दम्पतीबीचको विवादमा तानातान हुँदा नाबालकको मृत्यु

काठमाडौँ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविनालाई प्रहरीले पक्राउ गरेको हो ।

यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस र तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १२ : ४५ बजे