तीन प्रदेशमा वर्षाको सम्भावना

सुन तस्करीको विषयमा समाचार लेखेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की, कारबाही गर्न महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङ र उहाँकी पत्नी अमला रोक्काकाे बारेमा समाचार लेखेको भन्दै ज्यान मार्ने धम्की दिएका छन्।

नेपाल पत्रकार महासंघले लोकान्तर डट्कमका स्तम्भकार एवं महासंघका पूर्वमहासचिव मगरलाई लोकान्तरमै प्रकाशित सुन तस्करीसम्बन्धी समाचारको विषयलाई लिएर आएको ज्यान मार्ने धम्कीप्रति आपत्ति जनाएको छ।

महासंघका महासचिव रोशन पुरीले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग जोडदार माग गरेका हुन् । 

मगरले २०८० साउन १६ गते मंगलवार लोकान्तर डट्कममा ‘सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङ र शहीदपत्नी भनिएकी अमला रोकाबारे खोजमूलक स्टोरी लेख्नु भएको थियो । सोही विषयलाई लिएर अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ (बिन्दु बुढाका श्रीमान) बागलुङ, ढोरपाटन-४ का वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भाञ्जी दीपा श्रेष्ठ र दाइ अमरले आफूलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेको पूर्वमहासचिव मगरले महासंघलाई जानकारी गराउनु भएको थियो ।

छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले आफूलाई ‘जहाँ भेटिन्छ, त्यहीँ मार्ने’ धम्की दिँदै आएको मगरले जानकारी दिनु भयो। विदेशमा रहेका केही व्यक्तिले सामाजिक सञ्जालमार्फत समेत धम्की दिएका थिए । 

समाचारप्रति चित्त नबुझे त्यसउपर कानूनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लघंन भएको महासंघले जनाएको छ।

सुन तस्करीको आरोपमा पक्राउ परेका छिरिङको नाममा पत्रकारमाथि खुलेआम सुरक्षा चुनौती आउनुले पत्रकारको सुरक्षाको विषय गम्भीर बनेको महासंघको ठहर छ । महासंघले  घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग माग गरेको छ । 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १० : १५ बजे