‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इटलीमा गरिएको पुरातात्त्विक उत्खननमा भेटियो नागको चित्र

​​​​​​​पोम्पेई, दक्षिण इटली । नागका आकृतिहरू भएको पूजाकोठा, एउटा बेकरी, केही नरकङ्काल, आकर्षक भित्तेचित्रहरू अनि पिज्जाजस्तै देखिने एउटा चित्र। यी वस्तुहरू पोम्पेईस्थित पुरातात्त्विक उद्यानमा हालै उत्खनन गर्दा फेला परेका सामग्रीको सूचीमा छन्।

सन् ७९ मा भेसूभिअस पर्वतस्थित ज्वालामुखी विस्फोटन हुँदा ध्वस्त भएको यो प्राचीन नगरमा जहाँ खने पनि यस्तै खजाना भेटिन्छ। यी प्राचीन रोमन सभ्यताका अवशेषहरू हुन्।

ज्वालामुखीको खरानी र लाभाबाट बनेको पमिस पत्थरमुनि पुरिएको यो नगरको एकतिहाइ भाग अझै उत्खनन हुन बाँकी भएको थाहा पाउँदा अचम्म लाग्न सक्छ।

"त्यो धेरै काम अब भावी पुस्ताका लागि हो," ताजा उत्खनन कार्यका एक सहप्रमुख आलेसान्द्रो रुसोले बताए।

"हामीले जेजति भेट्यौँ त्यसको संरक्षण गर्न हामीलाई समस्या छ। भावी पुस्तासँग नयाँ उपाय वा नयाँ प्रविधि उपलब्ध हुनसक्छ।"

अहिले उत्खनन गर्न थालिएको नयाँ क्षेत्र उक्त उद्यानमा यसअघि १९औँ शताब्दीको अन्त्यतिर खोज गरिएको भेगमा पर्छ।

त्यतिबेला पुरातत्त्वविद्हरूले पोम्पेई नगरस्थित मुख्य गल्लीमध्येको 'भिया डी नोला'का घरका अग्रभागहरू उत्खनन गरेका थिए। तर त्योभन्दा धेरै हुन सकेन।

उनीहरूले त्यतिखेर त्यहाँ रहेको एउटा लुगा धुने ठाउँ पहिचान गरेका थिए।

अहिले उत्खननकर्ताहरूले बिस्तारै ज्वालामुखीबाट निस्किएको खरानी अनि केराउको गेडाजत्रा लापिली भन्ने ढुङ्गाहरू पन्छाउन थालेका छन्।

भेसूभिअस विस्फोटनका ती दुई विनाशकारी दिनमा पोम्पेई यिनै खरानी तथा लापिलीले पुरिएको थियो।

उत्खनन भइरहेको क्षेत्र नगरको एउटा ब्लकजत्रो छ। त्यसलाई इन्सुला भनिन्छ र ती झन्डै ३,००० वर्गमिटर आकारका छन्।

बीबीसीबाट

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : २१ बजे