सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूले प्रचार प्रसार गर्दैमा र राम्रो छ भन्दैमा खराबलाई असल भन्न सकिदैन् । खराब खराब नै हुन्छ । खराब सुध्रन चाहन्छ भने समय तालिका बनाएर सुध्रने मौका पनि दिनुपर्छ । त्यसैले राजनीतिमा लाग्ने मान्छेहरूले निश्चित प्रक्रिया र परीक्षण पूरा गरेर मात्रै नेतृत्वमा आउनुपर्छ । उठेका प्रश्नहरूको उत्तर दिन सक्नुपर्छ र शङ्काको निवारण गर्नुपर्छ । भ्रममा परेर जनमनोविज्ञान भड्किदा, “राजनीतिक, सामाजिक र शैक्षिक पृष्ठभूमि नभएको अनि विवादास्पद पात्रहरू आफूलाई असल देखाउन अनेक प्रयास गरिरहेका छन् ।” ती पात्र र प्रवृत्तिहरूको विरोध गर्दा र तिनको पृष्ठभूमि, चरित्र, नैतिकता र वैचारिक पक्षलाई लिएर प्रश्न उठाउँदा कसैको मन चसक्क हुन्छ भने होस् । तर खराबलाई खराब अनि असललाई असल नै भन्न सक्नुपर्छ ।
खराब पात्र र प्रवृत्तिलाई पार्टीको मुली र देशको मुख्य नेता मान्नु भनेको खराबलाई असल देख्नु हो । यो खालको हाम्रो चेतनाले भोलिका दिनमा हामीलाई नै धोका दिनेछ भन्ने चेत हामीमा अझै विकास भएको छैन । त्यसैले राजनीतिमा आएका पात्रहरूको पृष्ठभूमि स्वच्छ चरित्र र नैतिकता अनि वैचारिक ज्ञान छ कि छैन ? विवेचना गर्न सक्नुपर्छ । भ्रमित भिडको लहलहैमा लागेर खराबको पछि–पछि लाग्नु हुँदैन ।
जनता जसरी खराब पात्र र प्रवृत्तिलाई चिन्न नसकेर भ्रमित हुँदा त्यसले देशको राजनीतिलाई अस्थिर बनाउन उनीहरू भूमिका सहयोगी देखिँदै छ । जनताको विवेक र चेतनाले खराब र असल छुट्याउन सकिरहेको छैन । यो खालको भ्रमित जनमनोविज्ञानले लोकतन्त्रलाई संस्थागत गराउन र प्रगतिशील बनाउन असहयोग गरिरहन्छ । जनतालाई बुझाउनुपर्छ, अवसरवादलाई अघि लगाएर देशले खोजेको सामाजिक आर्थिक रूपान्तरण सम्भव छैन । यदि समय मै जनतालाई सचेत बनाउन सकिएन भने भोलिका दिनमा हामी खराब पात्र र प्रवृत्तिबाट शासित हुन बाध्य हुन पर्ने हुनसक्छ ।
हामीले खराबलाई खराब र असललाई असल भन्न नसक्दा आज राजनीति र नेतृत्वप्रति वितृष्णा बढेको छ । यसको मुख्य कारण राजनैतिक तथा संवैधानिक परिवर्तनले बढाएको जनअपेक्षा सम्बोधन हुन नसक्नु नै हो । हामीले बुझ्नुपर्ने हो, राजनैतिक तथा संवैधानिक परिवर्तनले बढाएको जनअपेक्षा सम्बोधन गर्ने मुख्य माध्यम शिक्षा नै हो । तर हाम्रो शिक्षा त्यो उद्देश्य पूरा गर्ने दृष्टिकोणबाट विकास गर्न सकिएको छैन । जसका कारणले एकातिर जनतामा वितृष्णा बढ्दै छ, अर्कातिर विचारहीन अवसरवादी राजनीति अनि चरित्र र नैतिकहीन पात्रले आफूलाई राम्रो नेता हुँ भन्दै छ ।
