उनलाई फर्कन पनि भनेका थिए। तर, उनले मानेनन्।

“लुगा, कपडा निकै नराम्रो थियो। रोप फिक्सिङ टीम र धेरै जनाले फर्किनु भन्दा पनि नमानेको हो। माथि डोरी टाँग्दाटाँग्दै पिछा गरेर आएर पछि स्वाट्टै स्पटभन्दा निकै तल लडेको हो,” ८ केका लाक्पा शेर्पाले भने, “तलबाट शेर्पाहरूले नै तानेको हो। तान्दाखेरि नै मृत्यु भइसकेको थियो। अक्सिजनको मास्क भाँचिएको थियो। ढुङ्गामा ठोकियो कि के भयो, मृत्यु भइसकेको थियो। अनि माथि तानेर ‘ह्याङ्ग’ गरेर राखेको हो। जीवित थिएनन्। अहिले मान्छेहरूले बचाएन, मानवता, के के भन्ने कुरा गरिरहेका छन्। त्यहाँ त गाह्रो थियो।”

उनका अनुसार अलिकति सास भइन्जेल गम्भीर अवस्थामा रहेका मुहम्मदलाई शेर्पाहरूले नै तलबाट उठाएर माथि ल्याएका हुन्। तर, केही बेरमै उनको मृत्यु भयो र उनको कम्पनीले नै समयमा पहल नगरेपछि शव ल्याउन पनि नसकिएको हो।

“त्यहाँ ‘क्रिटिकल’ अवस्था थियो। आरोहीले त्यत्रो पैसा तिरेको हुन्छ। उनीहरूको पनि आरोहण पूरा हुन पर्‍यो। अरूको अनुमति विना शव तल ल्याउने भन्ने पनि हुँदैन नि। जुन कम्पनी हो उसले हेर्नुपर्ने हो नि,” लाक्पाले भने।

साभार : हिमाल खबर डटकम 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  २ : ४५ बजे