‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हेन्डसम धरहरा र सुन्दरी मेलम्ची नानीको प्रेमलीला

सुनिन्छ, मुलुकले नयाँ वर्षको वैशाख महिनामै कुनै दिन नयाँ वर्ष गिफ्टका रूपमा धरहरा उपहार पाउँदो छ ! विनाश कारी भूकम्पले भत्काएको धरहरा त्यही भूकम्पकै सातो जाने गरी झन् अग्लो भएर ठडिँदो छ ! प्रधानमन्त्री केपी ओलीले हामी बनाउँछौ हाम्रो धरहरा नाराका साथ त्यतिबेला शिलान्यास गर्नुभएको यो धरहरा उहाँकै हुटहुटीअनुसार समयभन्दा अगावै निर्माण सम्पन्न हुँदो छ र उहाँबाटै यसको उद्घाटन हुने छ । विगत पाँच वर्षदेखि हराएको धरहरा यस कान्तिमती काठमाडौले नयाँ वर्ष वैशाख महिनाकै कुनै दिन सायद पाउने पक्का छ भने त्यस क्षणमा लालित्यले युक्त ललितपुर र कलाका भक्तहरूले भरिएको भक्तपुर समेत हर्षले भक्कानिने छन् अर्थात् सिंगो काठमाडौ उपत्यकाले एकपल्ट खुसीका आँसु वगाउने छ  ! मुलुकका गौरवको धरोहर धरहराले नयाँ उचाइका साथ पुनर्जीवन पायो भने पछि मुलुकका ओठमा मुस्कान छाउने छ र सिङ्गो देश नै खुसीले गदगद हुने छ ! अग्लो सोच र दृढ अठोट भएका नेताको साथ र आड भरोस नपाएको भए सायद विधि र पद्धतिका नाममा हलो अड्काएर गोरू चुट्ने चण्डाल शैलीका कारण अग्लो धरहरा निर्माण कार्य समयमै सम्पन्न हुन्थ्यो वा हुँदैनथ्यो ! त्यसबारे केही नभनिहालौ  !

अँ जब धरहराले आँखा उघार्ने छ ! छमछम नाच्दै र छङछङाउँदै सिन्धु पालचोक तिरबाट भर्खरै भर्खरै काठमाँडौ झरेकी मेलम्ची नानीले चिसो पानीले धरहराको तिर्खा मेटिदिने छिन् ! सायद मेलम्ची र धरहरा एक आपसमा कानेखुसी गर्ने छन्, अनि भर्खरै काठमाडौँ झरेकी नौली चञ्चली मेलम्ची पनि अग्लो र सर्लक्क परेको हेन्डसम धरहरा देखेर भुतुक्क हुने नै होलिन् ! तिस वर्ष अघि सन्त कृष्णप्रसाद भट्टराईले देखाउनु भएको सपनामा लट्ठिएर काठमाडौँका कलधारामा अनवरत बग्ने सपना सजाएकी मेलम्ची नानीको प्यासको सपना पनि साकार भैसकेको मात्र होइन, मेलम्ची नानी र उनका मनका महानायक धरहराको यो युगको यो  प्रेमगाथा समेत इतिहासका पानामा गौरवमय आलेख बनेर रहनेछ !  

अँ, यसरी पाँच वर्षअघि ढलेको धरहरा चिरनिद्रापछि जब जाग्ने छ तब देख्ने छ काठमाडौँका चिल्ला सडकहरू ! पुनर्निर्माण पछि बनेका नौलानौला संरचनाहरू ! अनि आफूसँगै ढल्न ठिक्क परेको र चर्केको बुढो दरबार स्कूल लक्का नौजवान बनेर ऊभिएको देख्ने छ ! अनि तन्नेरी दरबार स्कूलसँग पिरती गाँसुला झै गरेर चम्केकी र अहिलेको सरकारले सर्जरी गरेर बैसको पुनर्जागरण गरि दिएपश्चात् पश्चात् मस्कँदै बसेकी रानीपोखरी पनि देख्ने छ । प्रताप मल्लद्वारा आफ्नी रानीको स्मृतिमा निर्मित यी रानी पोखरीको सुन्दर रूप कसरी कुरूप पारिएको थियो र अहिले तिनमा चढेको लालित्य र दरबार स्कुलमा बौरिएको बैँसले यी दुईलाई केकसरी आकर्षित गरिरहेको छ भन्ने कुरा पनि दुनियाका लोभी आँखाले निरन्तर देखिरहन पाउने नै होलान् ! जेसुकै होस्, अब भने दरबार स्कुल र रानीपोखरीको कञ्चन प्रीतिले कान्तिपुरको गालामा समेत पर्यटकीय आकर्षणको लालिमा छाउने छ भन्नेमा शङ्का भने हुने छैन !  

