मेरा छोराले काइलाखातका मजदुरको घर कब्जा गरेन
घरनक्सा पास नगरेर उसलाई उठिबास लगाएन
म आफैँ पनि शिक्षाको व्यापार गरेर शिक्षाविद् भनिएँ
हर्दम हाय पैसा ! भनेर जग्गा कारोवारको दूत पनि भएँ
एउटा खोजमूलक लेख कहिल्यै लेखिँन
कृति प्रकाशित गर्ने सोच कहिल्यै आएन
तै पनि प्राज्ञिक नभई भएन, पार्टीले धर दिएन
बुद्धिजीवी भनिएर चौरस्तामा नेताबाट नपुजिई भएन
कलम नचलाएको हुँदा कोही नेता रिसाएन
गर्न त गरेँ भूमिगत कालदेखिको साक्षी र साथी मात्र बनेँ
जागिर खाएँ, मुन्टो लुकाएँ, ज्यान जोगाएँ
उमेर त धेरै पाको भयो
त्यसैले धेरै थाङ्ना फटाएँ
आफैँले आफ्नो समीक्षा गर्दा माट्टी धन धेरै जोडेँ
ज्ञानधनले भने आफूलाई रित्तै पाएँ
तर सानो हुन मन छैन, घर विशाल बनाएँ
आर्थिक कारोबार धेरै बढाएँ
नेता बरालमार्फत् भनाएँ, भन्न लगाएँ
पैसा भए ऐसा हुँदो रहेछ
काठमाडौँबाट पण्डित बोलाएँ
दानका लोभी पण्डित सभा गरेँ, गराएँ
नागरिक अभिनन्दनको नाटक रचाएँ
नगरभरि आफैँ अग्लो आसनमा बसेर घुमेँ, घुमाएँ
महँगो चन्दा उठाएँ, उठाउन लगाएँ,
ठूलै सभा समारोह गरेँ, गराएँ
पाँच फुटे अग्लो ताम्रपत्रे नागरिक अभिनन्दन ग्रहण गरँे
आफू होचै भए पनि निक्कै अग्लो अभिनन्दन मैसित छ
मभन्दा अग्लो अरू कोही छ ?
प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ९ : ०२ बजे
प्रतिक्रिया