काठमाडौँ । लागु औषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ ।
एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकताको दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट दुई किलो गाँजा नेपालमा झिकाएको भेटिएको छ ।
किशोरीलाई गाँजा तस्करीमा प्रयोग गरेका साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।
उहाँका अनुसार सुरुमा पार्सल आएको गाँजा लिन त्यही किशोरीलाई उनले काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो कम्प्लेक्समा पठाएका थिए ।
अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो गाँजा लिन पुगेकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनलाई साहले परिचालन गरी लागु औषधको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका साहउपर जिल्ला अदालत काठमाडौँबाट म्याद लिई लागु औषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको जोशीले बताउनुभयो ।
प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ६ : ४९ बजे
प्रतिक्रिया