साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वाद्यवादनमा भविष्य खोज्दै

रामपुर (पाल्पा) । सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धा वृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले । 

    उहाँ १५ वर्षको हुनुभयो । उहाँलाई वाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्नुहुन्छ । चार वर्षदेखि  काफ्लेको दैनिकी यसरी नै बितिरहेको छ । उहाँको घर अहिले वाद्यवादन सिक्ने थलो नै बनेको छ । काफ्लेले आफूले जानेको सीप अन्य साथीहरूलाई पनि सिकाउनुहुन्छ । घर नै सङ्गीतको मीठो धुनले गुञ्जायमान छ ।

“सङ्गीत नभई बस्न सकिँदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु”, काफ्लेले भन्नुभयो, “घरमा बाजा पर्याप्त छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु ।”

गाउँघरमा हुने भजन कीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन सुरु गर्नुभएका काफ्लेले क्रमशः सारङ्गी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिक्नुभयो । अहिले उहाँ गाउँमा आयोजना गरिने महायज्ञ, भजन कीर्तन, धार्मिक कार्य लगायतमा सहभागी भई वाद्यवादनको काम गर्नुहुन्छ । घरमा रहेका विभिन्न थरिका बाजा बजाउन थालेपछि छुट्टै आनन्दको अनुभूति हुने गरेको काफ्ले बताउनुहुन्छ । “विद्यालय समयबाहेक साँझ–बिहान घरमा बसेर सिक्ने गरिरहेको छु, अहिले गाउँका महायज्ञ, भजन कीर्तनजस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ”, उहाँले भन्नुभयो ।

भजन कीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक वाद्यवादनका सामग्री खरिद गर्ने गरेको काफ्ले बताउनुहुन्छ । धार्मिक कार्यमा सहभागी भएबापत उहाँले छ घण्टाको समय वाद्यवादनमा खटिएबापत रु पाँच हजारसम्म रकम बुझ्नुहुन्छ । भविष्यमा राम्रो सङ्गीतकार बन्ने काफ्लेले लक्ष्य छ । घरमा बुवा आमाको राम्रो साथ सहयोग पाउनुभएका काफ्लेले एसइई परीक्षा उत्तीर्णपश्चात् सङ्गीत र संस्कृत शिक्षा पढ्ने योजना बनाउनुभएको छ ।

यसैगरी काफ्लेको जस्तै रामपुरकै विष्णु पोखरेलको पनि सङ्गीतमा औधी रुचि छ । घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिक्नुभएका १४ वर्षीय पोखरेललाई यतिबेला बाद्यवादनप्रति प्रेम नै बसेको छ । मादल, हार्मोनियम र गीतारमा उहाँले राम्रो ताल भर्नुहुन्छ । पोखरेललाई यसका अलवा अन्य बाजाको मोह उत्तिकै छ । विद्यालय बिदाको समय अहिले उहाँ अन्य बाजा बजाउन सिकिरहनुभएको छ ।

पोखरेल भन्नुहुन्छ, “सिक्न थालेपछि सङ्गीतबिना एक छिन बस्नै सकिँदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु, विद्यालयमा सङ्गीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो, तैपनि घरमा भएका तथा साथीसँग भएका वाद्यवादनका सामग्रीलाई आलोपालो गरेर सिक्दै छु ।”

पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारङ्गी, बाँसुरी, गितारलगायत बाजा छन् । साँझ–बिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ । भविष्यमा वाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उहाँको सोच छ । पोखरेल यस क्षेत्रमा चार वर्षदेखि समर्पित हुनुहुन्छ । 

यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि तीन वर्षदेखि सङ्गीतमै रमाउनुभएको छ । घरमा बिस्तारै मादल बजाउन सिक्नुभएका उहाँले  आफ्ना साथीसँग यससम्बन्धी ज्ञान आर्जन गरिहनुभएको छ । पढाइ नबिग्रने गरी आफूलाई मन पर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेको घिमिरे बताउनुहुन्छ । पन्ध्र वर्षीय घिमिरेलाई बाद्यवादनप्रति निकै मोह छ । मादल, किबोर्ड र गितारका धुनमा उहाँ खाली समय बिताउनुहुन्छ । 

