‘नेशनल डे कन्सर्ट’ सम्पन्न

समानान्तर कमिटीको गठन एमाले विभाजनको ऐँठन

मिसन विभाजन बनाएर फर्किएकाहरूले एकता रोज्छन् भनेर सोच्नु मूर्खता नै हो । बुर्जुवा मिडियामा खुसीको लहर देखिन थालेको छ । ति बुर्जुवा मिडियाहरूले नेकपा (एमाले) मा विभाजन ल्याउन क्रियाशील हुन चाहनेहरूको राजनीति बलियो हुनेगरी समाचार बनाउँछन, आलेखहरू संप्रेषण गर्छन् र त्यस्ता वार्ताहरूलाई प्राथमिक रूपमा प्रसारण गरेर भ्रम छर्ने प्रयास गरिरहेका छन् । जननेता मदन भण्डारीको “जनताको बहुदलीय जनवाद” (जबज) द्वारा प्रशिक्षित कार्यकर्ता तथा नेताहरूलाई भ्रमित बनाएर विभाजन लाग्न उत्पेरित गरिदैछ।

बुर्जुवा मिडियाहरूको तत्कालिक लक्ष्य बलियो नेकपा (एमाले) मा विभाजन ल्याएर भोलि हुने निर्वाचनमा बुर्जुवा दल र त्यसका उम्मेदवारहरूलाई जिताउने आधार तयार गर्नु नै हो। “विभाजन र शासन नीति” बमोजिम हिजो नेकपालाई त आज नेकपा (एमाले) लाई विभाजन गर्न र कमजोर पार्न केपी ओलीका विरूद्ध माझण्ड समुह बनाएर राजनीति गर्न लगानी भइरहेको छ। जसको प्रत्यक्ष नेतृत्व अहिले नेकपा (एमाले) भित्रबाट माधव कुमार नेपालले गर्दैछन्। बाहिरबाट प्रचण्डले माझलाई  उक्साउने काम गर्दैछन् । त्यहिअनुरूप प्रचण्डले माधवसँग आफ्नो गाढा प्रेम भएको त्यो अदालतले तोड्न खोजेको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्।

कम्न्युनिष्ट आन्दोलन एकिकृत र बलियो बन्न नदिने सबैखाले प्रयासहरूलाई असफल बनाउनै होभने कम्न्युनिष्टको रातो खास्टो ओढेर कम्न्युनिष्टको विरूद्धमा लागेका मुख्य नेताहरूलाई चिनेर तिनको भण्डाफोर गर्न सक्नुपर्छ । त्यस्ता नेताहरूले ओढेका खास्टो हटाएर तिनका असली अनुहार जनतालाई चिनाउनु नै पर्छ । कम्न्युनिष्ट पार्टीभित्र मात्र होइन अन्य पार्टीहरूमा पनि त्यस्ता खलनायकहरू नभएका होइनन् । तर यतिखेर राज्य सत्ताको नेतृत्व कम्न्युनिष्ट पार्टीले गरेको हुँदा त्यसका नेताहरुको बारेमा बढी चर्चा भएको मात्र हो । यदि राजनीतिक आन्दोलनलाई परिस्कृत, एकिकृत र बलियो बनाउने नै होभने वैचारिक रूपमा स्पष्ट हुँदै पुस्तान्तरण र नेतृत्व हस्तान्तरण गर्ने ठीक विधि स्थापित गर्नैपर्छ ।

आयु पुगेका, वैचारिक रूपमा स्खलित र व्यावहारिक रूपमा विवादित पक्षलाई अघि लगाएर कम्न्युनिष्ट आन्दोलन सुदृढ र बलियो बनाउन सकिंदैन् । त्यस्ता पात्रहरूको पहिचान गरेर तिनलाई राजनीतिक रूपमा सक्रिय हुन नदिन सबै होसियार हुँदै दास बन्ने बनाउने मनोभावनाबाट मूक्त हुनुपर्छ । त्यसैले कम्न्युनिष्ट आन्दोलनमा लागेका सबै सक्रिय कार्यकर्ता तथा शुभचिन्तकहरूले दासत्व त्यागेर पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको राजनैतिक तथा वैधानिक माहोल तयार गर्न क्रियाशील हुनुपर्छ । नेकपा (एमाले) को हकमा यो प्रक्रिया अनिवार्य भइसकेको छ।

