डोल्पा प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी तोडफोड

जाजरकोट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्ति पीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । 

अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्र वटा सिँढी तोडफोड भएको हो ।

हिन्दुहरूको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रूपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रूपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताउनुभयो ।

विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्र वटा सिँढीका ढुङ्गाहरू हथौडा प्रयोग गरेर तोडफोड भएको उहाँले जानकारी दिनुभयो । 

यस्तो किसिमको गलत काम कुनै धर्म विरोधी तत्त्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रूपमा अघि बढ्नाका साथै स्वयं जगत् जननी मातासँग पनि भाकल गरिएको समेत उपाध्यायको भनाइ छ ।

कसले कुन कारणले सिँढी फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ । 

यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेपछि विज्ञप्ति नै निकालिएको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देश विदेशबाट भक्तजनहरू आउने गर्दछन् ।

 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ११ : १८ बजे