सङ्गीतको क्षेत्रमा केही गर्ने मनसाय बोकेर वाद्यवादनलाई निखारता दिन यससम्बन्धी इन्टरनेटलगायतका विभिन्न माध्यममा आवश्यक ज्ञानका कुरा घिमिरेले अध्ययन गर्नुहुन्छ । अहिले अक्टोप्याड, हार्मोनियमलगायत बाजामा उहाँ ताल भर्न सिक्दै हुनुहुन्छ ।

“घरमा अभिभावकले महत्त्व दिएर वाद्यवादनका सामग्री खरिदमा सहयोग गर्नुभएको छ, यसले झन् यही क्षेत्रमा केही गर्छु भन्ने उत्साह थपिएको छ, परिवारको सहयोग पाएकाले वाद्यवादन क्षेत्रमै नाम कमाउने धोको छ”, उहाँले भन्नुभयो ।

सङ्गीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ । मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई सङ्गीतको धुनले भुलाइदिएको हुन्छ । साहित्य र सङ्गीतका अनेकौँ रूप छन् । शब्दको सङ्गमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ र सात सुर तथा सरगमको सङ्गमबाट सुमधुर सङ्गीत प्रवाहित हुन्छ । गीत–सङ्गीत–साहित्य मानव जीवनको प्राण नै हो । मानव मनभित्र पनि एक किसिमको सङ्गीत पैदा भएर तरङ्गित भइरहेको हुन्छ । 

रामपुरकै अन्जन काफ्ले शारीरिक व्यायाम हुने, मानसिक सन्तुलन राम्रो हुँदै जाने, अल्छीपन हट्ने, तनाव हटेर जाने तथा फुर्सदको समयको राम्रोसित सदुपयोग भएको बताउनुहुन्छ । बाह्र वर्षीय काफ्ले पाँचदेखि सात जनाको समूहमा विद्यालय समयबाहेक अन्य समय मिलाएर घरमा सङ्गीत सिक्ने गरेको बताउनुहुन्छ । उहाँ घरमा बुवा र दाजुबाट सीप सिकेर तीन वर्षयता सङ्गीतमा गीतअनुसारको ताल निरन्तर सिकिरहनुभएको छ । सानो उमेरमा पनि वाद्यवादनको क्षेत्रमा काफ्लेको सौख बढेको छ । सङ्गीतका अलवा उहाँलाई चित्र कोर्न र फुटबल खेल्न औधी रुचि छ । कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा काफ्लेले सङ्गीत सिक्न थाल्नुभएको हो । 

रामपुर नगरपालिकाभित्र वाद्यवादनसम्बन्धी कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन् । एक स्थानीय तहमा एउटा विद्यालयमा सङ्गीतसम्बन्धी कक्षा सञ्चालन गर्न यस क्षेत्रमा भविष्य बुन्दै गरेका बालबालिका तथा किशोर किशोरीको माग छ । खासगरी मानिसको प्रत्येक समयको अनुभूतले मनमा त्यस्तै किसिमको सङ्गीत पैदा भइरहेको हुन्छ ।

दुःख, सुख, हाँसो, आँसु सबै किसिमको संवेग तथा परिस्थितिमा त्यसैमा मेल खाने सङ्गीतको झन्कार मनमा झङ्कृत भइरहेको हुन्छ । त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी सङ्गीत सुन्न पाइयो भने त्यसले झैँ सार्थकता पाउँछ र गहिरोसँग सङ्गीतले हृदयमा छाप छोड्छ । त्यही बाहिरी सङ्गीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगी साबित हुन्छ । रासस

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ४४ बजे