आजको मुख्य प्रश्न: देश कसरी राम्रो बनाउने ?

देश समृद्ध र जनता सुखी बनाउन नेतृत्वमा राजनीतिक विचारसहितको नीति, विरोधमा विवेक, जनतामा आशा र राज्यप्रति विश्वास बलियो बनाउँदै राज्यले पनि जनअपेक्षाहरूको उपेक्षा नहुने वातावरण बनाउनुपर्छ । फेरि जनतामा पनि खुसी बेचेर सुख किन्ने प्रवृत्ति अनि पैसामा स्वाभिमान बेच्ने चरित्रको अन्त्य हुनुपर्छ । यसका साथै सामाजिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक र धार्मिक नेतृत्वहरूमा पनि देश राम्रो बनाउने अभिलाषा र प्रतिबद्धता हुनै पर्छ । अहिले समाज र राजनीतिमा देखिएको बढ्दो स्वछन्दता र अराजकताको अन्त्य गर्ने सामाजिक र राजनीतिक मनोविज्ञान पनि बन्नुपर्छ । यति बेला हामीमा देखिएको बढ्दो स्वछन्दता र अराजकताको कारणहरू थाहा पाउनुपर्छ ।

हाम्रा अभ्यास र अनुभवहरूले भन्छ, समाज र राजनीतिमा देखिएको बढ्दो स्वछन्दता र अराजकताका कारणहरू धेरै छन्। तर केही मुख्य कारणहरू यस प्रकारका छन् :

  • खराब शिक्षा तथा सामाजिक व्यवस्था: “शिक्षाले प्रत्येक नागरिकलाई विगत वर्तमानको आधार हो भने वर्तमान भविष्यको पूर्वाधार हो भनेर बुझाउन सक्यो भने जीवन सरल तरिकाबाट सफल र प्रेरणादायी बनाउन सक्छ।” यसले स्वतः समाजमा राम्रो गतिविधि गर्ने वातावरण बन्छ ।
  • माओवादीको हिंसात्मक गतिविधिहरूले विकास गरेको जबरजस्तीको जनमनोविज्ञान: नेकपा माओवादीले १० वर्ष चलाएको हत्याहिंसा, ध्वंस र जबरजस्तीको राजनीतिले नयाँ पुस्तामा आफ्नो माग पूरा गर्न जबरजस्ती गर्नुपर्छ भन्ने मनोविज्ञान विकास हुँदा सामाजिक मनोविज्ञान पनि जबरजस्तीमा रमाउने वातावरण बन्यो अनि स्वछन्दता र अराजकता बढ्यो ।
  • राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तनले बढाएको जनअपेक्षा सम्बोधन गर्ने शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्था विकास नहुनु: २०६२/२०६३ को जनआन्दोलनपछि राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तन अनुकूल हुने गरी शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्था विकास गर्ने बाटोमा हाम्रो ध्यान नै जान दिइएन वा गएन ।
  • शिक्षा तथा सामाजिक व्यवस्थामा बढ्दो पश्चिमाकरणः औपनिवेशिक मनस्थितिबाट निर्देशित शिक्षा प्रणालीले हामीलाई स्वाभिमानी बन्नभन्दा गुलाम बन्न अभिप्रेरित गरिरह्यो र गरिरहेको छ । त्यसैले त हामी देशलाई सराप्दै पहिचान त्याग्दै बिदेसिन र उतैको नागरिक बन्न रमाइरहेका छौँ ।
  • शासकीय स्वरूप अनुसारको राज्य सञ्चालन प्रभावकारी नबन्नु: शासकीय स्वरूपमा परिवर्तन भएपछि राज्यले दिने सेवा सुविधा एकातिर पर्याप्त भएन भने अर्कातिर भएका सेवा सुविधाहरू गुणात्मक पनि भएनन् । फेरि पुरानो पद्धति र दृष्टिकोणबाट निर्देशित शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक क्षेत्रले नयाँ पद्धति र परिस्थितिलाई स्विकारेर काम गर्ने तत्परता नै देखाएन ।
  • माझण्डहरूमा आएको वैचारिक विचलनले जनतामा निराशा बढ्नु:  माझण्डहरूमा आएको वैचारिक विचलन र त्यो विचलनमाथि दक्षिणपन्थीहरूको चलखेललाई तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले समयमै ख्याल गरेर प्रतिवाद नगर्दा एकातिर नेकपा हुँदै नेकपा एमालेमा विभाजन गराइयो भने अर्कातिर राष्ट्रिय स्वार्थ कमजोर बनाउन परमादेशको जगमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर कम्फर्टेबल सरकार बनाएर सरकार चलाइयो । अहिले त्यसको निरन्तरता प्रचण्डबाट हुँदै छ ।
  • नैतिक पुँजीहीन नेतृत्वले आफूलाई स्थापित गर्ने वातावरण बन्नु: नैतिक पुँजीहीन नेतृत्व अराजकता र स्वछन्दताको जड हो । विचार शून्य राजनीति र नेतृत्वले निराशालाई आन्दोलनमा परिणत गर्न त सक्छ तर त्यसलाई आशामा परिणत गर्न सक्दैन किनभने शून्यमा कुनै पनि काम हुँदैन। राजनीतिमा स्पष्ट दृष्टिकोण, नीतिमा स्पष्टता अनि नेतृत्वमा विचार, नीति, नियत, चरित्र र नैतिकता पनि असल हुनुपर्छ ।