नेतृत्वको नियत, चरित्र र चिन्तन अनि उसले लिने नीति र गर्ने अभ्यासबीच तालमेल नमिल्दा विवाद बढ्छ । नेतृत्वमा पुगेपछि उनीहरूमा त्यसको मर्यादामा बसेर जिम्मेवारी पूरा गर्ने, नीति र कानुनहरू ठिक छैनन् भने ठिक बनाउने अनि सो अनुसार व्यवहार गर्न सक्ने क्षमता पनि हुनुपर्छ । स्वछन्द भएर अराजक हुने छुट कुनै जनप्रतिनिधि र नेतृत्वलाई छैन । जनप्रतिनिधि र नेतृत्वहरूले बुझ्नुपर्छ, “राम्रो काम गर्न पनि राम्रो नियत र नीति भएको नेतृत्व हुनुपर्छ । अराजक र स्वछन्द नेतृत्वले लिने नीति सधैँ विवादित र विनाशमुखी हुन्छ किनभने उसको नियत ठिक हुँदैन ।”
अहिले राजनीतिमा आएका पात्रहरूमा बढ्दो स्वछन्दता र अराजकता पछाडि धेरै कारणहरू छन् । पहिलो मुख्य कारण खराब शिक्षा र सामाजिक व्यवस्था नै हो । दोस्रो कारण माओवादीको हिंसात्मक गतिविधिले विकास गरेको जबरजस्ती मनोविज्ञान हो । तेस्रो कारण शिक्षा तथा समाजमा बढ्दो पश्चिमाकरण हो । चौथो कारण शासकीय स्वरूपअनुसारको राज्य सञ्चालन प्रभावकारी बन्न नसक्नु नै हो । पाँचौँँ कारण नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन र परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माझण्डहरूले खेलेको खलनायकी भूमिकालाई लिन सकिन्छ । यी पाँच कारणहरूले गर्दा आज हाम्रो समाजमा विकृति र वितृष्णासहित स्वछन्दता र अराजकता बढ्दै छ । त्यसको पछिल्लो ज्वलन्त प्रमाण धरानका मेयर हर्क साम्पाङले टिभी वार्तामा प्रयोग गरेको भाषा र शब्दलाई लिन सकिन्छ । साम्पाङ भन्छन्, “म आगो हुँ, मलाई जिस्काउने काम नहोस् । म जसको पनि राजनैतिक, सामाजिक र नैतिक जीवन ध्वस्त बनाई दिन सक्छु ।” यो खालको धम्कीपूर्ण अराजक अभिव्यक्तिका पछाडि उनमा पलाएको छाडापन र अहमता नै हो । आफ्नो पदीय मर्यादा र जिम्मेवारी नबुझ्ने यस्ता पात्रहरूबाट न सुसंस्कृत समाज बन्न सकिन्छ न त भोलिका दिनमा सुशासन नै कायम हुनसक्छ ।
आज स्वछन्द र अराजक भएर हिँडेका पात्रहरूको राजनीतिक गन्तव्य लोकतान्त्रिक गणतन्त्र नै बलियो बनाएर समृद्ध नेपाल बनाउने होइन । बरु जनतामा बढेको असन्तुष्टिलाई प्रयोग गरेर परिस्थितिलाई अन्योलपूर्ण र अराजक बनाउने हो । यसको पछाडिको उद्देश्य र गन्तव्य अझै स्पष्ट भएको छैन किनभने लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्दा जनसमर्थन नआउने भएर उनीहरूले सिधै गणतन्त्रको विरोध गर्न सकिरहेका छैनन् । उनीलाई व्याकअप कुन शक्तिले कसरी गरिरहेको छ, खुलेको छैन । त्यसैले हामीले बुझ्नुपर्छ, नेपालमा माओवादी मोडलको हिंसा र ध्वंसले अपेक्षित गतिमा काम नगर्ने भएपछि दक्षिण पश्चिमले अहिले राजनीतिमा अफगानिस्तान ढाँचाको राजनीति र राजनीतिक नेतृत्वको प्रवेश गराएर स्थापित गराउन खोजिरहेको छ ।
