बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने

लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । 

यस सडक खण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि आज बिहान १० बजेदेखि भोलि साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । 

बेँसीसहर चामे सडक खण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ पावर हाउस खोलाको काठे पुल  र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल गरी दुई ठाउँमा काठेपुल निर्माण गर्न लागेको र सो स्थानमा वैकल्पिक सडक नभएकाले सडक बन्द गरिएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो,  “उक्त दुई स्थानमै दुई वर्षअघि काठे पुल निर्माण गरेका थियौँ, अहिले पुलमा राखिएको काठ जीर्ण हुँदै गएको र लोड भएका सवारी साधनसमेत गुड्ने भएकाले कुनै क्षति नहोस् भनेर पुराना काठ हटाएर नयाँ राखेर निर्माण गर्न लागेका छौँ । समयमै जीर्ण पुल मर्मत गर्न सकेमा कुनै मानवीय तथा भौतिक क्षति नहुने भएकाले तत्काल नयाँ पुल निर्माण गर्न लागेको उहाँको भनाइ छ । 

उहाँका अनुसार तिमाङ खोलाको काठे पुल यसअघि सात मिटर रहेकोमा लम्बाइ नौ मिटर र चौडाइ साढे चार मिटर मिटरको बन्ने भएको छ । त्यस्तै, स्यार्कु खोलामा सात मिटर लम्बाइ र चार मिटर चौडाइको काठे पुल निर्माण हुने बताइएको छ । 

पुल निर्माणको लागि मङ्गलवारबाटै रुख काट्ने, पुलको लागि फलेक बनाउने लगायतका काम हुँदै आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर अधिकारीले बताउनुभयो । 

सो स्थानमा सवारी साधनलाई धेरै जोखिम हुँदै आएपछि मर्मतका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई दुई दिनको लागि सडक बन्द गर्न सूचना प्रकाशित गर्न अनुरोध गरेर प्रशासनले समेत बुधवार सूचना जारी गर्दै सडक बन्द हुने ब्यहोरा जानकारी दिएको उहाँको भनाई छ । 

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ बाट सडक अघि बढाउने पुनः जिम्मेवारी प्राप्त गर्‍यो । 

तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियापछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदर लड्ला जस्तो जोखिमपूर्ण भीरमा ज्यानको बाजी राख्दै विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । 

तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक सम्पन्न गर्दै हस्तान्तरण गरेयता सडक भने जीर्ण बन्दै गएको छ । यस सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । यस सडक जीर्ण वा बन्द हुँदा प्रत्यक्ष वा बढी मनाङवासीलाई मर्का पर्दै आएको छ । रासस

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ६ : ५० बजे