साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हाम्रो साथी मोतीलाल

उकालो बाटो यसै त गाह्रो थियो, त्यसमा पनि पानी परेको हुनाले चिप्लो र असजिलो भयो । बसका चालक अनुभवी रहेछन्, जतनसाथ ताप्लेजुङको सदरमुकाम म्यागलुङ बजार पुर्याए । हामी त्यहाँ पुग्दा अपराह्न पाँच बज्दै थियो । 
    
अघिसम्म पानी परेको र वरिपरि बाक्लो कुहिरो लागेको हुँनाले टाढा कतै देखिँदैनथ्यो । मन खिन्न भएको थियो, तर म्यागलुङ बजारमा पुग्दानपुग्दै पानी रोकियो, बादल फाट्दै गयो र कुहिरो पनि हट्दै गयो । हेर्दाहेर्दै पश्चिमको सानो छिद्रबाट सूर्यका किरण देखिए । 

बसबाट उत्रेपछि झोला बोकेर लमक लमक हिँड्दै थियौँ, त्यस्तैमा उत्तरतिरको एउटा अग्लो पहाडतिर देखाउँदै शिव दाजुले भने, “ऊ त्यै हो पाथीभरा ।” सूर्यका सुनौला किरणसँगै पाथीभरा पहाड मुसुक्क हाँसिरहेको थियो ।  

बेलुकी बास बस्नका लागि अनिलजीले कृषि विकास बैंकको गेष्टहाउस मिलाइसकेका थिए । झोलाझाम्टा त्यहीँँँ थन्कायौँ । 

दिनभरिको तनावपूर्ण यात्राले तन र मन दुवै थाकेका थिए । कतै निस्किँन मन थिएन । कोठामा पस्दासाथ अनिलजी र म लम्पसार परेर ओछ्यानमा पल्टिएका थियौँ तर शिव दाजुले आरामले बस्न दिएनन्, हुटहुटी लगाए, “भोलि कसरी जाने, कसलाई भेट्ने, कसरी काम सम्पन्न गर्ने भन्ने विषयमा आजै छलफल टुङ्ग्याउनुपर्छ । जाऊँ, साथीहरूलाई भेट्न ।” 

शिवजी तीन सदस्यीय टोलीका नेता थिए । उनले भनेको मान्नु हाम्रो कर्तव्य हुन्थ्यो, त्यसैले मन नलागी नलागी उठ्यौँ र उनलाई पछ्यायौँ । 

जननेता मदन भण्डारीसँग सम्बन्धित सूचना सङ्कलन तथा तस्बिर लिनका लागि हामी उनको जन्मस्थान ढुङ्गे साँघु जाँदै थियौँ । यसै सिलसिलामा हामी काठमाडौँदेखि इटहरी, झापा, इलाम, पाँचथर हुँदै म्यागलुङ पुगेका थियौँ । म्यागलुङदेखि ढुङ्गे साँघु एक दिनको पैदल दुरीमा थियो । 

लखर लखर हिँडाउँदै लगेर शिवजीले हामीलाई एमाले पार्टी कार्यालयमा छिराए । जिल्लास्थित नेता कार्यकर्ताहरू जम्मा भएका रहेछन् । सामान्य परिचय भयो । केहीबेर औपचारिक कुराकानी भए । अनिल र मेरो उद्देश्य बसेर गफ गर्ने थिएन । बरु मिलेसम्म त्यहाँको अवलोकन गर्ने र जरुरी लागेका तस्बिर लिने थियो । त्यसैले शिव दाजुलाई त्यहीँँँ छोडेर लुसुक्क बाहिर निस्कियौँ । 

क्षितिजबाट नेटो काट्न लागेको रातो सूर्यले हामीलाई पर्खेर बसेको रहेछ । सुन्दर दृश्य देखेर मन प्रशन्न भयो । यस्तो अवसर सधैँ कहाँ पाउनु । फटाफट क्यामेरा अन गरेँ र रातो सूर्यलाई सानो क्यामेराभित्र कैद गरेँ । अन्य केही दृश्यहरू पनि परे हाम्रो छनोटमा । 

बजार घुम्दै थियौँ, त्यस्तैमा हामीलाई खोज्दै शिव दाजु त्यहीँँँँ आइपुगे । “भरे खाना खाने बन्दोबस्त मिलाएर आएको छु, जाऊँ उतै ।” भेट्नासाथ उनले भने । त्यो साँझको खाना शिव दाजुले आफन्तीको घरमा मिलाएका रहेछन् । भतुवालाई बिगौती भनेजस्तै भयो हामीलाई । आज मिठो खान पाइन्छ भन्ने कुरामा आशावादी भयौँ । त्यो घर आफन्तीको घर मात्र रहेनछ, त्यो त मदन भण्डारीलाई पढाएका गुरु पशुपति भट्टराईको घर पो रहेछ ! 