हो, धरहराले जब थाहा पाउनेछ, यही बिचमा आफू ठडिएको र  उँभिएको मुलुक भूपरिवेष्टित राष्ट्रको पीडा र हीनताबोधबाट मुक्ति पाएको र भूजडित राष्ट्र बनेको कुरा ! त्यसपछि सायद धरहराले उता दिल्लीको कुतुबमिनारसँग आँखामा आँखा जुधाइ सानसँग कुरा गर्ने छ र निर्भयसाथ शिर ठाडो पारेर बात मार्नेछ ।  मुलुकको मानचित्रबाट जब हराएको लिम्पियाधुरा र लिपुलेकलाई नेपाल आमाको लालपुर्जा प्राप्त भएको कुरा जब धरहराले पत्तो पाउने छ र सिहदरबारको कुर्सी गिराउन र हत्याउन उपचारको नाममा दिल्ली दौड गर्ने औषधीको डोजको असर कम हुँदै गएको कुरो धरहरालाई जब थाहा हुनेछ, त्यसपछि अग्लो भएर पनि होचो अनुभव गरिरहन नपर्ने भो भनेर दङ्ग पर्नेछ ।

यो धरहरा यस पल्टदेखि निधारमा हात राखेर लैनचौर दरबारतिर धपेडीसाथ धाउने र काठमाडौँको धरहराका लागि अन्कम्फर्टेबल र दिल्लीको कुतुबमिनारका लागि कम्फर्टेबल हुने गरी सरकार बदल्ने गौरवशाली नेताहरूको राष्ट्रवादी दौडपनि देख्न सक्ने गरी अब त पहिले भन्दा अलिक अग्लो बनेको पनि छ क्यारे ! यस मानेमा धरहराले दिउसो दिउसो राष्ट्रवादको हुङ्कार गरेर रातीराती दूतावासको दैलो चहार्नेहरूको राष्ट्रियताको आयव्यय विवरण समेत राख्ने हैसियत समेत प्राप्त गरेर उठ्नेछ क्यारे ! किनकि धरहराले गर्भमा रहँदा रहँदै थाहा पाइसकेको छ कि आज मुलुकले एउटा निर्भीक नेता पाउँदा मुलुकमा ढलेका संरचना कसरी जुरुक्क उठ्दा रहेछन् र भत्केका र जीर्ण आकाङ्क्षाहरूको कसरी उद्धार हुँदो रहेछ ! मूर्छित र मृत सपनाहरू कसरी विपना बनेर एक्कासि बौरिने रहेछन् !

गणतन्त्रको गजुरमाथि हिलो छ्यापेर आफूलाई सुकिलो देखाउन खोज्ने र खाँटी गणतन्त्रका मसिहा ठान्ने पाखण्डीहरूलाई पनि अग्लिएको धरहराले राम्ररी चिन्ने छ ! राष्ट्रपतिभवनमा कार्पेट फेर्दा पेटका आन्द्रा खुम्चिन्जेल कराउने र राष्ट्र प्रमुखका लागि राज्यका सवारीसाधन जोड्दा राष्ट्रपतिले निजी सम्पत्ति जोर्नु भएको हो कि झैँ गरी कोकोहोलो मच्चाउने केही मिडियाको स्याल हुइयाको सुइको पनि धरहराले थाहा पाउने छ । त्यसकै (बे)सुर र (बे)ताल मा सामाजिक सञ्जाल र केही मिडियालाई आफ्ना कुण्ठाको डम्पिङ साइट बनाउने केही खेतालाहरूको त्यतिबेलाको खेती जब धरहराले थाहा पाउनेछ, अनि त्यही आरोपित हेलिकप्टरले मृत्युको मुखमा पुगेकी मुगुकी सुत्केरीको उद्धार गरेको कुराको पनि पत्तो पाउने छ, त्यसपछि भने मुलुकको गणतन्त्रका ठेक्कापट्टाको लाइसेन्स आफूसँग छ भन्दै गणतन्त्रको गजुरमा कालो पोत्नेहरूको सक्कली  आवाज र रूप पनि धरहराले गतिलोसँग सुन्ने देख्ने र अनुभूत गर्ने नै त होला !