राजनीतिक, सामाजिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक र धार्मिक नेतृत्वहरूले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न र वितृष्णालाई हटाउन राजनीतिक, सामाजिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक र धार्मिक क्षेत्रमा देखिएको विकृति र विसङ्गति अन्त्य गर्न सक्षम हुनुपर्छ । यसका साथै राज्यले लिएका सबै नीतिगत त्रुटिहरू सच्याउन तयार हुनुपर्छ । राज्य व्यवस्थापक कम अभिभावक बढी बन्न सक्नुपर्छ । राजनीतिमा नेतृत्व विचार र नीतिका आधारमा स्थापित हुने वातावरण बनाउनुपर्छ । जनताले पनि बा आमा, घरपरिवार, समाज र देश छोड्ने प्रवृत्ति त्याग्न मानसिक रूपमा तयार र सक्षम भइरहनुपर्छ ।

यस सन्दर्भमा आफ्ना कमजोरीहरूलाई स्विकार्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेल भन्छन्, “सबै चिज हामीले सम्हाल्न सकेको भए ३२ सिटले मुलुकको राजनीतिक नेतृत्व गर्ने स्थिति आउँदैनथ्यो । अथवा नयाँ शक्तिहरू उदय पनि हुने थिएन । कतै न कतै हामी चुकेका छौँ भन्ने त्यसले बताउँछ ।” राजनीतिक नेतृत्वको यो स्वीकारोक्तिले भोलिका दिनमा वैचारिक राजनीति सुध्रिएर अघि बढ्नेछ भन्ने सङ्केत गरेको छ ।

अहिले देखिएको विचारहीन राजनीतिक गतिविधि अनि चरित्रहीन र नैतिकहीन राजनीतिक नेतृत्वलाई विश्वास गर्दै अघि लगाएर न लोकतान्त्रिक गणतन्त्र जनमुखी बनाउन सकिन्छ न त जनअपेक्षाहरूको सम्बोधन गर्दै देशका समस्याहरूको दिगो समाधान गर्न नै सकिन्छ । तर जनतामा यो चेतना र विवेक विकास हुन सकेको छैन। । जसले गर्दा नेपालको राजनीतिमा बुर्जुवा दलाल दक्षिणपन्थी अवसरवादीहरूको चलखेलसँगै भ्रमपूर्ण सस्तो लोकप्रियतावादी र  वंशवादीहरूको पनि मनोबल बढेको छ । यो खालको परिवेशलाई धर्मान्तरणका गतिविधि गर्नेहरूले अवसर ठानेका छन्। । त्यसैले त एउटा पक्ष ‘वाल्किङ विथ दि पोरु भन्दै धर्मान्तरणका गतिविधि प्रभावकारी बनाउन प्रतिबद्ध देखिएका छन् भने अर्को पक्ष’ लिटेरेट दि पोर ईन मदरटङु भन्दै बाईबल पढाउने बलियो आधार तयार गर्दै छन्। तर हामी भने तिनका नीति र नियत नै नबुझी जानेर नजानेर धर्मान्तरणका गतिविधि बढाउन सहयोगी भइरहेका छौँ । 

नेपालको पछिल्लो राजनीतिमा एकातिर कम्फर्टेबल सत्ता गठबन्धन राष्ट्रिय स्वार्थ विपरीत क्रियाशील भइरहेको छ भने अर्कातिर भ्रमपूर्ण सस्तो लोकप्रियतावादीहरू जनतालाई भ्रमित बनाउन र भावनात्मक रूपमा भड्काउन सफल देखिएका छन्। । यसबाट हामीले बुझ्नुपर्छ, कम्फर्टेबलवादीहरू सत्तामा बसेर त भ्रमपूर्ण सस्तो लोकप्रियतावादीहरू सञ्चार, सञ्जाल, सडक र सदनबाट राष्ट्र र राष्ट्रियता कमजोर बनाउने गतिविधि गर्न सघाइरहेका छन् । यो यथार्थ जनतालाई बुझाउन नसक्दा जनता भ्रमित भएर भावनात्मक रूपमा भड्किने वातावरण कायम रहेको छ ।

देशको अवस्था राम्रो बनाउन सकारात्मक चेत भएको अनि रचनात्मक अभ्यास र व्यवहार गर्न सक्ने बुद्धिमानी र विवेकी नागरिक चाहिन्छ । जसमा असल वैचारिक राजनीति र नेतृत्व चिन्ने, रोज्ने र बन्ने क्षमता पनि हुन्छ । आज नागरिकमा त्यो क्षमता विकास गर्ने शिक्षा तथा सामाजिक व्यवस्थाको आवश्यकता खड्किएको छ । तर हामी भने एकोहोरो रूपमा मूलधारको राजनीतिक दल र त्यसको नेतृत्वलाई मात्र दोष दिएर पन्छिन खोज्दै छौँ । हामीले बुझ्नुपर्छ, देश राम्रो कसरी बनाउने भन्ने प्रश्न र मुद्दामा हाम्रो ध्यान जानै दिइएको छैन  । किनभने हाम्रो शिक्षा दीक्षा विदेशको झिलिमिलीमा रमाउन र विदेशी भूमि उर्वर बनाउन सिकाउने उद्देश्यबाट प्रेरित र निर्देशित भइरह्यो ।

