काठमाडौंबाट फोहोर लिएर गएका टिपरलाई सिस्डोल र बन्चरेडाँडाका स्थानीयको अवरोध

काठमाडौं । सिस्डोल र बन्चरेडाँडाका बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाएका छन् ।

सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा रोक लगाएका हुन् ।

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा गएका करिब ५० वटा टिफरहरु स्थानीय तथा जनप्रतिनिधिको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकेका थिए । धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको बताए ।

स्थानीयले सहमतिका नाममा आफूहरुलाई सरकारले पटकपटक झुक्याइएको आरोप लगाएका छन् । सरकारले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्नेलगायतका सहमति गरेको थियो । तर अहिले महानगरले विना वर्गीकरण फोहोर संकलन गर्दै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : १६ बजे