सुनको मूल्यमा नयाँ कीर्तिमान

ललिता निवास प्रकरण : २५ दिनदेखि हिरासतमा रहेकाहरू अझै पाँच दिन हिरासतमै बस्ने

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 

 बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसहितका अभियुक्तहरु थप पाँच दिन हिरासतमा  राखेर अनुसन्धान गर्न म्याद थप भएकाे हाे । 

शुक्रबार काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।

बालुवाटार जग्गा प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो।

सीआईबीले उनीहरुविरुद्ध किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिसकेको छ। यसअघि बालुवाटार जग्गा प्रकरणमै अख्तियारले पनि मुद्दा चलाएको थियो।

यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ गरेको थियो।

त्यसपछि समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको थियो।

यस्तै, पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीको प्रमुख लोकहरी घिमिरे, तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र,धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई पक्राउ गरेको थियो।

सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो। 

त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।

त्यसपछि समरजङ कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ३ : २३ बजे