सुनको मूल्यमा नयाँ कीर्तिमान

बङ्गलादेशमा डेङ्गुका कारण जुलाईमा दुई सयभन्दा बढीको मृत्यु

ढाका – बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार थप चार जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि गरेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर यो वर्ष हालसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच हजार ९५६ जनामा सङ्क्रमण भएको देखिएको थियो । जुलाईमा सङ्क्रमित सङ्ख्यामा थप ४३ हजार ८५४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा ढाकामा एक हजार १६८ सहित दुई हजार ६९४ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन् ।

यस वर्षको जनवरीदेखि जुलाईसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर ४२ हजार १९५ जना डेङ्गुका बिरामी घर फर्केका छन् ।    डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ०० बजे