‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले बनाएँ त भन्नु भो, भत्काउन चाहिँ पाइन्न है कामरेड !!!

कामरेड केपी ओलीलाई कम्युनिष्ट प्राणीका रूपमा जिउनै नदिने गरी राजनैतिक हत्या गर्न उद्यत भई (सा)धारण (स)दस्यता अर्थात् सास नै निमोठेर निष्प्राण गराउनेहरूको एकवर्षे जात्रा भर्खरै सुस्ताउँदो छ ! र त्यसको अर्को  संस्करण भर्खरै सुरु हुँदो छ ! मुलुकमा बेथिति मच्चाउन माहिर अथिति कमरेडसँग घाटी जोडेर आफैले हुर्काएँ, बढाएँ भनेको पार्टीलाई बल्खुबाट कोनि के जाति डाँडा पुर्याउन जेजसरी उहाँले आफ्ना चालिस वर्षसँगै काम गरेका सहयोद्धाको घाटी अँठ्याई “सास” थिच्ने रिहर्सल गर्नु भो, त्यसले  उहाँलाई नेकपा एमाले मैले बनाएको हुँ भन्ने हक समेत खोसेर लगेको आभास आम कार्यकर्ताले अनुभूत गरिरहेछन् !

कामरेड ! इतिहासकै कुरा गर्ने हो भने यो पार्टी मैले बनाएँ भनेर यहाँले भनिरहँदा यो पार्टी बनाएर पार्टीबाट विविध कारणले पलायन हुनु भएका कामरेड सिपी मैनाली, राधकृष्ण मैनालीलगायत थुप्रै कामरेडहरूको अनुहार पनि सम्झना आइहाल्दो रहेछ ! के यो पार्टी बनाउन उहाँहरूको  योगदान थिएन र ! तर पनि आज उहाँहरू पाखा लाग्नु भो, किनकि उहाँहरूले पनि यहाँले झैँ इतिहासको घमन्ड गर्नु भो होला र तत्कालीन वर्तमानका समयको तीव्र वेग र जनमस्तिष्कका विभिन्न मिडियमहरूको वेभ बुझ्न सक्नु भएन होला ! भलै उहाँहरू बाहिरिनुमा उहाँहरू आफ्नै बानीबेहोरा बढी जिम्मेवार होलान् नै तर यहाँ आफैले त्यतिबेलाका लुगा आफै टकटक्याएर हेर्नु भो भने उहाँहरूलाई पार्टीबाट घुचेट्ने केही प्रतिशत सेयरको धुलो त यहाँका खल्तीमा टाँस्सिएर कट्कटिएको पनि होला ! यहाँलाई हेक्का रहोस्, पार्टी बनाउनु इतिहास हो भने पार्टी चलाउनु वर्तमान हो ! तपाईको इतिहास पार्टीका लागि हिङ होला तर तपाईँको यो  वर्तमान मुलुकका लागि  हिङ बाँधेको टालो मात्रै हो ! तपाईँले हिङ रित्तिएको टालो देखाएर भट्टीमा भेला गरेर योगदानको लैबरी लयमा दोहोरी गाउँदैमा त्यसैका गन्धका तालमा आम कार्यकर्ता नाच्लान् भन्ने सोच्नु दिवास्वप्न होला नि कमरेड !

पन्ध्र वर्ष पार्टीको नेतृत्वमा हालीमोहाली गर्दा यहाँले पार्टीलाई दिएको देन र पार्टीले यहाँलाई दिएको देनका हिसाबकिताबको वासलात नै निकाल्ने हो भने ‘त्यहाँ घाटामा के गएको छ र निरन्तर नाफामा को गएको छ’ भन्ने कुरा पक्कै देखिन्छ होला ! साथै काङ्ग्रेसलाई बडेभाइ मान्दै र एमालेलाई छोटे भाइका रूपमा खुम्च्याई पार्टीका कामरेडहरूमा हीनताबोध मौलाएको कुरा ! रौतहटको इटा भट्टामा जिउँदा मान्छे डढाएर मार्दा यहाँले चुँ आखर बोल्ने कुरा त परै जाओस्, त्यहाँका आफ्नै पार्टीका स्थानीय अमुक नेता उजुरी लिएर यहाँको दैलोमा ढुक्दा यहाँले वास्ता नगरेर निज पार्टीबाटै पलायन भएको कुरा यहाँले भुल्नु पो भो कि  !

