तीन प्रदेशमा वर्षाको सम्भावना

ताप्लेजुङका पहिरोपीडितलाई राहत वितरण

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले सिदिङ्वा गाउँपालिकाका पहिरोपीडितलाई राहत रकम वितरण गरेको छ । सरोकार केन्द्रले गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पीडितलाई रु आठ लाख ६७ हजार हस्तान्तरण गरेको हो ।

मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको परिवारलाई जनही रु १२ हजार तथा विस्थापित २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले जानकारी दिनुभयो । उच्च जोखिममा परेका २० परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले तथा दुई बिरामीलाई जनही रु १० हजारका दरले राहत प्रदान गरिएको छ ।

सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठसँगै महासचिव सन्तोष मादेन, सहयोग सङ्कलन समितिका संयोजक मिङ्माडण्डु लामा, सदस्य अनिल खड्का, सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर  राई, उपाध्यक्ष कृष्णकुमारी कडरियालगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो ।

गत असार २ गते राति वर्षासँगै आएको बाढी र पहिराले सिदिङ्वमा तीन जनाको मृत्यु भएको थियो भने तीन अझै बेपत्ता छन् । पालिकाको वडा नं ६ मेहेले, वडा नं ७ सुरुङिख्म र वडा नं ३ आङ्खोप बढी प्रभावित भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : ४८ बजे