साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित

​​​​​​​काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि नगर सभामा पेस गरेको बजेट सर्वसम्मतले पारित भएको छ ।  

कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगर सभामा प्रस्तुत गर्नुभएको थियो । शुक्रवार बसेको नगर सभाको पाँचौँ बैठकमा कामपा प्रमुख बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेस गर्नुहुँदा पारित भएको हो । 

महानगरको १३औँ नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । महानगरपालिकाले ल्याएको रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।

यही असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल शुक्रवार सकाएर नगर सभाबाट पारित भएको हो । 

चालु आवको भन्दा आगामी आवका लागि कामपाले रु करिब १४ करोडले बढी बजेट ल्याएको छ । 

आगामी आवमा बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ विनियोजन गरिएको छ । पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्श ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।   

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहर मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले बजेटमा स्थान पाएका छन् । आगामी आर्थिक वर्षका लागि कामपालाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ । महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड विनियोजन गरिएको छ । 

महानगर स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड विनियोजन गरिएको छ ।  

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ०० बजे