यसर्थ हामीले बुझ्नु र जनतालाई बुझाउन सक्नुपर्छ, जसरी पिउने पानी मूलको र विवाहका लागि बरबधु कुलको चाहिन्छ, त्यसरी नै समृद्ध देश बनाउन राजनीति चाहिँ वैचारिक शूलको नै हुनुपर्छ । अन्यथा पानी पिउन योग्य हुँदैन, विवाह सम्बन्ध बन्दैन अनि राजनीतिले जनताको अपेक्षा, देशको आकाङ्क्षा र सङ्कल्प पूरा गर्न सक्दैन। यति सामान्य पक्ष जनतालाई बुझाउन नसक्दा विचारहिन राजनीति अनि चरित्र र नैतिकहिन पात्रले आफूलाई सर्वश्रेष्ठ नेता ठान्दै छ । तर तिनले बुझुन, अराजक र स्वछन्द भएर अनि जनतालाई भ्रमित बनाउँदै भावनात्मक रूपमा भड्काएर न देशमा राजनैतिक तथा संवैधानिक स्थिरता कायम गर्न सकिन्छ न त नीति र विधिका साथ देश समृद्ध बनाउन नै सकिन्छ ।
राजनीतिमा सधैँ विचार प्रधान हुन्छ । राजनीतिक विचारहरूमा सबभन्दा बढी लोकतान्त्रिक र प्रगतिशील विचारले मात्रै राजनीति र देशलाई ठिक बाटोबाट अपेक्षित गन्तव्यतर्फको यात्रालाई सफल बनाउन सक्छ । यति बेला नेपालको राजनीतिमा लोकतान्त्रिक र प्रगतिशील विचारको प्रतिनिधित्व जनताको बहुदलीय जनवाद जबजले गर्न सक्छ किनभने नेपालको सन्दर्भमा जबज नै सर्वोकृष्ट राजनीतिक विचार हो । यो विचारलाई स्व. जननेता मदन भण्डारीले झैँ गरी प्रभावकारी रूपमा व्यवहारमा उतार्ने वैचारिक नेतृत्वको अभावमा यसलाई मार्गदर्शक सिद्धान्त बनाएर नेकपा एमालेले अपेक्षित गतिमा काम गर्न सकिरहेको छैन । जसका कारणले जबजले अर्को एउटा धक्का व्यहोर्नु पर्ने हुनसक्छ किनभने विचारहिन अवसरवादी कम्फर्टेबल सत्ता गठबन्धन र भ्रमपूर्ण लोकप्रियतावादी राजनीतिका कारणले जनतामा अन्यौलता र निराशा बढेको अवस्था छ ।
जहाँ आशा हुन्छ, त्यहाँ आक्रोश पनि हुन्छ । यसलाई अस्वाभाविक रूपमा विश्लेषण गर्नु आवश्यक छैन किनभने आसा भएको ठाउँमा प्रश्न पनि हुन्छ । त्यसैले नैतिक पुँजीका साथ सामाजिक अपिल गर्ने क्षमता जनवादीहरूले देखाउन सक्नुपर्छ ।
हामीले बुझ्नुपर्छ, जहाँ भोलि ठुलो आशा लिएर आउँछ, त्यहाँ स्थिरता र दिगोपनाको उच्च सम्भावना हुन्छ । गुणस्तरीय शिक्षाले मात्र यो आशा र सम्भावना ल्याउन सक्छ । त्यसैले हामी नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न तयार हुनुपर्छ अन्यथा हामी नेपाली फेरि कहिल्यै उठ्न सक्ने छैनौँ । यसर्थ आजको मुख्य चुनौती हाम्रो सामाजिक मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउने नै हो। राजनीतिक रूपमा प्रशिक्षित गरेर मात्रै जनमनोविज्ञानलाई सकारात्मक र रचनात्मक बनाउन सकिदैन् । यसका लागि नयाँ शिक्षा व्यवस्थासँगै जबजको राजनीतिक सोचबाट जनतालाई प्रशिक्षित गर्नुपर्नेछ । यो प्रशिक्षणले औपचारिक तथा अनौपचारिक माध्यमहरू मार्फत जनतामा ठिक राजनैतिक चेतको विकास गर्न सक्छ ।
