सुडानमा हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

ओमदुरमान । सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ । 

समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। एपीका अनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो।

प्रत्यक्षदर्शीसँग कुरा गर्दै बिबिसीले ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेको बताए । उही समयमा र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले ज्यान गुमाउनेको सङ्ख्या ३१ रहेको बताएको छ।

समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल ( र्‍यापिड सपोर्ट फोर्स)बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन्।  

सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ। १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् । पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । 

बिबिसीको एक रिपोर्ट अनुसार देशमा द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नुपरेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : ३२ बजे