तीन प्रदेशमा वर्षाको सम्भावना

भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

भरतपुर । चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । 

भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रूपमा शनिवार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपू सैनिकलाई सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्व जर्नेल डा प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्‍याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताउनुभयो ।  उहाँले भूप सैनिकहरूले दुई देशको सम्बन्धलाई सुमधुर राख्नका लागि पुलको भूमिका खेलेको बताउनुभयो । 

भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत नितेश कुमारले भूपू गोर्खा सैनिकलाई भारत सरकारले निरन्तर सम्मान गरिरहने बताउनुभयो । दूतावासले पहिलो पटक सम्मानको कार्यक्रम आयोजना गरिएको जनाउँदै यसलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा सम्मानित भएका भूपू सैनिकहरूले आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरेका थिए । 

कार्यक्रममा डा लक्ष्मीकान्त पाण्डे, धनबहादुर थापालगायतले बोल्नुभएको थियो । कार्यक्रम भूपू सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

नगरपालिकाबाटै श्रम स्वीकृति र परामर्श
​​​​​​​चितवनको रत्ननगर नगरपालिकाले श्रम स्वीकृति दिन सुरुआत गरेको छ । 

वैदेशिक रोजगारीमा जाने युवालाई शुक्रवारदेखि पालिकाबाटै औपचारिक रूपमा श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको हो । जेठ महिनाबाट श्रम स्वीकृति दिन सुरु गरिएको भए पनि औपचारिक गरेर सो सेवा थालिएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार नगरपालिकाले रोजगार सेवा केन्द्रबाट उक्त सेवा सुरु गरेको नगरप्रमुख प्रलाद सापकोटाले बताउनुभयो । 

उहाँले पालिकाबाट श्रम स्वीकृतिको सेवा सुरुआतसँगै काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “काठमाडौँबाट लिँदै आएको हरेक सेवा स्थानीय सरकारमार्फत दिनुपर्छ”, उहाँले भन्नुभयो, “यसले नागरिकको समय र पैसाको बचत हुन्छ ।”

नगरप्रमुख सापकोटाले यसअघि बाहिर गएर श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुने गरेको भन्दै स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहजै सेवा पाउने बताउनुभयो । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउन उहाँले सुझाव दिनुभयो ।

सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो श्रम स्वीकृति पत्र प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । स्थानीय सरकारबाट श्रम स्वीकृति पत्र लिएपछि भिसा लागेको मान्छे काठमाडौँका म्यानपावर र मन्त्रालयमा धाउनु नपर्ने उहाँको भनाइ छ ।  

जेठ महिनायता रत्ननगरबाट १५ जनाले श्रम स्वीकृति लिइसकेको रोजगार सेवा केन्द्र संयोजक चन्द्रा बस्यालले जानकारी दिनुभयो । यो अवधिमा ५० बढी युवालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : ५५ बजे