दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

भक्तपुरमा २१८ जनाले गरे आत्महत्या !

भक्तपुर । भक्तपुरमा तीन वर्षमा २ सय १८ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष १ सय ४४ जना, महिला ६४ जना र १० जना बालबालिका समेत रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा मात्रै ७१ जनाले आत्महत्या गरेका छन् । जसमा विष खाएर १२ जना, भुण्डिएर ५९ जनाले आत्महत्या गरेका हुन् ।

यो वर्ष ५१ जना पुरुष, २३ जना महिला र २ जना बालबालिकाले आत्महत्या गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भक्तपुर जिल्लामा ८३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए । विष खाएर १८ जना, भुण्डिएर ६२ जना, हाम फालेर २ जना र हातहतियारबाट १ जनाले आत्महत्या गरेका हुन् ।

उक्त आर्थिक वर्षमा ५५ जना पुरुष, २२ जना महिला र ४ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ६४ जनाले आत्महत्या गरेका थिए । जसमा विष खाएर २२ जना, ४२ जनाले झुण्डिएर आत्महत्या गरेको देखिन्छ ।

आत्महत्या रोकथाम कसरी गर्ने ?

मनोविद्हरुका अनुसार आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो ।

क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउँदा वा अत्याधिक जाँड, रक्सी, लागु पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ । व्यक्तिले आत्महत्या आफ्नो ब्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

धेरै जस्तोमा आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ ।

खतराको सूचक, जोखिम र सुरक्षाका तत्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।

आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १ : ०४ बजे