“गुरुसँग मदनका बारेमा मज्जाले कुरा गर्नुपर्छ ।” अनिलजीले साउती गरे । मैले सहमति जनाएँ ।

भुइँतलाको एउटा साँगुरो र अँध्यारो कोठाभित्र मधुरो बत्ती बलिरहेको थियो । एउटा खाटमा सिरक ओडेर एक जना वृद्ध बसिरहेका थिए, तिनै रहेछन् हामीले खोजेका मदन भण्डारीका गुरु ।

वि.सं. १९८२ साल असारमा ताप्लेजुङ जिल्लाको फुङलिङ गा.वि.स.मा जन्मेका उनले २००८ सालदेखि मदन भण्डारीले पढेको बालसुबोधिनी संस्कृत विद्यालयमा पढाउन थालेका रहेछन् । २०४९ सालदेखि सेवानिवृत्त भएका उनी खासै हिँड्डुल गर्न नसक्ने गरी थला परेका रहेछन् । श्रवण शक्ति पनि समाप्त भइसकेको रहेछ । 

हामी बोलेको उनले नसुन्ने भएपछि गफ गर्ने योजना समाप्त भयो । उनीसँग लेखेर वा इसारा गरेर मात्रै संवाद गर्न सकिँदोरहेछ । रातिको समय भएको र प्रयाप्त उज्यालोको अभावले गर्दा त्यसो गर्न पनि सम्भब भएन । हामी निराश भयौँ । परिवारका सदस्यहरूको सहयोगले अलिअलि संवाद भयो ।

‘मदनले तलको स्कुलमा पढेका हुन् । उनले पढ्दा त्यस स्कुलको नाउँ बालसुबोधिनी संस्कृत प्रधान पाठशाला थियो । अहिले त्यसको नाउँ बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय भएको छ । मैले त्यस स्कुलमा मदन र उनका दाजु मनोजलाई सँगसँगै पढाएको हुँ । उनीहरूको घर स्कुलदेखि चारपाँच घण्टाको दूरीमा भएको र सधैँ आउन जान कठिन हुने हुनाले दुवै भाइ विद्यालयको छात्रावासमा बस्थे । छात्रावासमा खासै सुविधा थिएन । आफै पकाएर खान्थे । त्यो बेला मदनको नाउँ मोतीलाल थियो । उनी पढाइमा औधी चलाख थिए । दाजु पनि टाठै थिए । दुवै भाइ बडो मिहिनेत गरेर पढ्थे । कहिलेकाहीँ त मोतीलालले किताबै पनि घोकिदिन्थे ।’

गुरुका कुरा यत्तिमात्र बुझ्यौँ । लेखेर गरेका कुराकानीमा त्यति मजा आएन । खाना खाई वासस्थानमा आउँदा रात निकै छिप्पिइसकेको थियो । “बिहान सबैरै हिँड्नुपर्छ । नत्र ढुङ्गे साँघु पुग्न सकिँदैन ।” शिव दाजुले सतर्क गराए ।

बिहान उठ्दा सूर्यको सुनौलो प्रकाशमा म्याङ्लुङ बजार मुसुक्क हाँसिरहेको थियो । उठ्यौँ, तयार भयौँ र शिवजीका पाइला पछ्याउँदै अघि बढ्यौँ । 

पहिले हामी साउनेपानी भन्ने स्थानमा रहेको पदमप्रसाद निरौलाको घरमा जाने, बिहानको खाना त्यहीँ खाने र निरौलाजी मदन भण्डारीका समकालीन साथी भएकाले उनीसँग मदन भण्डारीका बारेमा कुराकानी गर्ने कार्यक्रम थियो । साउनेपानी म्याङ्लुङ बजारबाट दक्षिणतिर पर्दोरहेछ । कोठाबाट हिँडेपछि शिवजीले हामीलाई दक्षिणतिर झारे । 

हिँड्दै थियौँ, बाटोमा मेरा एक जना पुराना मित्र सुनील अधिकारीसँग भेट भयो । हामी दुवै जना २०५८ सालमा मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत थियौँ । निकै भयावह स्थितिमा पुगेको थिएँ म त्यहाँ । सुनिलजी ताप्लेजुङमा कार्यरत रहेछन् । मलाई भेटेपछि उनी पनि खुशी भए । 

निरौला परिवार घर सिँगार्ने र फूल बिरुवा लगाउने काममा निकै सौखिन रहेछन् । घर वरिपरि भाँती–भाँतीका सुन्दर फूलहरू फुलिरहेका थिए । साह्रै सुन्दर लाग्यो त्यहाँको वातावरण । घरका जहान परिवार पनि साह्रै मिलनसार रहेछन् । घरमा पुग्नासाथ स्वागत गरे, आदर गरे र बस्नका लागि आसन दिए । भाउजूले फटाफट तातो चिया बनाएर दिइन् । बिहानको पारिलो घाममा आँगनको डिलमा बसेर चिया पिउँदा मजा आयो । चिया पिउँदै शिवजीले कुराकानीको थालनी गरे ।  

पदमप्रसाद निरौला र मदन भण्डारीले २०२१÷२२ सालतिर बालसुबोधिनी संस्कृत विद्यालय मेदिबुङमा सँगसँगै पढेका रहेछन् । मदनले विद्यालयमा हुने साँस्कृतिक कार्यक्रममा कलाकारको रूपमा भाग लिने गरेको, वादविवाद प्रतियोगितामा भाग लिने र पुरस्कार जित्ने गरेको लगायतका कुरा पदमप्रसादले बताए । हाल सोही विद्यालयमा शिक्षक रहेका निरौलाले मदन भण्डारीका बारेमा धेरै जानकारी दिए । 

गफ गर्दागर्दै अबेर भइसकेको थियो । भाउजूले खाना तयार भएको जनाउ दिइन् ।  

साह्रै मीठो खाना । दाल, भात, तरकारी, अचार । अचार पनि दुई÷तीन थरी । साथमा घिउ, दही, मही पनि । मगमग बसना आउने घिउका दुना भरिलै थिए । देख्दासाथ मेरा मुखबाट पानी आयो । अनिलजीलाई घिउ खान नहुने हुँदा देख्नासाथ मन बिगारे । म हौसिएँ । दायाँ वायाँ नहेरी मेरा भागको घिउ तातो भातमा हालेर मलेँ । 