आज देशको राजनीतिमा देखिएको राजनीतिक सङ्कटको आधार भ्रममा परेर भावनात्मक रूपमा भड्किएको जनमनोविज्ञान र राजनीतिक नेतृत्वमा बढ्दो वैचारिक अल्पज्ञान नै हो। उदाहरणको रूपमा नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको अभिव्यक्तिलाई लिन सकिन्छ । भण्डारीले नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा भनेका थिए, “नेपालका कम्न्युनिष्टहरूसँग प्रतिस्पर्धा गर्नु राजासँग लड्नुभन्दा कठिन हो भन्ने कुरा काँग्रेसले बुझ्नुपर्छ ।” तर तिनै चन्द्र भण्डारी र उनको पार्टी नेपाली काँग्रेसले नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा कायम राखेर नेकपा एमालेलाई कमजोर बनाउन कम्फर्टेबल गठबन्धनमा रमाएको छ ।
सामाजिक–आर्थिक, भाषिक–सांस्कृतिक र जातीय–क्षेत्रीय आधारमा विभेद महसुस गरेका जनतालाई ती विभेदबाट मुक्त गराउन एकै पटक बहुपक्षीय सकारात्मक हस्तक्षेप बढाउनुपर्ने बेला भएको छ । विभेदका कारणहरू हामीलाई थाहा छ । तर त्यो विभेदले बनेको नकारात्मक मनोविज्ञानलाई सकारात्मक र रचनात्मक बनाउन आजको भोलि नै सम्भव छैन किनभने त्यो हाम्रो चेतनामा जड बनेर बसेको छ । त्यसैले राजनीतिक क्षेत्रमा जबजले लामो राजनीतिक यात्रा तय गर्नु पर्नेछ । भोलिका दिनमा सत्ताभित्र र बाहिरबाट हस्तक्षेपहरू बढाउनुपर्ने वास्तविकतालाई स्वीकारेर रणनीति बनाएर गतिविधिहरू अघि बढाउनुपर्नेछ ।
जजवादीहरूले आजको वास्तविकता र भोलिको आवश्यकताहरूलाई ठिक ढङ्गले बुझेर आफ्ना आनीबानी र व्यवहारलाई परिष्कृत गर्ने क्षमता देखाउनु पर्छ किनभने आचरण हेरेर जनताले समर्थन र विरोध गर्छन् । पछिल्लो समय दलभित्र अस्वाभाविक रूपमा विकास भएको बुर्जुवा दक्षिणपन्थी प्रवृत्ति अर्थात् स्वभाव र आचरणबाट मुक्त हुनुपर्छ । नेतृत्वदेखि लिएर कार्यकर्ताहरूले आफूलाई प्रगतिशील सोच र लोकतान्त्रिक चरित्रअनुसार परिचालित गर्ने योग्यता व्यवहार र अभ्यासहरूबाट देखाउनु पर्नेछ । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’ भने झैँ माझण्डहरूले विगतमा गरेका व्यवहारका कारणले जनताले जबजप्रति पनि पूर्ण विश्वस्त हुन सकिरहेका छैनन् । यो अविश्वासको चरणबाट जनतालाई विश्वासको चरणमा प्रवेश गराउन पनि नेता तथा कार्यकर्ताहरूको आचरण अनुकरणीय हुनै पर्छ ।
प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार ८ : २४ बजे
प्रतिक्रिया