सुनको मूल्यमा नयाँ कीर्तिमान

सुन तस्करी सञ्जालमा महरा बाबुछोरा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्। ई–सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा जोडिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए। सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र उनका छोरा राहुल महरा सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ। सिआइबी स्रोतका अनुसार महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो। प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ।  

महराका छोरा राहुलले यो विषयमा सुरुमै भन्सार कार्यालयमा फोनमार्फत कुराकानी भएको स्विकारेका छन्। उनले चिनेजानेको मानिस भएका कारण फोन गरेको तर तिनको धन्दा के थियो भन्ने बारेमा आफूलाई जानकारी नभएको पनि बताए। ‘सुरुमा सामानबारे जानकारी लिएको हो, छुटाउन दबाब दिएको होइन। अनुसन्धान त निकै पछि भएको हो। त्यतिबेला त्यसभित्र के थियो भन्ने जानकारी थिए। उसको धन्दाबारे हामीलाई थाहा हुने कुरा पनि भएन,’राहुल महराले भने। पूर्वसभामुख महरा यसअघि पनि चिनियाँ व्यापारीसँग ५० करोड मागेको विषयमा विवादित बनेका थिए। २०६७ भदौ १८ गते परिचय नखुलेका एक चिनियाँ व्यापारीसँग उनले ५० करोड मागेको एउटा अडियो टेप सार्वजनिक भएको थियो। अहिले पनि चिनियाँ सुन तस्करले ल्याएको सुन छुटाउन भूमिका खेलेको भनी विवादित बनेका छन्।  

भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक लुई, वाङ दाओजिङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेको स्रोतको दाबी छ। ‘पटकपटक राहुल महराको चासो रहेको पाइएको छ,’सिआइबी स्रोतले भन्यो। २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका एक चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र ठुलो मात्रामा सुन लुकाएर ल्याएका थिए। त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेको थियो। यात्रु छाडेपछि ती चिनियाँ नागरिकले विभिन्न व्यक्तिलाई प्रयोग गरेर महरा बाबुछोराको सम्पर्कमा पुगेको सिआइबी स्रोतले जनाएको छ। ‘अरू चिनियाँ नागरिकको पनि प्रयोग भएको र महरा बाबुछोराको सम्पर्क पनि उनीहरूसँग भएको पाइन्छ,’ स्रोतले भन्यो।  

भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई–सिगरेटमा भएको सुन निकाली करिब ९ करोड मूल्य पर्ने सुन करिब ६ करोड रूपैयाँमा बिक्री गरेका थिए। पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक सातपटकसम्म नेपाल आएको र त्यसरी नै तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ। सुन बेच्ने योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत रहेको प्रहरी प्रतिवेदनमा देखिएको छ। सिआइबीले बुझाएको प्रतिवेदनअनुसार विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए। तर त्यो सुन गायब पार्नुअघि नै उनीहरूले महरा बाबुछोराको सोर्स लगाएर लिलामीमार्फत फिर्ता लैजाने कोसिस गरेका थिए। 

भन्सार विभागमा त्यो वस्तु शंकास्पद रहेपछि २०७९ माघ २९ गते प्रहरीले मुचुल्का गरी अनुसन्धानका लागि सिआइबीलाई पठाएको थियो। सिआइबीले अनुसन्धानका लागि पाउँदा दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट रहेका थिए। आगो नसल्किने उक्त सिगरेटलाई गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो। पटकपटक स्क्यान गरेर बाकसमा चुरोटबाहेक अरू कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई गोदाममा थन्क्याएर राखेका थिए। सामान्यतः जफत गरिएका सामानहरू एकत्रित गरी एकदुई महिनामा लिलामीका लागि पठाउने अभ्यास रहेकाले उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो। भन्सार विभागले लिलामीका लागि सामान तयार गर्दा महरा बाबुछोराले चासो राखेपछि सिआइबीलाई अनुसन्धानका लागि पठाएको थियो।  

​  ​​​​​​​ ​
​​​​​​​

‘राजनीतिक तहबाटै पटकपटक आग्रह गरी लिलामीका लागि दबाब आएपछि भन्सार कर्मचारीले बाकसमा अरू कुनै मालवस्तु लुकाइएको आशंका भयो। त्यसपछि मात्रै प्रहरीलाई बुझाइएको हो,’भन्सार स्रोतले भन्यो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदीको सम्पर्क सुन खरिदकर्ता वेदप्रकाश अग्रवालसँग रहेको उल्लेख छ। सुन खरिद गर्ने समूहका अन्य सदस्यहरूमा गणेश बडू, साहेब राव मार्गेला, सचिन पावर, नन्दुकुमार रहेको उल्लेख गरिएको छ।  

विमानस्थलबाट सुन गायब गर्ने प्रमुख व्यक्तिमा त्रिभुवन विमानस्थल कार्यालय, गौचरको मुद्दा शाखाअन्तर्गतको गोदामको कार्य जिम्मेवारी तोकिएका नायब सुब्बा खड्का, सिन्धुपाल्चोकको सुनकोशी–६ का ३२ वर्षीय दिनेश बस्नेत, धरान उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्र घर भई अहिले काठमाडौं बस्ने ३९ वर्षका साहेब राव, सिन्धुपाल्चोक सुनकोशी–६ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की, बाग्लुङको काठेखोला–३ स्थायी ठेगाना भएका र हाल पोखरा बस्ने वर्ष २२ का निर्मलकुमार विक, सिन्धुपाल्चोकको सुनकोशी–६ घर भई हाल कागेश्वरी मनहरा बस्ने वर्ष २९ का दीपेश बस्नेत र सोही ठाउँ स्थायी ठेगाना भएका र अहिले पेप्सीकोला बस्ने वर्ष ४२ का गोपाल सुवेदी पक्राउ परेका छन्। काभ्रेको बनेपाका रामकेशव थापा भने फरार छन्। उनीहरू सबैविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

साभार: नागरिक दैनिकबाट

​​​​​​​

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ६ : ४० बजे