यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

‘सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गरिरहेका कारण मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको छ’

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान १० दलीय गठबन्धन सरकारले नेपालमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने एजेन्टका रूपमा काम गरिरहेको बताउनुभएको छ ।

महासचिव पोखरेलले सरकारले देशमा उद्यमशीलताको विकास, राष्ट्रिय पुँजीको विकास र प्रवर्द्धन तथा देश र जनताको हित र कल्याणको काम गर्छ भन्ने कुरामा आशा गर्न नसकिने बताउनुभयो । 

नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले गठबन्धन सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गरिरहेका कारण मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउनुभयो ।

गठबन्धन सरकारले ल्याएका दुई वटा बजेटमा निश्चित घरानाका व्यापारीलाई फाइदा पुग्ने गरी उनीहरूकै संलग्नतामा करका दर हेरफेर गरिएको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले मुलुकले झेलिरहेको आर्थिक मन्दीका कारण अहिले व्यापार, व्यवसाय, उद्योग, कलकारखाना बन्द हुने क्रममा रहेको बताउनुभयो। 

''मुलुकले आर्थिक सङ्कट भोगिरहेको छ तर यही अवधि अर्थात् एक वर्षमा एक जना व्यापारीको सम्पत्ति चालीस अर्ब रुपियाँले बढेको छ'', उहाँले भन्नुभयो । महासचिव पोखरेलले गठबन्धन सरकारका कारण मुलुक इतिहासकै सबैभन्दा सङ्कटको अवस्थामा पुगिरहेको बताउनुभयो । 

सर्वोच्च अदालतले परमादेश जारी गरेबाट मुलुकको राजनीतिक अवस्था कमजोर हुँदै गएको र संसद्, सरकार र न्यायालयमाथि जनताको भरोसा हराउँदै गएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– ''आज नेपाल राष्ट्र इतिहासकै असाधारण सङ्कट र कमजोर अवस्थामा रहेको छ । राज्य कमजोर हुँदा जनताका अपेक्षा पूरा गर्न सकिँदैन ।'' 

''कतिपय मानिसले आज मुलुकमा जुन प्रकारका सङ्कटहरू उत्पन्न भएका छन् ती सङ्कटलाई आधार बनाएर, अहिलेको सरकारका असफलतासँग नेकपा (एमाले)लाई जोडेर विश्लेषण गर्ने गरेका र पुराना पार्टीको विकल्प नयाँ भन्ने गरेका छन्'', भन्नुहुँदै महासचिव पोखरेलले अहिलेको सङ्कटमा गठबन्धन सरकार जिम्मेवार रहेको भनाइ राख्नुभयो ।  

उहाँले भन्नुभयो– ''एमाले सरकारमा रहेको समयमा मुलुकको सामाजिक, आर्थिक स्थिति अनुकूल अवस्थामा थियो । मुलुक आर्थिक रूपमा अत्यन्त सबल अवस्थामा थियो । सबै आर्थिक परिसूचक सुदृढ अवस्थामा थिए । जब एमाले सरकारबाट बाहिरियो, देशको अर्थतन्त्र कमजोर बन्दै गयो । एमाले सरकारमा हुँदा अर्थतन्त्र बलियो हुने, बाहिरिँदा कमजोर हुने, यो दुःखको कुरा हो ।'' 

महासचिव पोखरेलले गठबन्धन सरकारका कारण नेपाल अहिले एसियाका सबभन्दा कमजोर राष्ट्रहरूमध्येमा परेको छ भन्नुभयो ।

गत मङ्सिरमा सम्पन्न संसद् निर्वाचनको समीक्षात्मक चर्चा गर्दै महासचिव पोखरेलले राजधानी रहेको काठमाडौँमा निर्वाचन परिणाम निराशाजनक रहेको र एक प्रकारले भन्दा बाग्मती प्रदेशको निर्वाचन परिणामका कारण एमाले काँग्रेसभन्दा पछाडि परेको बताउनुभयो ।  

महासचिव पोखरेलले पार्टीले समग्र कामलाई मिसन–२०८४ केन्द्रित गरेको बताउँदै बाग्मती प्रदेश र राजधानी काठमाडौँको पार्टी कामलाई व्यवस्थित गर्ने कुरालाई अत्यन्त गम्भीरताका साथ लिनुपर्छ भन्नुभयो ।  

''नेकपा (एमाले) विरुद्धको घेराबन्दी पार्टीको कमजोरीका कारण नभई देश र जनताका पक्षमा काम गरेका कारण भएको हो भन्ने कुरा हामीले बुझ्नुपर्छ'', उहाँले भन्नुभयो– ''आफ्नो भविष्यका बारेमा चिन्ता गरिरहेका शक्तिहरूले आफ्नो सुरक्षाका लागि एमालेका विरुद्धमा घेराबन्दी गरेका हुन् ।'' 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : ०७ बजे