भारतको पानीले पाकिस्तान जलमग्न, ८६ जनाको मृत्यु

पाकिस्तान । भीषण वर्षा र भारतले छोडेको पानीका कारण पाकिस्तानमा ८६ जनाको मृत्यु भएको छ। यस्तै १५१ जना घाइते भएका छन्। वर्षाकै कारण पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन्।

पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले सम्बन्धित मन्त्रालय तथा निकायलाई सर्वसाधारणको सुरक्षाका लागि निर्देशन दिनुभएको छ। पाकिस्तानी सञ्चारमाध्यम ‘डन’का अनुसार भारततर्फबाट आइरहेको पानीको बहावले पाकिस्तानको सतुलज नदीको सतह १६ फिट बढेको छ।

डिजास्टर म्यानेजमेन्ट अथोरिटी (एनडिएमए) ले पाकिस्तानमा बाढी आउने सम्भावना ७५ प्रतिशत रहेको जनाएको छ। मौसम पूर्वानुमानका लागि १७ स्याटेलाइट र ३६ वार्निङ सिस्टममाथि विशेष निगरानी राखिएको बताइएको छ।

एनडिएमएका अध्यक्षका अनुसार गत वर्षझैं यो वर्ष पनि बाढी आयो भने देशको अर्थतन्त्र थप खराब हुने बताउनुभयो। पन्जाब र खैबर पख्तुनख्वा सर्वाधिक प्रभावित इलाका हुन्। वर्षाका कारण पन्जाबमा ५२ र पख्तुनख्वामा २० जनाको मृत्यु भइसकेको छ।

‘डन’ को रिपोर्टअनुसार भारतले सोमबारदेखि पन्जाबको फिरोजपुरबाट ६५ हजार क्युसेक पानी छोडेको छ। यो पानी पाकिस्तानको कसुर जिल्लामा १९ घण्टाभित्र पुग्छ। यसले थप विनाश निम्त्याउने बताइएको छ।

पाकिस्तानमा जनताको उद्धारमा मोटरबोट तैनाथ छ भने कैयौँ इलाकामा उद्धार क्याम्प पनि लगाइएको छ। साथै नदी किनार आसपासका बासिन्दालाई २४ घण्टाभित्र निकाल्ने तयारी रहेको छ।

गत वर्ष भारतले पाकिस्तानतर्फ एक लाख ७२ हजार क्युसेक पानी छोडेको थियो। यो वर्ष अहिलेसम्म एक लाख ८२ हजार क्युसेक पानी छोडिसकेको छ।

गत वर्ष (सन् २०२२) पाकिस्तानमा आएको बाढीले आर्थिक संकटमा फसेको पाकिस्तानलाई थप कमजोर बनाएको थियो। यस्तै ३० अर्ब डलरबराबरको क्षति भएको थियो।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ३ : ४१ बजे