नेकपा हुँदै नेकपा (एमाले) मा सरेको विवाद र विभाजनको प्रयासले केही मुख्य नेताहरूको नियत र निष्ठा चिन्ने र चिनाउने मौका मिलेको छ। त्यसैलै सकिन्छ तिनिहरूलाई वैचारिक र व्यावहारिक रूपमा सुध्रने अवसर र समय दिने अनि सुध्रिएनन् भने आन्दोलनबाट बाहिर पठाउनै पर्छ। किनभने यी पात्रहरूले भोलिका दिनमा कम्न्युनिष्ट आन्दोलनलाई अझ विकृत बनाउने भूमिका खेल्न सक्छन्। अहिले कम्न्युनिष्ट आन्दोलन खासगरी नेकपा (एमाले) भित्र देखिएको विग्रहको अवस्था असफल बनाउने होभने पछिल्लो पुस्ताले दासत्व त्याग्ने र जबजलाई बोक्ने आँट गर्नुपर्छ । यो खालको स्थिति बन्योभने कुनैपनि नेताले चाहेर पार्टीमा विभाजन ल्याउने हर्कत गर्न सक्दैनन् । तर आजसम्मको क्रियाकलापहरूले पछिल्लो पुस्ताको नेतृत्वमा त्यो आँट, सुझबुझ र त्याग देखिएन । जसले गर्दा अघिल्लो पुस्ताले आफ्नो विकल्पमा पछिल्लो पुस्ता आउँदैछभनेर चुनौति देखेन वा देख्ने कष्ट गर्नै परेन।

सिंहदरबार त भत्काएर नयाँ बनाउने होइन भनेर त्यसलाई प्रबलीकरण गरेर नयाँ उस्तै रूपमा बलियो बनाउन खोज्दैछौं भने आज समानान्तर कमिटी गठन गरेर पार्टी फुटाएर नयाँ पार्टी बनाउने आत्मघाती राजनीति किन, कसको उक्साहट र स्वार्थमा गरिदैंछ । विभाजनले शक्ति होइन क्षति हुन्छभन्ने ज्ञान तिनमा किन आउँदैन ?’

अहिले माधव कुमार नेपाल नेकपा (एमाले) फुटाएर नयाँ पार्टी बनाउन जसरी लागि परेका छन्, यसले माधवहरूको राजनीति त सकिन्छ नै । यससँगसँगै नेपालमा प्रगतिशील लोकतान्त्रिक धारको राजनीति पनि कमजोर हुनेछ । आज माधवलाई साथ दिनेहरूले आफ्नो राजनीतिक भविष्य धरापमा पार्दैछन्, किन ? माधव, झलनाथ उमेरका पुस्ताहरूको राजनीतिक जीवन उत्तरार्धमा छ, दुईचार वर्षपछि उमेरका हिसाबले राजनीतिमा सक्रिय हुने अवस्था छैन् । त्यस्तै केपी ओली पनि उमेर र स्वास्थ्यका हिसाबले राजनीतिमा लामो समय सक्रिय हुने स्थिति छैन् । त्यसपछि त पछिल्लो पुस्ताले नै हो पार्टीको नेतृत्व गरेर अघि बढ्ने । तर आज पार्टी विभाजनमा बल पुग्ने गरी घनश्याम, योगश, गोकर्णहरू किन हौसिएर समानान्तर कमिटी गठनमा रमाउँदैछन् ? अहिले केपी ओलीलाई जसरी पार्टी र राज्य सत्ताको नेतृत्वबाट हटाउने प्रयास गरिदैछ, त्यसको राजनीतिक फाईदा वामपन्थी विरोधी राजनीतिक दलहरूलाई भइरहेको छ । त्यतिमात्र होइन, यस्ता क्रियाकलापहरूले वामपन्थी राजनीतिमात्र कमजोर बनाउँदै छैन पछिल्लो पुस्ताको राजनीतिक भविष्यसँगै देशलाई पनि संकटमा पार्दैछ।

