भारतको अनुदानमा निर्माण हुने परियोजनामा समझदारी

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासबीच आज समझदारी भएको छ । यी परियोजनाका अनुमानित लागत रु १७ करोड रहेको छ ।

शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुलाको व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, सङ्खुवासभाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुरको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन् ।

यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने बताइएको छ ।

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा पाँच सय ४६ उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । यसमध्ये चार सय ८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा छन् । 

सबै परियोजनाको कूल लागत करिब रु १२ अर्ब २० करोड रहेको छ । यी परियोजना धेरैजसो नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन भएका हुन् ।  
 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : २० बजे