सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कालीकोटमा एउटै गाउँमा अज्ञात रोगका कारण तीन सय जना बिरामी

मान्म। कालीकोटको तिलागुफा नगरपालिका-१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन्। अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ। “गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो । नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको मतले बताउनुभयो।

अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिनुभयो। “शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “उपचार गर्न आउने दुई सय छ जना १५ वर्षमुनिका छन् ।” सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा आचार्यले बताउनुभयो।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १ : ५१ बजे