सोमबारे औँशीबाट श्रावण महिना प्रारम्भ, कण्डारक राक्षसको पूजा गरि साँझ लुतो फालिने

काठमाडाैं । सूर्यको राशि परिवर्तन सामान्यतया प्रत्येक महिनामा भइरहने नियमित ऋतु चक्रको नियम नै हो  । पूर्वीय गणना पद्धति अर्थात् ज्योतिषीय पञ्चाङ्गअनुसार श्रावण महिनामा पर्ने कर्टक संक्रान्ति र माघ महिनामा पर्ने मकर संक्रान्तिलाई धार्मिक तथा वैज्ञानिक दुवै हिसाबले महत्त्वपूर्ण दिनका रुपमा ब्याख्या गरिएको छ ।

मक्कर संक्रान्ति बाट उत्तरायण भएका सूर्य देव श्रावण संक्रान्ति अर्थात् आजबाट पुनः दक्षिणायण भएका छन् । आज श्रावण महिनाको पहिलो दिन सोमबारे औँंशी परेकाले पनि विशेष फलदायी अत्यन्तै शुभ संयोग जुरेको छ । विशेषगरी नबोलेर स्नान गर्ने, कुल पितृको नाममा तर्पण गर्नाले सम्पूर्ण दोष बाट मुक्ति मिल्ने शास्त्रीय वचन रहेको छ ।

आज साउने संक्रान्तिको दिन विशेषगरी साँझको समयमा घरको प्राङ्गणमा  दीप, कलश, गणेश स्थापना गरि  पूजागर्ने त्यसपछि  कण्डारक देवताको पूजा गरी लुतो फाल्ने काम गर्नुपर्दछ ।

कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र  हरियो तथा पहेंलो बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्नाले अटल सौभाग्य रहिरहने शास्त्रीय नियम रहिआएको छ। 

लेखक सुरेश चन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् ।
 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १० : ५६ बजे