“यो पनि खाऊ ।” अलिजीले आँखै आँखाले इसारा गरे । 
“खानु र ?” उनको काननिर मुख जोडेर साउती मारेँ ।
“हुन्छ ।” मन्द स्वर निकाल्दै आफ्ना भागको दुनो मतिर सर्काइ दिए । 
मैले पनि भाउजूले चाल नपाउने गरी घिउको दुनो मेरै भागमा घोप्टाएँ र खाली दुनो लुसुक्क अनिलजीको अगाडि राखिदिएँ । 

खाना खाएपछि सबैलाई धन्यवाद दिँदै निरौलाजीसँगै मेदीबुङतिर झर्यौँ । 
विद्यालयका प्रधानाध्यापक डिल्ली बराल रहेछन् । उनी र अन्य शिक्षक–शिक्षिकाहरूसँग भेट भयो । २००८ सालमा स्थापना भएको सो विद्यालयमा १७ जना शिक्षक–शिक्षिका र करिब ५०० जना विद्यार्थी रहेको जानकारी पायौँ ।

“मदन भण्डारीले शिक्षा आर्जन गरेको विद्यालय हो यो ।” मैले सोझ्याएको मुभी क्यामेरातिर हेर्दे प्र.अ. बरालले भने ।

विद्यालयको पुरानो भवन भत्किसकेको थियो । हालको विद्यालय भवन माथिल्लो ढिकमा थियो । विद्यालयको वरिपरि सल्ला र अन्य जातका रुख–बिरुवाहरू थिए । विभिन्न जातका रुख–बिरुवाले विद्यालयको वातावरणलाई रमणीय बनाएका थिए ।

हामी त्यहाँ पुग्दा बिहानको एघार बजिसकेको हुनाले विद्यार्थीहरू कक्षा कोठामा पसिसकेका थिए । हामीले प्र.अ. र केही पुराना शिक्षकहरूसँग कुराकानी ग¥यौँ । अनिलजी र म मिलेर आवश्यक तस्वीरहरू पनि लियौँ ।  

त्यहाँ एउटा अचम्म लाग्दो कुरा सुनियो । विद्यालयमा संस्कृत पढाएको भनेर विगतमा माओवादीले प्र.अ. डिल्ली बराललाई झन्डै मारिसकेका रहेछन् ! आफ्नो कञ्चटमा लागेको गोलीको ठुलो खत देखाउँदै बरालले भने, “उनीहरूले त म¥यो भनेर छोडेका हुन् रे, तर प्राण गएको रहेनछ !”

उनको कुरा सुनेपछि मन सिरिङ्ग भयो । शिक्षकलाई रुखमा बाँधेर काटे रे भन्ने सुनेको थिएँ, देखेको थिइनँ । त्यहाँ प्रत्यक्ष देखेँ— प्र.अ. बरालका निधारमा गोलीको ठूलो खत थियो । 

“गोली हान्नेहरू निस्ठुरी भए पनि कहिलेकाहीँ गोली पनि दयालु हुँदो रहेछ । गोलीले बाटो बिराए छ, नत्र कन्चटमा गोली लाग्दा कसरी बाँचिँदो हो र !” नजिकै रहेका एक जना शिक्षकले भने । 

त्यो बेला मलाई पत्रकार पदम ठकुराठीको सम्झना भयो । पञ्चायती कालमा उनका कञ्चटमा पनि यसैगरी गोली लागेको थियो । कन्चटमा गोली लागेर पनि उनी बाँचेका थिए ।  

माओवादी आन्दोलनका क्रममा धेरै मान्छेको अनाहकमा मृत्युभयो । कतिपय खराब थिए होलान्, तर धेरै जना बेकसुर पनि मारिए । बन्दुकसँग निकै खेलवाड गरे साथीहरूले । बिचमै बन्दुक फालेर सदनतिर जानु थियो भने त्यत्रोविधी उत्पात नगरेका भए पनि हुन्थ्यो । यस्तै भावना आए मनमा । 

छोटो समयमै विद्यालयको काम सकियो । सबैसँग बिदा भई ओरालो लाग्यौँ । 
दिउँसोको चर्को घाम, जति तल झ¥यो उति बढी गर्मी थियो । बाटो पनि साँगुरो हुँदै गयो । खरबारी हुँदै तल झर्यौँ ।  

“तमोर नदी हो यो । दुई नदीको संगम भएको हुनाले यस ठाउँलाई दोभान भनिन्छ ।” तल नदी किनारमा पुगेपछि शिवजीले जानकारी गराए । दोभानमा केहीबेर सुस्तायौँ ।

“यही उकालोको टुप्पोमा छ ढुङ्गे साँघु । हामी तीन घण्टामा पुग्थ्यौँ । आज कति समय लाग्ने हो !” शिवजीले भने । 

चर्को गर्मी भएकाले निधारबाट तरतरी पसिना चुहाउँदै उकालो लाग्यौँ । शिवजीले मदन भण्डारीसँग सँगै बाटो हिँडेका संस्मरण सुनाएर हामीलाई रमाइलो बनाइरहेका थिए । 