धरहरा जब ढलेको थियो, सिङ्गो मुलुकलाई प्राकृतिक विपत्तिको त्रास र आतङ्कका घेराबन्दीले घाइते बनाएका बेला त्यसैमाथि एउटा सदियौ देखिको छिमेकीले नाकाबन्दीको नुनचुक दलिदिँदा मुलुकमा ओइरिएको विपदाको चोट सहनै नसक्ने गरी चहर्याइरहेको थियो ! संविधान निर्माणको ककपिटमा बसेका एक बबुरा(म) पाइलटले उडान भर्न ठिक्क पारेको जहाजको साँचो लिएर जहाज उड्न नदिन जोरी खोज्दै बाउँठिएर बटारिँदै दक्षिणतिर हान्निएका थिए । अझै यसो भनौँ, जन्मनका लागि प्रसववेदनामा छटपटाइरहेको संविधानलाई सिजरिङ प्रक्रियाबाट नजन्माइ नहुने परिवेश कसरी बन्यो र यसको सर्जरी गरियो अनि त्यसका मूल सर्जन को थिए भन्ने कुरा पनि सायद संविधानले धरहरालाई सुनाउने छ र धरहरा झनै दङ्ग पर्नेछ क्यारे !

अब जब धरहरा उठ्ने छ र देख्ने छ, सिङ्गो मुलुकमा जागेको सपनाको लहर ! धरहराले भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका टावरसँग बात मार्दा ती स्थानमा उर्लेको विकासका जवानीको लहर सुनेर गदगद पनि हुने होला । एकैचोटि सबै स्थानीय निकायमा अस्पताल शिलान्यास गरेको कुरा र सबै १६५ निर्वाचन क्षेत्रमा कालोपत्रे सडक पुर्याउने कार्यको आक्रामक रूपमा  आरम्भ भएको कुरो जब धरहराले थाहा पाउनेछ तब दृढ अठोटसाथ कार्यक्षेत्रमा खट्ने नेताले देखाउने सपनाहरू केबल देखाउनका लागि मात्र होइन पूरा गर्नका लागि हुँदा रहेछन् भन्ने कुरा अनुभूत गर्नेछ  ।

र, अन्त्यमा विद्रोह कालमा मुलुकका संरचना भत्काएर राज्यलाई झन्झन् खोक्रो पार्दै  त्यसैको रोयल्टीस्वरूप व्यक्तिका निजी संरचना निर्माण गर्ने र निजी सम्पत्तिको मात्र चिन्ता र जोहो गर्नेहरूले आफ्नो हुँदा खाँदाको सम्पत्ति समेत ट्रस्ट बनाई राज्यका पोल्टामा हालिदिने व्यक्तिका सपना सल्काउन र कुण्ठाका पोके झिँजा जम्मा पारेर जलाउन खोजेको कुरो धरहराले जब थाहा पाउने छ; धरहरालाई कति पीडा हुने होला ! सुन्दर सपना पस्कने नेतालाई आफ्नै बारीका कुकाठहरू कुद्दै पारीका बन्चराका बिँड बनेर ढाल्न र सखापपार्न गत एक वर्षदेखि चलाएको विध्वंशको चर्तीकला पनि जब धरहराले सुन्ने छ, तब धरहराको हृदय कति छियाछिया होला !

अँ, जेसुकै भए पनि अब अग्लो धरहराले नेपाल र नेपालीको छातीमा नयाँ गौरवको धरहरा निर्माण गर्नेछ भने अर्कातिर  मेलम्ची नानीले मधुर मुस्कानसाथ उपत्यकावासीहरूका नसानसामा पानीको सञ्चार गर्ने छिन् !  हेन्डसम धरहरा र कञ्चन मेलम्ची नानीको पिरतीको यो सिञ्चनले सिङ्गो काठमाडौँ उपत्यका आप्लावित हुनेछ !   

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : ५४ बजे