तीन प्रदेशमा वर्षाको सम्भावना

सरकारले लम्पी स्किन रोकथाम नगरेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौंँ । मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरी रोकथामकाका लागि उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

लम्पी स्किन रोगका कारण हजारौँ पशुको मृत्यु भएको र लाखौं पशुहरू प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ । त्यस्तै छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलव्ध गराउनुपर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले माग गरे ।

उनले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको बताए ।

प्रदर्शनमा सहभागीहरूले लम्पी स्किन रोग महामारी घोषणा गर, पीडित किसानलाई क्षतिपूर्ति दे, भ्रष्टाचार नियन्त्रण गर, भूमिहिन समस्या समाधान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ३६ बजे