माधव, झलनाथ र ओलीको निष्ठा र नियतमाथि विश्लेषण गर्दा माधव र झलनाथको तुलनामा ओली बढी व्यावहारिक, ईमानदार र निष्ठावान देखिए किनभने ओलीको बोलीमा एकरूपता थियो र छ । केपी ओलीले निरन्तर भन्दै आए, पार्टी सत्ताको नेतृत्व लिन महाधिवेशन त राज्य सत्ताको नेतृत्व लिन आगामी निर्वाचन कुर्नुहोस् । म महाधिवेशनमा नेतृत्वको दावा गर्दिन र आगामी निर्वाचनमा उम्मेदवार बन्दिन । तर त्यो कुरालाई हिजो नेकपा हुँदा प्रचण्डसँग मिलेर माधव र झलनाथले मानेनन् आज परिस्थिति बदलिएपछि ओलीलाई आफ्नो अडान छोड्न कार्यकर्ताहरूले दबाव दिन थाल्दा पार्टी सत्तामा फेरि पनि केपी ओली नै पुग्ने अवस्था बन्यो । यो स्थिति कति फलदायी हुने हो थाहा पाउन प्रतिक्षा नै गर्नु पर्ला ।

पत्रकार भुषण दाहाल भन्छन्, ‘आखिर चुनाव हुन्छ नै तर चुनावमा जाने र जीत सुनिश्चित हुने परिदृश्य अगाडि नहुञ्जेल समर्थन फिर्ता कसरी गर्ला माओवादीले, काङ्ग्रेसको अङ्कगणित जसपाको स्पष्टतामा आधारित छ, ओलीमात्र स्पष्ट छन् सम्पूर्ण अन्यका बाध्यताहरूको, एमालेभित्रका रिसाहाहरूको रिस मात्र छ, अरू कुनै तागतको रस छैन्।’ यसबाट पनि स्पष्ट हुन्छ, माझण्डहरू भन्दा केपी ओली नै प्रमका लागि उपयुक्त पात्र हुन । यसो भन्दा पक्षधरता लिएको देखिन्छ र बुझिन्छभने त्यो मेरो समस्या होइन किनभने उनीहरू देशमा शान्ति, सम्वृद्धि र स्थिरतामा भन्दा अशान्ति, दरिद्रता र अस्थिरतामा आफ्नो राजनीतिक भविष्य देखिरहेका छन् र अरूलाई एकपक्षीय भनेर आरोप लगाउँछन् ।

प्रदिप नेपालले भन्छन्, ‘अब नेकपा (एमाले) मा एकताको कुरा सोचौं । अहिले केपी ओलीलाई प्रधानमन्त्री छाडीदिउँ।   पार्टी कमजोर भएमा सबभन्दा ठूलो अवगाल बोक्नुपर्ने माधव नेपाललाई दशौं महाधिवेशनको आयोजक कमिटीको प्रमुख बनाउँ।’ म यो तर्क र प्रस्तावमा पूर्ण सहमत छैन् किनभने अहिले माधव नेपालका बोली र गतिविधि नेकपा (एमाले) बलियो बनाउने कुरामा केन्द्रीत छैन्। त्यसैले पार्टीको महाधिवेशनपछिको अध्यक्षलगायतका पदाधिकारीहरू नयाँ पुस्ताबाट बनाउने सहमतिमा ओलीकै संयोजनमा महाधिवेशन गर्नुपर्छ।

आज नेकपा (एमाले) मा भइरहेको विभाजनोन्मुख विवादलाई बुझ्न हामीले २०५० जेठ ०३ देखि २०७५ जेठ ०२ सम्मको एमालेलाई बुझ्नुपर्छ र त्यो कालको मुख्य नेतृत्वको भूमिकालाई पनि चिन्नुपर्छ । अन्यथा अहिले भइरहेको विवादको जडमा पुग्न सकिंदैन् । माधव नेपाललाई महासचिवबाट वामदेव गौतमहरूले मिलेर हटाउन खोज्दा त्यतिखेर उनलाई जोगाउन खोज्ने को–को थिए र आज केपी ओलीलाई अध्यक्षबाट हटाउन खोज्ने को–को हुन चिन्नुपर्छ । २०५४ मा एमाले फुटाउन नेतृत्व गर्ने र सघाउने को–को थिए र आज पार्टी फुटाउन जोडबल क–कसले गर्दैछन् छुट्याउन सकियोभने मात्रै माधव नेपाल र केपी ओली को बढी ठीक र खराब भन्ने निष्कर्षमा पुग्न सकिन्छ । नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले एकपटक इतिहासको समिक्षा गर्ने बेला भएको छ ।

