तीन प्रदेशमा वर्षाको सम्भावना

चितवनमा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने 

चितवन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । 

यही साउन २५ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले बताउनुभयो । 

उहाँका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ । प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रूपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उहाँले जानकारी दिनुभयो ।

अभियानका लागि २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पाँच हजार डोज खोप आउने अनुमान गरेका छौँ ।” प्रदेश सरकारले अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उहाँले बताउनुभयो । सातै पालिकामा पालिएका गाई भैँसीमा यो खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरूलाई खोप नलगाइने उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “स्वस्थ पशुलाई खोप लगाइन्छ ।” जिल्लाका पालिकाहरूको सक्रियतामा खोप लगाइँदै आइएको छ । यसलाई सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लामा हालसम्म १८ हजार पाँच सय ९० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, खैरहनी नगरपालिकामा तीन सय, राप्ती नगरपालिकामा ६ हजार र रत्ननगरमा आठ हजार पाँच सय पशुमा खोप लगाइएको उहाँले जानकारी दिनुभयो । 

जिल्लामा हालसम्म ११ हजार एक सय ८५ गाई भैँसीमा यो रोग देखिएको छ । कार्यालयका तथ्याङ्कअनुसार हालसम्म दुई सय ८७ गाई लम्पी स्किनबाट मरिसकेका छन् ।

गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिनुभयो । गाई भैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने र  लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्छ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । 

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनुभयो । रासस

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ४४ बजे