साफ यू–१७ च्याम्पियनसिप आजदेखि

‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा

काठमाडौँ । शुक्रवारदेखि प्रदर्शन सुरु भएको नेपाली फिल्म ‘बगान’ हेर्न एकल आमा हलसम्म आएका छन् । 

पहिलो दिन अन्य दर्शकको तुलनामा एकल आमा र महिलाको उपस्थिति हलमा धेरै देखियो । उनीहरूले फिल्म हेरेपछि आफ्नै जीवनलाई पर्दामा देखेको प्रतिक्रिया दिए । 

निर्माण समूहका तर्फबाट गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्री द्वय करिश्मा मानन्धर र प्रमिला कार्की उपत्यकाका विभिन्न हलमा पुगेका थिए ।

कतिपय स्थानमा दर्शकलाई फकाउन उनीहरूलाई हम्मे हम्मे पर्‍यो । राइजिङ मलमा रहेको क्युज सिनेमाजमा फिल्म हेरेर निस्किँदै गरेकी एकल आमा विमला पराजुलीले पर्दामा आफ्नो जीवनलाई देखेको बताइन् । उनले भनिन्, ‘यो हाम्रै कथा रहेछ ।  यस्तै भोगाई धेरैको छ । यसले दिएको सन्देश समाजसँगै परिवारका सदस्यले ग्रहण गर्न सके परिवर्तन सम्भव छ ।’

अधिकांश एकल आमाले समाजमा फिल्म देखिएको जस्तो पात्र आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । फिल्म हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि चलचित्रका कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो । 

अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरू एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईँजस्तै हुनुपर्छ भन्दै भक्कानिएका अर्कोतर्फ थिए । उनीहरूले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराइदिएको बताए । 

विधवा आमाको खुसी जीवनको लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरू र छोरीहरूले स्याबासी दिएका थिए । डेब्यू नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन् । पहिलो पटक चलचित्रमा देखेको भए पनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को फिल्ममा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दङ्ग थिइन् । 

दर्शकसँग साक्षात्कार गर्न भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्युएफएक्स सिनेमाज र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा कलाकारहरू पुगेका थिए ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यही फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

निर्देशक खनालले प्रिमियर झैँ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुसी व्यक्त गरे । उनले भने,‘यसको प्रभावले केही जीवनलाई पनि स्वतन्त्र बनायो भने हामी सफल हुन्छौँ । हलसम्म आउनुभएको परिवारका सम्पूर्ण सदस्यले एकल आमाको खुसीको बारेमा सोच्नु हुनेछ । उहाँहरूको धन्यवाद र आशीर्वाद हाम्रो लागि ठुलो सफलता हो ।’ 

स्वप्निल नीरवको कथामा आधारित फिल्म नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । यसका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशङ्कर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायाङ्कन, सन्देश शाहको सम्पादन, समीर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । ब्याक राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । 

‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

 ‘बगान’ देशभरका १०० भन्दा बढी हलमा १५० भन्दा बढी सो सङ्ख्या सहित चलिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘वर्षातका बाबजुद पहिलो दिनको व्यापार राम्रो छ । हलसम्म आउनु भएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसको व्यापार बढ्नेमा दुई मत छैन । सपरिवार हेर्न आउने क्रम बढेको छ ।’

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ४९ बजे