हुनत यहाँ रौतहटबाट चुनाव हारेर पनि प्रधानमन्त्री बन्नु भएको कारण ती जनताको आँसुले यहाँलाई नपोलेको पनि हुन सक्छ ! अथवा भनौ यहाँकै प्रधानमन्त्रित्वकालमा यहाँकै मन्त्रीमन्डलमा उक्त हत्याकान्डका सम्राट श्रममन्त्री भएर यहाँकै छेउमा बस्दा यहाँलाई शरम लाग्नु त परै जाओस्, डढाइएका मृतकको रगत र मृतकका आफन्तको आँसुको गन्ध  पर्फ्युम र अत्तरजस्तो वास्नादार लागेर तत्कालीन “परिप्रेच्छ्य” मा यहाँले नबोल्नु भाको पनि हुन सक्छ ! नत्र कालन्तरमा  त्यस्ता अपराध गर्नेलाई कानुनी दायरामा ल्याउने प्रधानमन्त्री केपीको कदमलाई स्वागत गर्नुको सट्टा त्यसैबेलादेखि यहाँ झन् आगो हुँदै सरकारका विरुद्ध जेहादै छाडेर लाग्ने र “देश डुब्न लाग्यो कोही माझी छ भने लौ न बचाइदेऊ” भन्दै बिलौना गर्दै किन हिड्नु भाको रहेछ भनेर आम जनताले आज आएर भए पनि  बुझ्न परेन र कमरेड !  

एकातिर पार्टीले तपाईँबाट पाएको यस्ता योगदानलाई र अर्कातिर तपाईँले पार्टीबाट पाएको उपलव्धिलाई  तुलामा राखेर जोख्दा त ‘तपाई पूरै फाइदामा र पार्टी अत्यधिक घाटामा’ देखिएको कुरो त विभिन्न सूचकहरूले  बकेकै छन् क्यारे कमरेड ! एसो गहिरिएर हेर्यो भने पार्टीमा  तपाईको रज्जगज्ज चलेका बेला भाइहरूलाई हङकङको महावाणिज्यदूत दूत बनाएको, प्रधानमन्त्री कार्यालयबाट गरिने अनुगमनमा खटाएको र पोख्रेल थरका ज्वाइँलाई अर्थमन्त्रालयबाट विश्व बैङ्कको जागिरमा पावरको प्रयोग गर्दै जबर्जस्त घुसाएको, साथै सन्तानलाई छात्रवृत्ति दिलाउन भारतीय दूतावासमा कपाल कन्याउँदै कनकन गरेका कुरा कुरा पनि त त्यहाँ देखिँदा होलान् नि ! होलिवाइनको रकममा विश्वभ्रमण गरेर उत्तर- आधुनिक रविन्सन क्रुसो बनेको कुरा पनि त कहाँ लुकेको छ र भन्या ! किचन कोटरीकै भएको आधारमा सप्त वा अष्टपटक अमुक पतिपत्नीलाई पालैपालो मन्त्री बनाएको कुरा, पार्टीको अनुशासन वस्त्र ध्वार्ध्वार्ती च्यातेर लङगोटी बनाउने गरी अनुशासन आयोगको अध्यक्षलाई दुरुपयोग गरेको कुरा पनि त छताछुललै छैन र ! २०५२ सालमा लोकप्रियताको शिखर चुमेको पार्टीलाई ०५४ सालमा विभाजन हुनबाट रोक्न नसकेको कुरा ! पार्टीलाई जहिलेसुकै दोस्रो र तेस्रो कोटिभन्दा माथि उठाउन नसकेको कुरा ! बास्सा जुट र एक्का जुट बन्ने ल्याकत भएको पार्टीलाई तिर्की जुटमा झारेको कुरा पनि त कहाँ बिर्सन सक्छन् र कार्यकर्ताले भन्या !

हुनत आफूले बिसौँ वर्षदेखि प्रचन्डसँग सहकार्यमा थिएँ भनेर अहिले आफ्नो पुरानो बानीबेहोराको पोल खोल्दै गर्दा यस्तो किन भा रहेछ भन्ने बुझ्न अहिले त्यति गारो त परेन कमरेड ! त्यतिबेला ढुकुर ढाले झैँ भकाभक आफ्नो पार्टीका यदु गौतमजस्ता होनहार कार्यकर्ता सुराकीका नाममा सफाया गरिएको कुराको सेयरको नाफा पनि त यहाँको एकाउन्टमा पनि सावा व्याजसहित जम्मा भैसक्या हुनुपर्छ भन्ने पनि बुझियो नै ! किनभने आज प्रचन्ड स्वरमा डमरुको चर्को आवाजमा मदारीले नचाएको जमुरे झैँ मच्ची मच्ची उफ्रेको देख्दा र यहाँको सम्बन्धित पात्रसँगको उहिल्यैदेखिको सहकार्य र काङ्ग्रेससँगको ‘जीहजुरी’ देख्दा एमालेलाई कहिल्यै पहिलो हुन नदिने सुपारी यहाँले लिनु भएको रहेछ कि भन्ने आशङ्का पुष्टि हुन थालेन र कमरेड !

