मन्थली विमानस्थलमा पानी पस्यो

पार्किङ सुविधाको माग गर्दै कानून व्यवसायीहरू आन्दोलित

काठमाडौं ।  काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका छन् ।  

बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानुन व्यवसायी र सेवाग्राहीहरूलाई पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका हुन् ।

कानुन व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापन पत्र समेत बुझाएको छ । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेका बताउनु भयो । उहाँले पार्किङ स्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताउनु भयो । अदालतले नक्सा पास बिनाको भवन बनाएर गैर कानुनी काम गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

अर्का एक अधिवक्ताले अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको बताउनु भयो । उहाँले पार्किङ स्थललाई क्यान्टिनका लागि भाडा लगाएर असुली गरिरहेको बताउनु भयो। अधिवक्ताहरूको समस्यालाई नेपाल बार एसोसिएसनले समेत चासो नदेखाएको भन्दै उहाँले बार र बेन्चको सेटिङ भएको बताउनु भयो ।

काठमाडौं जिल्ला अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेलले सोमवारदेखि नै जिल्ला अदालतको गेट नम्बर ४ मा कानुन व्यवसायीहरूका लागि पार्किङ सुविधा गरिएको बताउनु भयो । उहाँले अन्डरग्राउन्ड पार्किङ पनि छिट्टै खुल्ने बताउनु भयो । समस्या समाधानका लागि अदालत र बार एशोसिएशन बीच संवाद भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

आन्दोलित कानुन व्यवसायीहरूले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : २० बजे