“मदन र म सँगसँगै यो बाटो धेरैचोटि हिँड्यौँ । गर्मीको समयमा कहिलेकाहीँ उः त्यै रहमा पौडी पनि खेल्थ्यौँ । मदन भण्डारी पौडी खेल्न साह्रै सिपालु हुनुहुन्थ्यो ।” 

अनिल र मलाई उकालो चढ्न निकै गाह्रो भइरहेको थियो तर शिव दाजु “आज जसरी पनि ढुङ्गे साँघु पुग्नुपर्छ” भन्दै हामीलाई खेद्दै थिए । हामी थला बसेका गोरुजस्तै भएका थियौँ । थोरै समय हिँड्थ्यौँ, धेरै समय बस्थ्यौँ ।  

अलि माथि पुगेपछि हराभरा वनबुट्यान देखाउँदै शिवजीले भने, “अलैँची खेती हो । यस क्षेत्रको प्रमुख आयश्रोत ।” 

यसअघि अलैँची खेती देखेको थिइनँ । नौलो लाग्यो । बाटा किनारमा उभिएर हेरेँ ।   

सिमसार भूमि, उत्तिस वा यस्तै ठुला रुखहरूको तल अलैँचीको जङ्गलै रहेछ । भर्खर फूल फुल्ने बेला भएकोले हरेक अलैँचीको फेदमा पहेलो रङको फूल फुलिरहेको थियो । निकै मजा लाग्यो । नजिकै गएर फोटो खिचेँ ।

“नेपालमा २०३५ सालदेखि व्यावसायिक रूपमा अलैँची खेती गर्न थालिएको हो । सुरुमा सिक्किम र त्यसको आसपासबाट बिरुवा ल्याई यो खेती गर्न लागेका हुन् रे ! हाम्रा पालामा त यसरी खेती गर्ने चलनै थिएन ।” शिवजीले सुनाए ।
“अन्यत्र कहाँ कहाँ हुन्छ यो खेती ?” मैले जिज्ञासा पोखेँ ।

“विदेशमा भारत र भुटानमा मात्रै हुन्छ क्यारे । नेपालमा भने धेरै ठाउँमा हुन्छ ।” अनिलजीले भने । 

“नेपालमा अलैँची खेती हुने प्रमुख जिल्लाहरू ताप्लेजुङ, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर आदि हुन् । लमजुङमा पनि राम्रो खेती गर्न थालेका छन् रे । यसो त यो खेती पूर्व मेचीदेखि पश्चिमको रोल्पासम्म ४० जिल्लामा हुन्छ रे ।” शिवजीले आफूले जानेको कुरा हामीलाई बाँडे । 

हामी अलैँचीबारीको सुन्दरता हेर्दै र रमाउँदै उकालो चढिरहेका थियौँ । त्यस्तैमा अलैँचीको बोटनिर बसेर दुई÷तिनोटी नानीहरूले घाँस काट्दै गरेको देख्यौँ । हामी बिस्तारै हिँड्दै थियौँ, एउटीले गीत गाइन् ।

“अम्लारी फुर्का फजुरुसे  
तुम्याङ हाङचेली हाजुरुसे ।

अम्लीसोकाटी अम्जीन्दा
तपाईंहरूको माया सम्झिँदा

बारीको छेउँ छेउँ कुटुमेरो
गलेर आउँछ मुटु मेरो

लछुमी गाई छ दुहुनी
लाग्यो नि माया मोहनी ।” 

पछिल्ला पङ्क्ति त केही बुझिने खालकै थिए, सुरुका पङ्क्ति केही पनि बुझिनँ । शिव दाजुलाई सोधेँ । दाजुले अथ्र्याए । अम्लरी— नाम, फुर्का— फूल, फजुरुसे— झुमा, तुम्याङ— सम्मान, हाङचेली— पाहुना रहेछ । 

“तपाईंहरूलाई देखेर मायाले गाएको गीत हो । तपाईंहरूलाई स्वागत गरेको ।” हाँस्दै दाजुले भने । 

“होला !” मैले यत्ति मात्रै भनेँ । नानीहरू हामीलाई हेरेर हाँस्दै थिए । हामी हिँड्न नसकेको देखेर हाँसेका हुन् कि भन्ने पनि लाग्यो । शरीरमा फुर्ती भए कुरा गर्न पनि मन लाग्दो हो । गलेका थियौँ, केही नभनी अगाडि बढ्यौँ ।   

“उः त्यै हो ढुङ्गे साँघु ।” निकै माथि पुगेपछि शिव दाजुले दाहिने हातको चोर औंला पश्चिमतिर सोझ्याउँदै भने । त्यसपछि अलैँचीपट्टिको हाम्रो ध्यान ढुङ्गेसाँघुतिर मोडियो ।

“अझै निकै बाटो बाँकी रहेछ, जति हिँडे पनि नसकिने ।” अनिलजीले भने । उनका कुरामा मैले पनि सहमति जनाएँ । 

तेम्बे गाउँँ पनि अन्य पहाडी गाउँ सरह नै थियो । पातला घर, फाट्टफुट्ट देखिने मानिसहरू र हरियाली वातावरण । हामीलाई देख्नेहरू अचम्म मानिरहेका थिए । उनीहरूका लागि हामी नौला मान्छे थियौँ । ‘को होलान् ? कहाँबाट आएका होलान् ? किन पो आएका होलान् ?’ यस्तै जिज्ञासा पलाएको थियो कि उनीहरूका मनमा । 

