यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सरकारकै मिलेमतोमा सुन तस्करी : अध्यक्ष ओली

नेपालगन्ज ।  नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टबाट एक क्विन्टल सुन भित्रन सम्भव नभएको बताउनुभएको छ  । बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलाको सम्बोधन गर्दै शनिबार अध्यक्ष ओलीले सत्ताधारी दलले देश लुटिरहेको बताउनुभयो ।  ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ,’ओलीले भन्नुभयो, ‘त्यहाँका मान्छे, मेसिन सुतेका बेला त्यो सुन भित्रिएको हो र ?’ 

ओलीले सुनकाण्डमा नाम जोडिएका माओवादी केन्द्रका नेता कृष्ण महारा लगायतको नाम नलिई सरकार आफ्ना मान्छेहरु ( सत्ताधारीहरु) लाई बचाउन लागेको बताउनुभयो । ‘सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने काम सत्ताधारीहरुले गरिरहेका छन्’ ओलीको भनाई थियो ।  अध्यक्ष ओलीले विमानस्थलबाट क्विन्टल बढी सुन भित्राउने प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतोको आशंका गर्नुभयाे । उहाँले  गठबन्धनका नाममा सत्तारुढ दलले कुनै पनि सार्थक काम गर्न नसकेको बताउनुभयो । ओलीले अहिलेको गठबन्धन सरकारलाई गन्तब्य विनाको यात्रीको संज्ञा दिनुभयाे। ‘अहिलेको सरकारको न कुनै गन्तब्य छ, न त के काम गर्ने नीति र उद्देश्य छ,’ उहाँले भन्नुभयाे, ‘यो सरकार मिलिजुली, बाँडिचुडी खानको लागि बनेको हो। यो सरकारबाट कुनै आशा गर्नुको कुनै अर्थ छैन।’

 अध्यक्ष ओलीले बेथिती, भ्रष्टाचार बढेकोले देशमा एमालेको विकल्प नभएको बताउनुभयाे । 'गठबन्धनका नाममा सबेले मिलीजुली देशलाई लुट्ने काम भइरहेको छ । अब एमालेको विकल्प छैन,’ अध्यक्ष ओलीले भन्नुभयाे।

कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष ओलीले लुम्बिनी प्रदेश भरीका एमालेको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई योजनाबद्व तरिकाले जनतामुखी समाजसेवामा खट्न अनुरोध गर्नु भयाे । एमालेका जनप्रतिनिधिले गलत कामकाे सिफारिस गर्न नहुने बताउनुभयेा । उहाँले आफु बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हाे भन्ने कुरा ख्याल गर्न जनप्रतिनिधि लाई अनुराेध गर्नुभयाे । अध्यक्ष ओलीले संस्थाको हितमा काम गरेर बेरूजु नलाग्ने गरि काम गर्नसमेत आग्रह गर्नुभयाे । एमाले पार्टीको मिसन ८४ लाई कसरी सफल बनाउने तिर ध्यान दिन उहाँले सबै तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भयाे । अध्यक्ष ओलीले कुनैपनि काम गर्दा सबै प्रक्रिया पुगेको छ या छैन भन्ने बारे बेरूजु, अनियमितता समेत ख्याल गरि सतर्क रहन सुझाव दिनुभयो । २ दिन चल्ने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका तीनै तहका जनप्रतिनिधिहरुको सहभागिता छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : ४९ बजे