त्यसैले अलि राम्रो शिक्षा पाएका भन्नेहरू नेपाली नागरिकता त्याग्ने मनस्थितिका साथ बिदेसिन्छन् भने अर्का थरी ऊर्जाशील समय विदेशी भूमिमा खर्चिन तयार वा बाध्य हुन्छन्। राज्यको नीति पनि युवा निर्यात गरेर वस्तु आयात गर्ने छ । तर यो त्रुटिपूर्ण अवस्था र चेतमा परिवर्तन ल्याउन वैचारिक राजनीति बलियो हुनुपर्छ भन्ने विवेक नागरिकदेखि नेतृत्वमा देखिएन ।

यो विचित्र खालको सामाजिक मनोविज्ञान विकास गर्न सघाउने शिक्षा तथा सामाजिक व्यवस्था अनि आर्थिक नीतिको जगमा न देश समृद्ध बनाउन सकिन्छ न त जनतालाई उनीहरूको अपेक्षा पूरा र समस्या सम्बोधन गर्दै खुसी बनाउन नै सकिन्छ भन्ने ज्ञान हामीमा कहिले आउँछ ? भन्ने प्रश्न हाम्रा सामु तेर्सिएको छ । यो प्रश्न उठ्ने परिस्थितिका बीच हिजो देशलाई सराप्दै नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेकाहरू आज हमित कारजाई ढाँचामा अफगानिस्तानमा झैँ आफूलाई सच्चा देशभक्त र जनताको नेता भन्दै राजनीतिमा आएका छन्। । तिनको नियत, नीति,  नैतिकता र चरित्र अनि विचार र प्रवृत्ति नै नबुझी लहलहैमा एक खालको जनमत भ्रमित भएर पछि लागेको देखिन्छ । ठुलो स्वरमा एकोहोरो झुट कुरा गर्न सक्नुलाई जनताले सामर्थ्य र आदर्श ठानेका छन् ् । त्यो विनाशको सुरुवात हो । किनभने खराब पात्र र प्रवृत्तिको पछि लागेर हाम्रा अपेक्षाहरूको सम्बोधन कदापि सम्भव छैन वा हुँदैन। ।

यति बेला जनताले असल र खराब छुट्याउन नसक्नुका पछाडि उनीहरूमा व्याप्त असन्तुष्टिका बीच बढेको आक्रोश नै हो । यो खालको आक्रोशले सकारात्मक पात्र र प्रवृत्तिमा होइन, नकारात्मक पात्र र प्रवृत्तिको सहयोगमा शक्ति प्राप्त गर्ने र शक्तिशाली हुने निष्कर्षमा पुर्‍याउँछ । अहिले त्यस्तै भइरहेको छ । नीति र नियत स्पष्ट नभएको, चरित्र, नैतिकता र आचरणमा प्रश्न उठेको अनि विवादित विगत र प्रवृत्ति भएको पात्रलाई विश्वास गर्नु भनेको धोका खानु हो । जनताले असन्तुष्टिका बीच देखाउने आक्रोश र आशासहित गर्ने आक्रोशबीचको अन्तर बुझेनन् र भ्रममा परेर भावनात्मक रूपमा भड्किएर खराब पात्र र प्रवृत्तिलाई राम्रो देख्दै छन्। ।

आज जनता आशासहितको आक्रोशमा होइन, असन्तुष्टि बीचको आक्रोशमा आफ्ना अपेक्षाहरू सम्बोधन खराब पात्र र प्रवृत्तिको नेतृत्वमा खोजिरहेका छन्। तर जनताले बुझेनन्, असन्तुष्टिले सिर्जना गरेको आक्रोशले समस्याको समाधान होइन, समाधानमा व्यवधान खडा गर्छ भने आशासहित आक्रोशले समस्याको दिगो समाधान खोज्छ । 

त्यसैले हामीले बुझ्नु र बुझाउनुपर्छ, ''गुणस्तरीय शिक्षा र सुशासनको माध्यमबाट युवाहरूको मनलाई सकारात्मक सोचका साथ सशक्त बनाउन सक्यौँ भने मात्रै परिवर्तनले परिणाम दिन र देखाउन थाल्नेछ। यसले हामीलाई स्वस्थ र समृद्ध भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ। तर हाम्रो ध्यान त्यसतर्फ जान सकेको छैन।” जसका कारणले सूचांकले राम्रो देखाउने तर देशको अवस्था नराम्रो बन्ने वातावरण बनिरह्यो । त्यसैले सकारात्मक सोच र चेतका साथ जनताले विवेक पनि प्रयोग गर्ने परिस्थिति निर्माण गर्न हामीले हाम्रा क्षमताहरूको पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : २६ बजे