तीन प्रदेशमा वर्षाको सम्भावना

धान उत्पादन बढ्ने विश्वासमा सुच्चा पूजा

नेपालगञ्ज । बाँकेमा रतगैया थारू समुदायले ‘सुच्चा पूजा’ गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित धामपुरमा उनीहरुले धानको उत्पादन बढ्ने विश्वासका साथ उक्त पूजा गरेका हुन् ।

“वर्षौंदेखि पुर्खाहरुले नै यो पूजा गर्दै आउनुभएको छ, त्यही भएर रोपाइँ सकिएपछि हामी यस्तो पूजा गर्छौं”, धामपुरका स्थानीय लौटन थारूले भन्नुभयो । उहाँले उक्त पूजाका कारण वर्षा हुने र त्यसबाट धान उत्पादनमा वृद्धि हुने विश्वास भएको उल्लेख गर्दै पूजा नगर्दासम्म दशैँमा बलि दिनसमेत नमिल्ने बताउनुभयो । धान रोपाइँ सुरु भएको र रोपाइँ अन्त्य समेत भएको भन्दै उक्त समुदायले कूल देउतालाई पूजा गरिने स्थानीयवासी बताउँछन् । सुच्चा पूजा दशँै अगावै गरिनुपर्ने प्रचलन छ । 

थारू समुदायमा धान रोपाइँको सुरुआती चरण अरू समुदायभन्दा फरक शैलीको हुने गर्छ  हरेक थारू बस्तीमा धान रोपाइँ हुनुभन्दा पहिलो दिन उनीहरुले गाउँभरिका समुदाय मिलेर सँुगुर अर्थात् (जिता) मार्ने, र अन्य मीठा मीठा परिकार खाने गरेको स्थानीय नेपालगन्जका रामभगत चौधरी बताउनुहुन्छ । 

उनीहरुले माछामासु, सागपात, अन्न, घोघी, सिध्रा बनाई खेतमै गएर पूजा अर्थात् (कल्वा) खुवाई गरेपछि मात्र खेत रोपाइँ सुरु गर्ने प्रचलन छ । कल्वा खुवाइको दिन गाउँभरिका बासिन्दा आ-आफ्नो घरबाट बनाएको परिकार खेतमै लगेर खाने गर्दछन् । खेतको पूजा गरी मीठा मीठा परिकार खेतमा  चढाएर खाने जनाइएको छ ।  

“थारू समुदायमा खेती गर्ने शैली परिवर्तन भए पनि खेतको उद्घाटन अर्थात् कल्वा खुवाई भने परिवर्तन भएको छैन”, बर्दिया ठाकुरबाबा नगरपालिकाका अगुवा लहानु थारू भन्नुहुन्छ । 

 त्यसैगरी थारू समुदायमा रोपाइँ सकिएपछि हरेरी पूजा समेत गर्ने प्रचलन रहेको छ । बाँकेमा रतगैयाबाहेक तेलदेहुवा, भगोरिया, कुसुमिया, देमनडौरा, धामलगुवा, दहितलगायत दर्जनौँ समुदायका थारूहरु छन् । यस वर्ष वर्षा कम भएका कारण केही ठाउँमा रोपाइँ सकिएको छ भने केही ठाउँमा रोपाइँ जारी रहेको छ ।
 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ३ : २७ बजे