तेम्बे गाउँको केन्द्रमा उच्च माध्यमिक विद्यालय रहेछ । निर्माण कार्य हुँदै थियो । मिस्त्री र मजदुर साथीहरू काम गरिरहेका थिए । शिव दाजुले एक जनालाई बोलाएर वात मार्न थाले । अनिलजी र म त्यहीँँँँ नजिकै एक दुई जना दाजुहरू भएका ठाउँमा थचक्क बस्यौँ र त्यहाँको बारेमा जान्न थाल्यौँ ।

त्यो ठाउँमा साविकमा सिंहकाली प्राथमिक विद्यालय रहेछ । सो स्कुलको नाम र पद समेत बदलेर हाल मौवाखोला उच्च माध्यमिक विद्यालय बनाइएको रहेछ । अबेर भइसकेको भएर होला स्कुल बन्द भइसकेको थियो । विद्यार्थीहरू थिएनन् ।  

शिवजीले कामदारसँग के के कुरा गरे कुन्नि र एकजना मजदुरलाई गाउँतिर कुदाए ।

“सुरुमा मदनले पढेको विद्यालय यही हो । त्यो बेला यहाँ प्राथमिक विद्यालय थियो । उनको जन्मघर अलि माथि छ । भोलि बिहान मात्रै गइन्छ ।” शिवजीले भने ।

एकैछिनपछि एकजना मोटाघाटा र हसिला व्यक्ति हतारिँदै आए । उनी त्यसै विद्यालयका शिक्षक झनलाल तेम्बे रहेछन् । 

केही समयपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गाविसका पूर्वअध्यक्ष खेमबहादुर बनेम पनि आए । उनीहरूलाई भेटेपछि हामीले आफूहरू त्यहाँ आउनुको उद्देश्य बतायौँ । म्यागलुङबाट साथीहरूले फोन गरेर हामी आउँदै गरेको कुरा बताइसकेका रहेछन् । झनलाल र खेमबहादुरले केहीबेर सरसल्लाह गरे र मदन भण्डारीका सहपाठी साथीहरूलाई बोलाउन पठाए ।

केही समयपछि मदन भण्डारीका बालसखाहरू आए । उनीहरू दुब्ला, पातला र टिठलाग्दा थिए । गाउँले पोसाकमा आएका उनीहरूका सबैजसो कपडाहरू पुराना, फाटेका र मैला थिए । दाह्री र कपाल पनि बढेको थियो । 

सुरुमा त मदन भण्डारी भनेको को हो भन्नेबारे चालै पाएनन् । 
“को मदन भण्डारी ?” एक जनाले प्रश्न तेस्र्याए ।

उनीहरूको बालसखा मोतीलाल नै मदन भण्डारी हो भन्ने कुरा धेरैलाई थाहा रहेनछ । “मोतीलाल के त ।” शिव दाजुले यसो भनेपछि उनीहरू दङ्ग परे । 
“ए त्यो मोते ! हाम्रो साथी !” त्यसपछि एकै स्वरमा गलल हाँसे । 

“मोतीलाल र मो एउटै गाउँको साथी हो । सानोमा सँगै गोठालो जान्थ्यो । स्कुलमा पनि सँगै पढ्थ्यो ।” मदनका साथी गणेश तेम्बेले भने, “मैले पाँच कक्षा पढ्दापढ्दै छोड्यो । उसले माथि माथि पढ्यो । साह्रै बाठो थियो । झगडा पनि गथ्र्यो । हामी कहिले खेल्थ्यो, कहिले लड्थ्यो ।”
त्यसपछि उनी मजाले हाँसे ।

मदनका अर्का साथी बलराम तेम्बे थिए । उनले पनि मदनका बारेमा निकै कुरा गरे, “उसको निकै मिल्ने साथी थिएँ म । ऊ निकै बाठो थियो । सँगै पढ्थ्यौँ । तेम्बे स्कुलमा पढ्दासम्म एउटै बेन्चमा बस्थ्यौँ । ऊ पढ्नमा पनि सीपालु थियो । पढाइ होस् या खेलकुद सबै कुरामा पहिला हुन्थ्यो ।” 

“मोतीलाल र म दश वर्षले जेठा कान्छा थियौँ । हामी सधैँ खेतका गरा र चौरमा गोरुजुधाइ खेल्थ्यौँ । उसको होचो र मोटो शरीर थियो । पछि त तन्केछ । नाम पनि फेरेर मदन राखेछ ।” मदनका अर्का साथी नरपति बनेम लिम्बूले भने । 
सुरुमा मदन भनेको को हो भन्ने थाहा नपाए पनि मदनका साथीहरू पछि त मच्ची मच्ची गफ गर्न थाले । गाई चराउन जाँदा वस्तुभाउले बाली खाएका, गाउँमा फलेका फलफूल चोरेका, साथीभाइ मिलेर उपद्रो गरेका यस्तै थिए गफहरू । 

कतिलाई त मदन नेता भएको र आज भन्दा १५÷१६ वर्ष पहिले नै दिवङ्गत भएको कुरा पनि थाहा रहेनछ । 

“ए त्यो मरिसक्यो !” एक जनाले भने । कतिपयले धेरैपछि थाहा पाएका रे । 
“खेल्थ्यो पनि, पढ्थ्यो पनि । पछि यहाँ छोडेर गयो । ऊ ठुलो मान्छे बन्यो भन्थे । ठुलो मान्छे भएपछि भेट्न पनि आएन । हामी गाउँ घरमा हलो कोदालोमै भुल्यौँ । पढ्न पाएका भए हामी पनि ठुला मान्छे बन्थ्यौँ होला ।” साथीहरूले यस्तै कुरा गरे । 

