तीन प्रदेशमा वर्षाको सम्भावना

वाग्‍नर समूहमा भर्ती भएका नेपाली भन्छन्- एक वर्ष जिउँदो रहे रूसको नागरिकता लिएर यतै बस्छु

भारतले नेपाली सेनालाई भर्ती गर्ने नियममा कडाइ गरेपछि दर्जनौं  गोर्खा रूसको वाग्नर समूहमा सामेल भएका छन् । गोर्खा सैनिकहरूले रुस र बेलारुसका बेसहरूमा बन्दुक चलाउने तालिम, सैन्य क्यान्टिनमा खाना खाने र युक्रेनमा लडाईंका सम्भावित जोखिमहरूबारे छलफल गरिरहेको भिडियो सार्वजनिक गरेका छन् ।

नेपाली नागरिकलाई रुसको युद्धमा सामेल हुनबाट रोक्न नसकेको भन्दै नेपाल सरकारको आलोचना भइरहेको छ । २२ वर्षीय कमल आचार्य वाग्नर समूहमा सामेल हुन मे महिनाको सुरुमा कर्णाली प्रदेशको चिसापानीबाट मस्को पुगेका थिए । मे २९ मा उनले रुसी सैन्य प्रतिष्ठानभित्र हतियार बोकेको तस्बिर ​ सार्वजनिक गरेका थिए । उनको भिडियो टिकटकबाट सार्वजनिक भएको थियो ।

आचार्यका साथी उमेश शाहीले टेलिग्राफलाई बताएअनुसार रुसले भाडाका लडाकुहरूलाई राम्रो तलब दिइरहेको थाहा पाएपछि रूसको यात्रा तय गरेका थिए । 'उहाँले हामीलाई यो जोखिम हो भन्नुभयो तर पैसाले उनलाई जान लोभ्यायो,' उनले भने। ​वाग्नर समूहमा​ सामेल हुनेमा रुसमा विश्वविद्यालयको अध्ययन पूरा  गरेका नेपालीहरूले रहेको बताइएको छ।

'पढाइ सकेपछि मसँग दुईवटा विकल्प थिए: बेरोजगार बस्ने वा रुसी सेनामा भर्ती हुने,' रुसमा मेडिकल डिग्री पूरा गरी स्वदेश फर्कनुको सट्टा सेनामा भर्ना भएका एक नेपालीले भने। उनले मे महिनाको अन्त्यमा भर्ना हुन आवेदन दिएपछि सेनामा भर्ना हुनको लागि आफ्नो शारीरिक फिटनेस महत्वपूर्ण भएको बताए ।

उनले युक्रेनसँगको सिमाना नजिकैको बेसमा अन्य विदेशी लडाकुहरूसँग एक दर्जनभन्दा बढी नेपाली नागरिकले सघन तालिम लिइरहेको बताए । 'हाम्रो प्रशिक्षणले हतियार चलाउनेबारे सिकिन्छ' उनले भने।

‘एक वर्षपछि रुसको नागरिकता पनि पाइन्छ । यदि म एक वर्षमा जिउँदो रहे रुसकै नागरिकता लिन्छु र यहीँ बस्छु,’ उनले भने । तालिमका क्रममा मासिक ५० हजार नेपाली रुपैयाँ (२९० पाउण्ड) बराबरको बीमासहितको भुक्तानी पाइरहेको बताए । 

कर्णाली प्रदेशका पूर्व नेपाली सेनाका सिपाही, पनि भाडाको समूहमा सामेल भइसकेका छन् । दुबईमा सुरक्षा गार्डको रूपमा काम गर्दा 'रुसी सेनामा अवसरहरू' बारे थाहा पाएको र त्यता आवेदन दिएको उनले बताएका छन् । ​रुसी सेनामा भर्ना भइसकेका उनले नेपाली सेनामा आफ्नो पूर्व तालिम लाभदायी भएको बताए । यसले रुसी सेनामा उनको स्थानान्तरणलाई सहज बनाएको छ । 

