सुनको मूल्यमा नयाँ कीर्तिमान

थाइल्याण्डमा पटका कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु

बैंकक । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा ११५ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

यस विस्फोटका सम्बन्धमा सहरका गभर्नर सानन पोंगाक्सर्नले सञ्चारमाध्यमलाई ११५ जना घाइते भएको र धेरैको अवस्था गम्भीर रहेको जनाउनुभयो । सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

दुर्घटना स्थलमा राहत र उद्धार कार्य जारी छ । थप जानकारी दिँदै उहाँले विस्फोटका कारण बजारमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताउनुभयो ।

विस्फोटका सम्बन्धमा गभर्नरले प्रारम्भिक अनुसन्धानका अनुसार पटका कारखानामा स्टिल वेल्डिङका क्रममा आगलागी भएपछि विस्फोट भएको हो ।

विस्फोटबाट धेरै पसल, घर र सवारी साधनमा नराम्ररी क्षति पुगेको छ । सो विस्फोटसँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा धुवाँको मुस्लो उठेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : १९ बजे