२०५४ मा नेकपा (एमाले) टुक्र्याउन होस् कि २०७७ मा नेकपा हुँदै नेकपा (एमाले) मा विभाजन ल्याउन माधव कुमार नेपालको मुख्य भूमिका देखिन्छ। पहिले आफै पार्टी प्रमुख भएर विभाजनमा वामदेव गौतम र सिपी मैनालीलाई सघाए अहिले आफू महाधिवेशन बाहिरबाट पार्टी प्रमुख हुनलाई एमाले फुटाउन खोज्दैछन् । हिजो पार्टी विभाजन गराएर २०५६ को आमनिर्वाचनमा नेकालाई जिताउने वातावरण बनाएका थिएभने आज आफ्नै पार्टीको अध्यक्षको नेतृत्वमा भएको सरकार गिराएर नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोज्दैछन । यसबाट स्पष्ट हुन्छ, माधव कुमार नेपालको लक्ष्यमा नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूको स्वार्थ लुकेको छ । यो यथार्थ सत्य नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले मात्र होइन, शुभचिन्तकहरूले पनि बुझ्नुपर्छ। त्यसैले पार्टी एकताको पक्षमा संस्थापन पक्षलाई सहयोग गरेर अघि बढ्नु बाहेक अर्को विकल्प आत्मघाती हुनेछ।

मलाई लाग्थ्यो केपी ओली लचक भएर माधव नेपालसँग संवाद गरेर नेकपा (एमाले) भित्रको विवाद सल्ट्याउँदै पार्टीलाई विभाजन हुनबाट जोगाउनु पर्छ । पार्टी अध्यक्ष भएका नाताले त्यो केपी ओलीको जिम्मेवारी पनि हो । तर २०७७ फागुन २३ देखि आजसम्म आइपुग्दा माधव नेपालका बोली, व्यवहार र गतिविधिहरूले ओलीका अडान ठीक रहेछन् भन्ने देखिदैछ । पत्रकार महासंघको चुनावमा माधव पक्षको भूमिका क्षम्य प्रकृतिको थिएन । अहिले भइरहेको आत्मघाती गतिविधिहरूले माधव नेपालसँगै क–कसको राजनीति सकिने हो यसै भन्न सकिन्न । २०५४ मा वामदेव र सिपीलाई सघाउने घनश्याम र योगेशहरू अहिले माधवलाई सघाएर फेरि एमाले विभाजनको आधार बनाउँदैछन् । त्यतिखेर र यतिखेरको राजनीति विश्लेषण गर्दा हिजो पनि र आज पनि माधव नेपाललाई नै नेकपा (एमाले) विभाजनको मुख्य दोषी हुन भन्न सकिन्छ।

आन्दलनको दौरानमा हाम्रा शत्रुहरू फेरिन सक्छन्।’ (जननेता मदन भण्डारी) तर आन्दोलनभित्रैबाट शत्रुहरू निस्कन्छन् भन्ने अनुमान मदन भण्डारीले गरेका थिएनन् । त्यो पनि आफ्नै सहयोद्धाहरू मुख्य शत्रु भएर पार्टी र आन्दोलनका विरूद्धमा उभिएलानभनेर कल्पना पनि गरेका थिएनन् । माधव नेपाल २०५४ मा अदृश्य त  २०७७ मा दृश्य शत्रु भएर देखिन पुगे । त्यसैले अब माधव नेपालले प्रमाणित शत्रु हुनबाट जोगिन आत्मआलोचना गर्दै समानान्तर कमिटी बनाउने गतिविधि रोकेर नेतत्व पुस्तान्तरण र हस्तान्तरणको मुद्दामा केन्द्रीत हुँदै निर्मल भट्टराईले भनेजजस्तो ‘व्यक्तिलाई पार्टी र पार्टीलाई गुट देख्ने’ चिन्तन त्याग्नु पर्छ । प्रम तथा पार्टी अध्यक्ष केपी ओलीले पनि क्षमाभाव देखाएर नेता तथा कार्यकर्ताहरूलाई समेट्नु पर्छ । जबजलाई आधार बनाएर अघि बढ्न चाहने सबैलाई समेट्दै फराकिलो मनका साथ एक हुन आह्वान गर्नुपर्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : १८ बजे