तीन प्रदेशमा वर्षाको सम्भावना

शान्ति र न्यायिक विश्व व्यवस्थाको कायम गर्न माग गर्दै एसिया प्यासिफिक लयर्सको सम्मेलन सम्पन्न

​​​​​​​काठमाडौँ ।  कन्फेडेशन अफ लयर्स अफ एसिया एण्ड द प्यासिफिक (कोल्याप) द्वारा यस क्षेत्रको शान्ति र वैदेशिक सैन्य शिविर तथा हस्तक्षेपका विरुद्ध घोषण पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको छ । 

एसिया प्रशान्त क्षेत्रका प्रगतिशील तथा जनपक्षीय कानुन व्यवसायीहरूको सङ्गठन कन्फेडेशन अफ लयर्स अफ एसिया एण्ड द प्यासिफिक (कोल्याप)को आयोजना तथा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पिपिएलए) को सह आयोजनामा सम्पन्न उक्त सम्मेलनमा सात राष्ट्रका ६० भन्दा बढी कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो । 

उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा बढ्दो सैन्य तनाव, शक्ति राष्ट्रहरूको सामरिक प्रतिस्पर्धा तथा लोकतन्त्र, देशहरूको स्वाधीन सम्प्रभुता र आम मानिसहरूले भोग्नु परि रहेको गरिबी, द्वन्द्व र अन्याय प्रति चिन्ता व्यक्ति गर्दै लोकतन्त्रको सबलीकरण, स्वतन्त्र, स्वाधीन, राष्ट्रिय सम्प्रभुताको प्रवर्द्धन, वैदेशिक सैन्य शिविर तथा हस्तक्षेपको अन्त्य, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको प्रवर्द्धन, असंलग्नताको सिद्धान्तकोको पालना, शान्तिपूर्ण संवाद तथा बहुपक्षीय मञ्च र संयुक्त राष्ट्रसंघबाट प्रतिपादित अन्तर्राष्ट्रिय कानुन र सिद्धान्तहरूको आधारमा आपसी विवादहरूको समाधान गर्न यस क्षेत्रका सरकारलाई आव्हान गरेको छ । 

एसिया प्रशान्त क्षेत्रमा अवैधानिक सैन्य विस्तार गर्न, देशहरू बीचका विवादमा अवान्चित वैदेशिक हस्तक्षेप र प्रभावित नगर्नुका साथै सम्बन्धित देशहरूको आन्तरिक नीति र मामलामा स्वतन्त्र निर्णय गर्न पाउने अधिकारको सम्मान गर्न शक्ति राष्ट्रहरूलाई यो सम्मेलनले आह्वान समेत गरेको छ । 

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुभाष चन्द्र नेवाङ्गले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालको शान्ति प्रक्रिया तथा एसिया प्रशान्त क्षेत्रमा शान्ति र द्वन्द्व समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, भियतनाम, इन्डोनेसिया, जापान, दक्षिण कोरिया र फिलिपिन्सका प्रतिनिधिहरूले एसिया प्रशान्त क्षेत्रमा शान्ति र द्वन्द्व व्यवस्थापनका विषयमा प्रस्तुति गर्नुभएको थियो । 

कार्यक्रममा नेपालको तर्फबाट पिपिएलका अध्यक्ष भोजराज आचार्य, वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराई, अधिवक्ता घनेन्द्र बहादुर श्रेष्ठ, कोल्यापका सचिव मिलन धरेल, अधिवक्ता घनेन्द्र बहादुर श्रेष्ठ, भक्ति घिमिरे र गरिमा ढुङ्गानाले नेपालको तर्फबाट विचार व्यक्त गर्नुभएको थियो । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ४५ बजे