‘हामी दुई सयभन्दा बढी विदेशी साथी र तीन नेपाली साथी छौं,’ उनले भने । उनले फ्रान्सेली विदेशी सेनामा सामेल हुने विचार गरेका थिए, तर त्यहाँको भर्ती प्रक्रिया लामो र चुनौतीपूर्ण ​ रहेको देखेपछि रुसतिर लागेको बताएका छन्  । युद्धको सुरुवातदेखि नै कम्तीमा ५० गोर्खाहरू वाग्नर समूहमा सामेल भइसकेका छन्, जसमा करिब २०० नेपाली नागरिक रुसको सेनामा भर्ना हुन गएका छन् ।

नेपाल सरकारको एक स्रोतले कति गोर्खाहरू भाडामा भर्ना भएका थिए भन्ने यकिन नभएको बताए । 'हामीले ती युवाहरूमध्ये केही पहिचान गरेका छौं र उनीहरूलाई घर फर्कन मनाउन परिवारसँग सम्पर्क गरेका छौं' स्रोतले भन्यो ।

आफ्नो लडाईं कौशलका लागि विश्वभर प्रख्यात गोर्खाहरूले सन् १८१५ देखि ब्रिटिश सेनामा सेवा गरेका थिए । दशौं हजार गोर्खाहरूले भारतीय सेनामा पनि सेवा गर्छन् । तर गत वर्ष, भारतले लामो समयको रोजगारीलाई छोटो करारमा बदल्यो र विवादास्पद अग्निपथ योजनामार्फत पेन्सन हटायो । स्थापित भर्ती प्रक्रियाको अवरोधले गोर्खा लडाकुहरूलाई रुसतर्फ धकेल्यो ।

'रूसी भाडाको सेनामा भर्ती हुने गोर्खाले राष्ट्रको गौरवलाई कलंकित तुल्याएका छन् । यसलाई रोकिनुपर्छ,’ सेवानिवृत्त नेपाली सहायक जनरल प्रेमसिंह बस्न्यातले भने । 'उनीहरू राम्रो पैसाको प्रलोभनमा परेका हुन सक्छन् र राष्ट्रिय हितलाई बेवास्ता गर्दै भाडाको समूहमा सामेल भएका हुन सक्छन्,' बस्न्यातले भने ।

बस्न्यातले भने 'नेपाल सरकारले आफ्ना नागरिकहरूलाई रुसी सेनामा भर्ती हुन नदिनका लागि तत्काल कदम चाल्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ । यस्तो सहभागिता नेपालको तटस्थता र असंलग्नताको परराष्ट्र नीतिको विरुद्धमा जान्छ ।'

भारतीय सेनामा भर्तीका अवसरहरूमा हुने अवरोधले गोर्खाहरूको वाग्नर समूहमा सामेल हुने निर्णयलाई प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेलेको छ उनको ठम्याइ छ ।​गोर्खाहरूलाई शताब्दीयौंदेखि विदेशमा सेवामा जान मद्दत गर्ने भर्ती प्रक्रियालाई जोगाउन असफल भएकोमा भारत सरकारको पनि आलोचना भइरहेको छ ।

भारतको प्रमुख विपक्षी कांग्रेस पार्टीका प्रवक्ता जयराम रमेशले भने 'गोर्खाहरू विश्वका उत्कृष्ट सिपाहीहरूका रूपमा विश्वव्यापी रूपमा चिनिन्छन् । 'तैपनि अकल्पनीय अग्निपथ योजनाले २०० वर्ष पुरानो भर्ती प्रक्रियामा बाधा पुर्‍याएको छ र २०२३ मा कुनै गोरखा सैनिक भारतीय सेनामा प्रवेश गर्ने छैनन्।'

यस अवरोधले गोर्खाहरूलाई वाग्नर समूह जस्ता निजी सैन्य कम्पनीहरूले भर्ती गरिरहेको छ' उनले थपे । वाग्‍नर समूह रुसको निजी सैनिकको समूह हो । यसलाई भ्लादिमिर पुटिनको अदृश्य सहयोग रहेको र राज्यले लगानी गरिरहेको बताइएको छ । यसले रुसी सेनाकै संरचना प्रयोग गर्ने र विदेशी हस्तक्षेपको सूचना राज्यलाई दिने काम गर्ने गरेको पनि बताइएको छ । यो समूहले केही दिन पहिले भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेको समाचार आएका थिए ।

(द टेलिग्राफबाट)

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  २ : ५४ बजे