तीन प्रदेशमा वर्षाको सम्भावना

रसुवामा लम्पी स्किन रोगबाट एक सय ५९ पशु मरे

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशु चौपाया मर्न थालेका छन् । 

पशु चौपाया मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशु चौपाया मरेका छन् । 

जिल्लाका पाँच वटै गाउँपालिकाका पशु चौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाईंकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशु सेवा प्राविधिक प्रमुख सुरेश बडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाई गोरुको मृत्यु भएको छ । 

“रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उहाँले भन्नुभयो । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । लम्पी स्किनबाट सङ्क्रमित पशु चौपायालाई छुट्टै क्वारेनटाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ । हिमाली क्षेत्रको खाली पाखामा पशु चौपाया छोड्ने चलनले रोग बढी फैलिएको उहाँ बताउनुहुन्छ । 

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशु चौपायामा क्षति भएको छ । आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झन्डै एक हजार पाँच सय  पशु चौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् । 

कालिका गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकाका पशु चौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताउनुभयो । सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ । रासस        

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ३३ बजे