दलाई लामा र चीन सरकारका बीचमा अनौपचारिक संवाद सुरु

नयाँ दिल्ली  । चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ।  

साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताउनुभएको थियो। यद्यपि, यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उहाँले खुलाउन चाहनुभएन ।  

दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैँ तयार रहेको बताउनुभएपछि चीन सरकारले सम्पर्क गरेको बताइएको छ ।  

दलाई लामाले भारतमै बसेर ‘तिब्बत सरकार’ चलाइरहनुभएको छ ।  यसलाई तिब्बतको निर्वासन सरकार पनि भनिन्छ। 

हालै यो सरकारकी मन्त्री नोर्गिन डोल्मा जापान भ्रमणमा जानुभएको छ । त्यहाँ उहाँले चीनले दलाई लामासँग अनौपचारिक रूपमा ब्याकडोर वार्ता गरिरहेको र यो निकै महत्त्वपूर्ण रहेको पनि पुष्टि गर्नुभएको थियो । 

दलाई लामाले आफ्नो जीवनकालमा तिब्बतको समस्याको समाधान खोज्नेमा हामी सबै सहमत छौँ भन्ने सन्देश निरन्तर दिनुभएपछि चीन सम्पर्कमा आएको हुनसक्ने जनाइएको छ । 

यसअघि आफ्नो जन्मदिनको अवसरमा दलाई लामाले भन्नुभएको थियो– ‘चीन अब परिवर्तन हुँदैछ र म उनीसँग कुरा गर्न तयार छु । मलाई भेट्न चाहनेले तिब्बतको समस्या समाधान गर्न आउन सक्छन् । हामी पूर्ण स्वतन्त्रता चाहँदैनौँ। धेरै वर्ष पहिले हामीले निर्णय गर्‍यौँ कि हामी चीनको हिस्सा रहनेछौँ।’ 

अहिले चीनले पनि तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस गरेको उहाँले जनाउनुभएको छ । ‘त्यसैले अब तिनीहरू संवाद गर्नका लागि मसँग आउने छन् भन्नेमा म विश्वस्त छु ।’

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २० बजे