कुरा गर्दै थियौँ, पानी पर्यो । स्कुलको उत्तरपट्टि सानो प्रतीक्षालय रहेछ, त्यसै भित्र पस्यौँ । 

खास मदनले पढेको पुरानो भवन अल्ली तल रहेछ, हालको स्कुलभन्दा उत्तर–पश्चिमतिर । खासै भत्किएको पनि थिएन । नजिकै लहरेफूल फुलेको दृश्य राम्रो देखिन्थ्यो । छाता ओढेरै भए पनि स्कुलको तस्बिर लियौँ । 

“यी यो कोठामा बसेर पढेको हो मदनले ।” एक जनाले देखाए ।

नजिकै सानो चौर थियो । पानी परिरहेको बेलामा पनि केही युवाहरू रमाईरमाई भकुन्डो खेलिरहेका थिए ।

दिनको उज्यालो कम हुँदै गइरहेको थियो । वरिपरि चर्दै गरेका चराचुरुङ्गीहरू पनि बास बस्ने तरखरमा थिए । हामी भोक र थकाइले गलिसकेका थियौँ । अब कतै एउटा गुँड खोजेर बास बस्न पाए हुँदो हो भन्ने लागेको थियो ।

साथीहरूले सल्लाह गरे । त्यो रात शिक्षक झनलाल तेम्बेको आग्रहमा उनकै घरमा बास बस्ने निधो भयो ।

शिक्षक झनलाल तेम्बेकी दुलही पनि शिक्षिका नै रहिछन् । गाउँले पारामा राम्रो स्वागत सत्कार गरिन् । झनलालको घरमा पुगेपछि शिव दाजुले साथीहरूसँग स्थानीय राजनैतिक गतिविधीका बारेमा कुराकानी गर्न थाले । मैले झनलालकी श्रीमतीसँग भुटेका मकै खाने प्रस्ताव राखेँ । 

“मकै भन्दा खाना खानै बेस हुन्छ ।” झनलाल सरले खानामै जोड गर्दै थिए, मैले गनगन गर्न छोडिन । पानी परेको र चिसो बढ्दै गएको हुनाले पनि मेरो प्रस्ताव सर्व सम्मतिले पारित भयो । 

पहिले मकै खायौँ, पछि दाल, भात र तरकारी । आफ्नै घरमा बसेजस्तै अनुभूति भयो त्यो दिन हामीलाई ।

रातभरि सिमसिम पानी परिरह्यो । बिहान ब्यूँझिदा पानी पर्न रोकिएको थियो । नजिकै झ्यालमा आएर चराचुरुङ्गीहरू चिरविराइरहेका थिए ।

नयाँ मान्छे देखेर जिस्क्याएका पो हुन् कि भन्ने पनि लाग्यो । हामी मानिसहरूको फरक फरक जातिको फरक फरक भाषा भए पनि चराचुरुङ्गीको भाषा भने एउटै हुन्छ । उस्तै भाषा र उस्तै स्वभाव । यिनको त आफ्नो भूगोल पनि हुँदैन । सिमानाको लागि झगडा पनि हुन्न सायद । फुल पार्ने र बच्चा हुर्काउने अवधीसम्मका लागि मात्र गुण बनाउँछन् । न घरको चिन्ता, न सम्पत्तिको पिरलो, कति आनन्दको जीवन ! चेतना र आकारले हामी ठुला भए पनि कतिपय कुरामा यिनै चराचुरुङ्गीहरू ठुला छन् कि भन्ने पनि लाग्छ । 

राति पानी परेको हुनाले मौसम शीतल र सफा थियो । 

कोठाबाट बाहिर निस्केपछि सुन्दर वातावरणको अवलोकन गर्दै र चरीहरूको सुमधुर गीत सुन्दै लामो लामो सास फेरेर फोक्सोमा शुद्ध हवा भरेँ । त्यो बेला शरीरमा भएको सबै विकार भागेजस्तै अनुभूति भयो ।

लगभग चारैतिर पहाडले घेरिएको तेम्बे गाउँबाट वरिपरि रहेका हरिया पहाडहरू साह्रै सुन्दर देखिए ।

हामी तयार हुन नभ्याउँदै तेम्बे परिवारले चियाको जोहो गरिसकेको थियो । बाहिर आँगनमा बस्ने ठाउँ र चिया एकैचोटि प्राप्त भयो । गाउँघरको चिया चिनी भने अलि बढी नै थियो । बाहुनहरू गुलियोमा रमाउँछन् भनेर पनि हो कि ! सबै सँगै मिलेर गफ गर्दै चिया पियौँ । चियापानपश्चात सुखद आश्रयको लागि धन्यवाद दिँदै आआफ्ना झोला बोकेर उकालो लाग्यौँ । शिक्षक झनलाल र अन्य साथीहरूले यात्रामा साथ दिए ।

केही समयको हिँडाइपछि लेकुवार भन्ने ठाउँमा पुग्यौँ । अगाडि हिँडेका साथीहरू सडक किनारमा रहको एउटा घरमा पसे । उक्त घर नरध्वज बनेमको रहेछ । हामी आँगनमा पुग्न नपाउँदै बनेमले हाम्रो हार्दिक स्वागत गरे । राम्ररी बस्न पनि भ्याएका थिएनौँ । गाउँका अरु साथीहरू पनि जम्मा भए । 