अनि नि, आफूले दुईदुई ठाउँबाट चुनाव हार्दा तालुमा प्रधानमन्त्रीको आलु फलेपछि त्यही आलु गोडेर आफूले पूजा गर्ने भैँसीलाई घास खुवाउने दाउमा ‍यहाँको सरकारलाई  कठपुतलीको संज्ञा दिँदै तपाईलाई लखेट्न एकहप्ते ‘अखण्ड उपत्यकाबन्द सप्ताह’ महायज्ञ चलाएको र त्यतिबेला तपाईलाई बचाएर ठूलो गुन लगाउनु भएका केपी कमरेडको (सा)धारण (स)दस्यता अर्थात ‘सास’ नै यतिबेला हरण गरेर पैँचो तिर्ने तपाईको सादगी(!) पनि सबैले थाहा पाइसके नि होइन र भन्या ?

पेरिसडाँडामा नगदानगदी अध्यक्षको साइन बोर्ड यथावत् राखेर बल्खुतिरको जिन्सी सम्पत्तिमा आँखा गाड्न पाइन्छ र ! दिल्लीलाई कम्फर्टेबल बनाउने नाममा काठमाडौलाई अन्कम्फर्टेबल बनाउन पाइन्छ र भन्या !

कमरेड ! एमाले बनाउन तपाईँको योगदान छ नै ! तर मैले एमाले बनाएँ भन्दैमा हुलमुल जम्मा पारेर र ..डाँडातिरबाट खेताला खोजेर त्यसको बलमा यसलाई भत्काउँछु भन्दै बलियो एमालेको पहरोमा कुहिनो ठोकेर के पो पाउनु हुन्छ र कमरेड ! बेकारमा कुहिनामा घाउ लाउने काम नगर्नुस् भो, यो बुढेस कालमा ! अरूले तपाईको नेतृत्वको कडा बुहार्तन १५ वर्षसम्म सहन हुने, तपाईले पाँच वर्षसहनु पर्दा खुत्रुक्कै हुने भन्ने कुरो त अलि हजम भएन नि कमरेड ! कामरेड ! यहाँ अहिले २०५४ सालमा पार्टी फुटाउने फुटशिरोमणिहरू बोकेर एमाले मेरो हो भन्दै र फुटानी गर्दै कुँदिरहनु भएको छ कमरेड ! एकपल्ट पार्टी फोडिसकेका कुलाङ्गारहरूको चक्रव्यूह तोडेर हिँड्नुस् कमरेड ! मन्त्रीपद नपाउँदा बौलाउने दुर्योधनहरूको फेरोमा नकुटुरिनुस् न कमरेड ! 

किनकि ! एमाले मैले बनाएँ भन्न पाउनु हुन्छ तर त्यसलाई भत्काउन पाउनु हुन्न र जति बल गरे पनि भत्काउन सक्नुहुन्न ! किनकि यसरी भत्काउछु भन्नेहरू र भत्काएर हिँड्नेहरु सुकुम्बासी भएर फर्कीफर्की आएको इतिहास हेर्न अहिले यहाँकै पछिपछि कुदेका केही उग्र अनुहारलाई राम्ररी नियाले पुगिहाल्छ नि किन धेरै सोच्नु कि कसो !  त्यसैले कमरेड ! केपी ओलीसँग रिस उठ्यो भने ठिकै छ ! तर आफैले बनाएको भनेर भट्याइएको र  पार्टीको अध्यक्ष त तपाईको पनि हो नि त ! त्यसैले केपी ओलीसँग होइन अध्यक्षसँग आत्मालोचना गर्दै अहिल्यै पार्टीले दिएको जिम्मेवारी लिनुस् भन्ने यहाँका वास्तविक शुभचिन्तकको जपना छ है ! भिरमा जाने गोरुलाई रामराम भन्ने न हो काँध त कसरी थाप्नु र ?    

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : १६ बजे