गाउँमा लिम्बू जातिको बाहुल्य रहेछ । लिम्बूका पनि विभिन्न जाति रहेछन् । मास्वा, धोजा, याक्योक्या, लगुवा, चोङ्वाङ, सँवा, एभेङ, खापुङ्ग, थलङ, मुुसुहाङ, लिभाङ, थेवे आदि । चोङवाङ पनि दुई किसिमका रहेछन्— फागु र हुप्पा । लिम्बू बाहेक राई, तामाङ, शेर्पा, कामी, दमाई, मगर, गुरुङ, सुनार, बाहुन, क्षेत्री लगायतका जात जातिहरूको बसोबास पनि रहेछ सो गाउँमा ।

गाउँमा एक÷एक वटा उच्च माध्यमिक विद्यालय र निम्न माध्यमिक विद्यालय अनि चारवटा प्राथमिक विद्यालय रहेछन् । एउटा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र हुलाक कार्यालय पनि रहेछन् । स्कुल तहको पढाइ गाउँमै भए पनि उच्च शिक्षा पढ्नका लागि धरान र धनकुटा जानेहरूको सङ्ख्या धेरै हुँदोरहेछ ।

मदन भण्डारी जन्मेको ढुङ्गेसाँघु गाउँकै नामबाट त्यस गाविसको नामकरण भएको रहेछ । 

ढुङ्गेसाँघु भन्नासाथ ठुलो खोलो होला, त्यसमा ऐमानको ढुङ्गाको साँघु होला र त्यसै साँघुबाट मानिसहरू ओहोरदोहोर गर्दाहुन् भन्ने कल्पना गरेको थिएँ । तर त्यस्तो रहेनछ । त्यहाँ त साना साना खोला र खोल्सामा जहाँ पनि साना ठुला ढुङ्गाका साँघु हुँदारहेछन् । त्यसैले त्यस गाउँलाई ढुङ्गेसाँघु भनिएको रहेछ । 

सो गाउँमा मदन भण्डारी जस्ता राजनीतिज्ञ, नवीन सुब्बाजस्ता फिल्मी कलाकार, झूमा बस्नेत, सन्तबहादुर तेम्बे, सुनिता अन्छम्बे, सुमन राईजस्ता गायक, पूर्णसिंह बनेम, टङ्क तेम्बेजस्ता गजलकार तथा लीला भट्टराई (सप्तकोशी एफ.एम. इटहरी) जस्ता पत्रकारको पनि जन्म भएको रहेछ । 

नेपालमा रहेका विभिन्न पार्टीहरूको थोरधेर प्रभाव रहेको यस गाउँमा विगतमा माओवादी आन्दोलनले रामं्रो नराम्रो दुवै किसिमको प्रभाव पारेको रहेछ । त्यसै क्रममा सुराकीका नाममा माओवादीबाट लक्ष्मी पौडेल र श्रीप्रसाद बनेमको र माओवादीको आरोपमा राज्यपक्षबाट जीवन बनेम (वर्ष १७) र भूपेन्द्र भट्टराईको हत्या भएको रहेछ ।

कृषि उत्पादनमा धान, मकै, कोदो, गहूँ, आलु, जौ, फापर फल्ने यस गाउँमा प्रमुख नगदेवालीका रूपमा अलैँची खेती नै अगाडि रहेछ । नाङ्गा डाँडा र पखेराहरू पनि अलँैची खेतीका कारण निकै मूल्यवान् भएका रहेछन् । 

“हामीले सित्तैमा फालेर गयौँ, अहिले निकै बहुमूल्य भए यहाँका पाखा पखेरा । भविष्यको कुरा कसले जानोस् ।” शिव दाजुले गुनासो गरे ।

चाड पर्वमा लिम्बूसमेतले दशैँ, तिहार, साउने सक्रान्ति, माघे सक्रान्ति, चैते दशैँ लगायतका पर्वहरू मनाउने चलन रहेछ । दशैँमा टीकालाई भन्दा पनि खेलकूदलाई बढी महत्त्व दिँदारहेछन् । 

कोशी राजमार्ग नामकरण गरी गुफापोखरीदेखि दोभानसम्मको ४० किलो मीटर लामो बाटो यसै गाउँबाट लैजाने गरी सर्भे समेत भइसकेको रहेछ । गाउँका बिच–बिचमा राता सङ्केत भएका किला ठोकेको र रुखहरूमा चिह्न लगाएको पनि देखियो । पाँच वर्षभित्र धुलेबाटो निर्माण गर्ने लक्ष्य रहेछ । 

मृत्युपश्चात् मृत शरीरलाई राजालाई जस्तै सिँगार्ने, छातीमा पैसा राखिदिने र परिवारका सदस्यहरूको इच्छाअनुसार गाड्ने वा पोल्ने चलन रहेछ । चिहानमा गाडिसकेपछि मृतकको सम्झनामा चिहानमाथि उसको परिचय झल्किने गरी शिलापत्रमा केही वाक्य लेखेर गाड्ने चलन पनि रहेछ । मृतकको जन्म मिति, मृत्यु मिति, नाम, थर, वतन, उसले गरेका महत्त्वपूर्ण काम यस्तै यस्तै कुरा लेखिँदो रहेछ त्यस शिलापत्रमा ।

किरिया तत्काल वा रैकर दुवै तरिकाले हुँदोरहेछ । तर केटाको किरिया चार दिन र केटीको किरिया तीन दिन मात्र गरिँदो रहेछ । अर्थात् तीन दिनपछि नुन फुकाउने रहेछन् । 

यस गाउँमा लिम्बू र खस दुवै भाषा बोलिँदोरहेछ । 
चिया पिउँदै निकै बेर कुराकानी गरेपछि त्यहाँबाट हिँड्यौँ ।  
मदन जन्मे हुर्केको घर धेरै पुरानो र संरक्षणविहिन अवस्थामा थियो । सामान्य गाउँले पाराको, ढुङ्गा माटाको गारो र खरको छाना भएको उक्त घर दुई तले थियो र पूर्वतर्फ फर्केको थियो । 

वरिपरि उत्तिसका रुखहरूको जङ्गल र अलैँची खेती थियो । लामो समयदेखि मानिस बस्न छोडेका र खासै संरक्षण पनि नभएको हुनाले घरको अवस्था दयनीय देखिन्थ्यो । वरिपरि नजिकमा अरू घर थिएनन् । घर वरिपरि पानी भने छ्यालब्याल थियो । जताततै पानी भएको र उत्तरतिर फर्केको चिसो भूभाग भएर पनि होला एकैछिन बस्दा पनि जुकाले हैरान पारेका थिए ।

सो घर हाल अर्कै व्यक्तिले किनेका रहेछन् ।

“यो घरजग्गा मदन भण्डारी प्रतिष्ठानले किनेर संरक्षण गरिराखे पनि हुँदो हो नि ।” कुराकानीका सिलसिलामा गाउँलेहरूले सुझाव दिँदै थिए । 

घर अगाडि रहेको ढिकीमा जन्मेका रहेछन् मदन । ढिकी भएको स्थान खुला थियो । ढिकी नभए पनि ढुङ्गाको ओखल भने सुरक्षित थियो । हामीसँगै गएका गाउँले दाजुभाइले झार झङ्कट पन्छाएर मदन जन्मेको ओखल देखाए । अनिलजीले डिजिटल र मैले मुभी क्यामेराले वरिपरिको तस्वीर लियौँ । 

त्यहाँको काम सकेपछि मदनले अक्षर चिनेकोे ठोट्ने प्राथमिक विद्यालय, बरडाँडा, मौवाखोला पनि पुग्यौँ । प्राथमिक तहमै रहेछ अहिले पनि सो विद्यालय । बिहानै भएर होला नानीहरू स्कुल आइपुगेका थिएनन् । 

घुम्दाघुम्दै समय घर्किँदै थियो । बिहानको खाना एकजना लिम्बूनी दिदीको घरमा खाने तय भएको रहेछ । साथीहरूले उतै लिएर गए । सो घर मदनको जन्मघरदेखि केही तल थियो ।   

सामान्य गाउँले घर । परिवारमा वृद्ध बा आमा र उमेर ढल्किसकेकी दिदी थिइन् । 

खाना पकाउने भान्साघर बाहिर आँगनको डिलमा थियो । त्यसमा ढोका थिएन । भान्साभित्र ठुलो अँगेनो थियो । भान्सामा एक भाँडो भात र एउटा ठुलो कराहीमा पाकेको दाल थियो । 

एउटा अर्को आश्चर्य पनि देखियो— भान्सामा तीनोटा तोम्बा खाने भाँडा थिए । ती भाँडा त सबैका आआफ्ना हुँदारहेछन् ।

“तोम्बा खाने हो ?” खाना खानुपूर्व दिदीले सोधिन् । कहिल्यै खाएको थिइनँ । आँट गर्न सकिनँ । हामी तीनैजना नखानेमा परेछौँ । तोम्बा नखाएको देखेर सबैले अचम्म माने ।  

खाना खाएपछि शिव दाजुले बेचेको घरमा गयौँ । 

लिम्बू थरकै दिदीले किनेकी रहिछन् दाजुको पुरानो घर । गहुँ स्याहार्न चटारो थियो । चार–पाँच जना खेतारा थिए । आँगनभरि गहूँका बाला र नल लदाबदी थियो । त्यहीँँँ बस्यौँ दिनभरि । घरकी दिदीले दिउँसो खाजाका रूपमा उसिनेको आलु र इस्कुस खान दिइन् । त्यस दिनभन्दा पहिले उसिनेको इस्कुस खाएको थिइन । मिठै भयो । 

त्यस दिन यस्तै गफगाफ गरेर र घुमघाम गरेर बितायौँ ।
“अलिकता भए पनि बाटो काटिन्छ जाऊँ आज माथि । एक जना मित्रको घर छ, त्यहीँ बास बसौँला र भोलि बिहान सबेरै उठेर हिँडौंला ।” 

बेलुकीतिर शिव दाजुले प्रस्ताव राखे । 

“कसको घर हो ? उनीहरूलाई दुःख हुन्छ कि !” अनिलजीले भने ।
“हुँदैन । मित्रलाल गौतमको घर हो । उनी हाम्रै साथी हुन् । यहाँसम्म आएर उनकोमा पसिएन भने बरु रिसाउँछन् ।” शिव दाजुले प्रस्ट पारे ।
 
“हुन्छ जाने भए जाऊँ ।” अनिलजीले भने । बास बस्ने कुरामा मैले कुनै प्रतिक्रिया जनाइनँ । केही समयको छलफलपछि त्यो साँझ मित्रलाल गौतमको घरमा पाहुना लाग्ने सहमति भयो । त्यो दिन थियो वि.सं. २०६४ साल वैशाख २८ गते शुक्रबार ।

+++
साभार : शार्दूल अङ्क ६

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ३० बजे